भोलिपल्ट मध्याह्न नाइटक्लब साहूले सामनालाई फोन गर्यो ।
‘म्याडमसँग केही कुरा गर्न सक्छु ?’ सोध्यो साहूले ।
‘मजाले सक्नुहुन्छ । नहिचकिचाई भन्नुस् ।’
‘म नाइटक्लबका लागि सद्भावना दूतको खोजीमा थिएँ । जब म्याडमसँग भेट भयो, तपाईंको शालीन व्यवहार, मधुर बोली, आकर्षक रूप देखेपछि मनले भन्यो, तपाईं त्यो महिला हुनुहुन्छ जसको खोजीमा म छु । तपाईं मेरो नाइटक्लबको सद्भावना दूत बन्न तयार हुनुहुन्छ ?’ सोध्यो साहूले ।
‘मलाई त्यस योग्य सम्झिनुभएकोमा धन्यवाद छ । सुहाउँदो ड्युटी पाए गर्छु नि, किन नगर्नू ? काम के हुन्छ ?’
‘आउने पाहुनाको स्वागत, जानेलाई बिदाइ । यस्तै यस्तै ।’
‘पारिश्रमिक कति दिनुहुन्छ ?’
‘महिनाको पन्ध्र हजार ।’ अनकनाउँदै भन्यो साहूले ।
‘त्यो त अति भो नि सर ! सुहाउँदो कुरा गर्नुस् न ।’ सामना रिसाएजसरी बोली ।
‘उसो भए बीस हजार ।’
‘भैगो सर ! यो विषयमा कुरै नगराँै ।’
‘तपाईंको डिमान्ड कति हो, सुनौँ न त ?’
‘महिनाको पचास हजार ।’
‘पचास नभन्नुस्, तीस हजार भो । खाना नास्ता फ्री ।’
‘इच्छाविपरीतको काममा दबाब दिन पाउनुहुनेछैन नि फेरि ।’ उसले शर्त तेर्स्याई ।
‘त्यो त ठीकै छ । तर यदाकदा ग्राहकको फर्माइसलाई हेक्का राखिदिनुपर्ला ! लगानी गरेपछि लगानीकर्ताको पनि स्वार्थ हुन्छ ।’
‘मैले आफ्नो कुरा राखेँ । बाँकी सरको मर्जी !’
‘तपाईंले भनेबमोजिम नै गरौँला । साँझदेखि ड्युटीमा आउनुहोला ।’ उसले भन्यो ।
‘थ्याङ्क यु सर ! म साँझ अवश्य आउँछु ।’ उसले भनी ।
सामना काममा जाने भई । ऊ निश्चित उद्देश्यका साथ त्यहाँ जान लागेकी थिई । पारिश्रमिकसम्बन्धी सौदाबाजी बहाना मात्र थियो ।
सामना साँझ नाइटक्लब पुगी । क्यामेरा मेन फोटो खिच्न तम्तयार भई उभिएको थियो । उसले सामनाको पोजपोजको तस्वीर लिन सुरु गर्यो । नाइटक्लब साहूले त्यही मेसोमा पुष्पगुच्छा अघि बढायो, अनि भन्यो, ‘सुस्वागतम् !’
सामना दङ्ग परी ।
‘लाज लाग्यो । पर्दैन सर !’ गुच्छा लिन हिचकिचाए झैँ उसले भनी ।
‘तपाईंको रूपलावन्य वा व्यक्तित्व भीआईपीको भन्दा कम छैन !’
‘राम्रो ठट्टा गर्नुभयो !’ गुच्छा समाउँदै सामनाले भनी ।
‘तपाईंबाट निकै आशा लिएको छु !’
‘धेरै आशा नलिँदा बेश होला । पूरा नभए डिप्रेसन हुन सक्छ ।’
‘वाचाल लाग्नुहुन्छ ।’ फिस्स हाँस्दै साहू बोल्यो ।
उसले अघि बढ्ने इसारा गर्यो । अनि भन्यो, ‘अफिसमा जाऊँ । ड्युटीको बारेमा छोटकरीमा भन्छु ।’
साहू अघिअघि, सामना पछिपछि । साहूले सामनालाई कार्यकक्षमा लिएर गयो । त्यसपछि ओरियन्टेसन दिन सुरू गर्यो ।
‘मेरोमा केही खास पाहुनाहरू पनि आउँछन् ।’
‘जस्तो...?’
‘जस्तो कि, सांसद–मन्त्रीहरु, तिनका पीए, आसेपासे, नेता, उद्योगपति, व्यापारी, यस्तैयस्तै । ग्राहक हाम्रा भगवान् हुन् । स्वागत–सत्कार गर्दा चनाखो रहनुहोला । कुनै बेला तिनको व्यवहार, बोलीचाली पचाउन गाह्रोपर्ने हुन सक्छ । त्यस्तो समयमा भारतीय अहिंसावादी योद्धा गान्धीको सूत्र पछ्याउनुहोला । अर्थात् एउटा गालामा चड्कन हान्दा चुपचाप अर्को गाला थाप्ने । सामान्यतया तपाईं रातको दश–एघार बजे घर जान सक्नुहुन्छ । अपवादमा कुनै रात ढिलो पनि होला ।’
‘बुझेँ सर ! म नभाँच्चिने हदसम्म नुग्छु । पाहुनालाई प्रसन्न बनाउँछु ।’
‘मेरो अपेक्षा पनि त्यही हो । अर्को कुरा पनि सोधौँ । तपाईं गजल–सायरी भन्ने, नाच्ने कत्तिको गर्नुहुन्छ ?’
‘नाच्न उति जान्दिनँ । गजल–सायरी ठीकै आउँछ । घर बस्दा गजल–सायरी गाएर मन बहलाउँछु ।’
साहू मुसुक्क हाँस्यो ।
‘मैले चाहेको पनि त्यही थियो । हालसम्म हाम्रो नाइटक्लबमा गजल–सायरी सुनाउने गरिएको छैन । तर तपाईंको आगमनलाई ध्यानमा राखी म उक्त आइटम थप्ने निर्णयमा पुगेको छु । यहाँ आउने ग्राहकहरु नशा चढ्दै गएपछि गीत–गजल सुन्न–सुनाउन चाहँदा रहेछन् । त्यसैले हामी अबदेखि हप्तामा तीन रात ग्राहकहरुलाई गीत–गजलमार्फत मनोरञ्जन दिनेछौँ । गीत–गजलको आइटमले व्यापार बढाउन मद्दत गर्नेछ भन्ने मेरो अनुमान छ । हामी यो कार्यक्रम आजैदेखि सुरु गर्नेछौँ ।’ साहूले भन्यो ।
सामना मक्ख परी । ‘ओके सर !’ ऊ बोली ।
भित्तामा झुण्ड्याएको घडीले नौ बजेको जनाउ दिँदै थियो । क्लबको भित्री हल र गार्डेनमा ग्राहक खचाखच थिए । साहूले माइक उठाएर सामनाको परिचय दियो । त्यसपछि गीत–गजल कार्यक्रमको शुभारम्भ गरिदिन अनुरोध गर्यो ।
साहू बोल्न भ्याएको थिएन, एकजना ग्राहक हाते माइक माग्न आइपुग्यो । उसका नजर सामनातिर सोझिएका थिए ।
‘फूल हौ, सुगन्ध हौ, या स्वर्गकी परी हौ ?
परीमा पनि सर्वोपरि ! भन कुन देशकी चरी हौ ?’
उसले सुनायो । दर्शक–श्रोताले ताली–सिटी बजाए ।
त्यतिकैमा अर्को ग्राहक उठ्यो । उसको आँखा पनि सामनातिरै मोडिएका थिए ।
‘स्यालुट हान्छु तिमीलाई, धन्य तिम्रो रुप यौवन !
जोगी बनी माग्न आएँ, भिक्षा देऊ तिम्रो जोवन !’
दोस्रोले सुनायो । यो पाली पनि जोडदार ताली बज्यो । अब भने सामना जवाफ फर्काउन तम्सिई ।
‘तिमी कृष्ण हुन्छौ भने बनूँला नि म राधा !
तिम्री हुने कसम खाएँ, मुटुभित्र राखे सदा !’
उसले सुनाई ।
सामनाले अझै घनीभूत ताली र सिटी पाई ।
‘खतरा आयो । राख्ने हो त मुटुभित्र ? जवाफ चाहियो ।’ दर्शकदीर्घाबाट कोही चिच्याउँदै थियो ।
‘तिमी राजी म राजी, लिई आउँछु ब्यान्डबाजा ।
शिरमाथि मुकुट लाउली, तिमी रानी म राजा ।’
तुरुन्तै जवाफ आयो ।
कार्यक्रम लामै चल्यो । सामनाले गजल–सायरीवाचकहरुलाई धन्यवाद दिई ।
सामना डेरा फर्किने समयमा एक जना सायरीवाचक क्लबबाहिरसम्म पुग्यो ।
‘बाई द वे, हजुरको नाम ?’ सामनाले सँगै आएको व्यक्तिलाई सोधी ।
‘मेरो नाम चमनलाल हो म्याडम !’ उसले भन्यो ।
‘म सामना ।’
चमनलालले ह्यान्डसेकका लागि हात बढायो । सामनाले दुई हात जोडेर अभिवादन गरी । सामना ट्याक्सीमा चढ्नुअघि चमनलालले खाम ऊतिर बढायो ।
‘अस्वीकार नगर्नुहोला म्याडम !’ खाम दिँदै भन्यो ।
‘प्रेमपत्र त हैन नि ?’ सामनाले हाँस्दै सोधी ।
‘पहिले प्रेम, अनि पत्र ! घर पुगेपछि हेर्नुहोला ।’
‘खुल्दुली लाग्यो । भन्नुस् न के छ ? टिप्स हो ?’
‘टिप्स हैन गिफ्ट ! कृपया नाइँ नभन्नुहोला । माँ कसम । तपाईं साह्रै दामी हुनुहुँदो रैछ ।’
‘म गिफ्ट, टिप्स केही लिन्नँ, राख्नुस् !’
‘फूलको बदला पत्थर भनेजस्तो नगर्नुस् ! निर्मोही नबन्नुस्, प्लिज !’ अनुरोध गर्यो चमनलालले ।
‘चाखलाग्दो मानिस हुनुहुँदो रहेछ । आई लाइक यु !’ खाम समाउँदै सामनाले भनी ।
‘राम्रो ठट्टा गर्नुभो ।’
‘बाई !’
‘बाई बाई !’ दुवै बिदा भए ।
सामनालाई खाम कुन बेला हरूरुँ जस्तो भैरहेको थियो । ट्याक्सी गुड्दागुड्दै उसले खाम खोलेर हेरी । उसले देखी, त्यहाँ पाँच कागजी हात्ती थिए ।
(असोज १६ गते सार्वजनिक साहित्यकार प्रकाश तिवारीको चौथो उपन्यास ‘९६ गड्डी’को अंश)