site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
लाँकुरी भञ्ज्याङदेखि डोलेश्वर   

 रोपिएका बिरुवा उम्रने शक्ति र सामर्थ्य फरकफरक हुन् । माटो गुणा फलमा भर पर्छ । बीउ उम्रिन बीउको उमार शक्तिलाई जतन गर्नैपर्छ । भकभकी उमालेर उसिनेको अमला र लप्सी माटोमा रोप्दैमा कसरी उम्रियोस् ?

मैले मनमा रोपेको कुरा ऐन मौकामा उम्रिएका छन् । स्याहारसम्भार पाएर हुर्की बढेर शीतलता दिएको आभास हुन्छ ।

आत्मसन्तुष्टिको आभास । हो, वर्षमा धेरै नसके पनि दुईचार ठाउँको यात्रामा हेरेका कुरा कोर्न यी कलम लालायित छन् । एक्लो यात्री बन्नु कति कठिन र कति जोखिम हुन्छ । हाम्रो देशको परिवेशमा सतर्क त बन्नैपर्छ ।

Dabur Nepal

वनमा जनावरको डर त छँदै छ, मनमा मान्छेले मान्छेप्रति गर्ने जघन्य अपराधका घटनाले जिउ सिरिङ्ङ हुन्छ — नखाएको विष पनि लाग्न के बेर ! ध्यानमा एक, पढाइमा दुई, यात्रामा चारभन्दा बेसीलाई मैले सूत्र बनाएको छु ।

लामो समयदेखि यात्रारत ‘स्रष्टा पदयात्रा’का सर्जकहरूसँग हिँड्ने धोको २०७५ कार्तिक ९ गते पूरा हुन लेखेको रहेछ । हो, त्यही दिन मेरो साइत जुर्‍यो । साइत जुराउन साइत आउनुपर्ने ।

मदन पुरस्कार समारोहमा पहिलोपटक आदरणीय दाजु रोचक घिमिरेको अनुरोधमा प्रवेश पाइयो । हो, त्यही बेला मैले संस्कृतिमा कलम चलाउने शीतल गिरी र कवि डिल्लीराज अर्यालसँग प्रस्ताव राखेँ डराइडराइ– हैन दाजु, तपाईंहरू महिनैपिच्छे नयाँनयाँ ठाउँको रोमाञ्चक पैदलयात्रा गर्नुहुन्छ, के म पनि सम्मिलित हुनसक्छु ?

जवाफ सकारात्मक आयो । मैले उहाँको नम्बर मागेँ, उहाँले मेसेन्जरमा आफ्नो नम्बर लेख्न भन्नुभो ।

यात्रा गर्ने दुईचार दिनअघि खबर आयो– यसपटकको स्रष्टा पदयात्रा लाँकुरी भञ्ज्याङदेखि डोलेश्वरसम्मको हुनेछ, ग्वार्कोचोकमा बिहान ७.३० बजे उपस्थित हुने । ग्वार्कोदेखि ढुंग्यानसम्म बसयात्रा, त्यसपछि पैदलयात्रा ।

मनमा खुल्दुली त्यो बेलासम्म रह्यो, जब यस यात्राको लागि लाकुरी भञ्ज्याङ कहाँबाट जाने होला भन्ने थियो । मलाई लामाटारबाट माथि मात्र थाहा थियो । त्यहाँ गइसकेको हुँदा यात्रा त्यहीँसम्मको मात्र हुँदो हो त गइसकेको ठाउँ जान त्यति मन पर्ने थिएन ।

लाकुरी भञ्ज्याङमा नअल्मलिएर डोलेश्रसम्मको यात्रा सुन्नासाथ मैले सहमति जनाएको थिएँ ।

डोलेश्वर नगएको मेरो मनलाई चुम्बकले फलाम तानेझैँ तान्यो । मनमा दुई दिनको यात्रा ठानेर फेर्ने कपडासहितको झोला बोकियो । समयको व्यवस्थापन मनको व्यवस्थापनमा भरपर्दो रहेछ । मनले आँटेपछि अन्य कुराहरू गौण बने । यात्रामा सहभागी बन्न के गर्ने भन्ने अन्योलमा जहाँ जे पाइन्छ त्यही खाने मेरो सोच फेल खायो ।

सामूहिक तयारीमा हुने त्यो स्रष्टा पदयात्रा त २०७३ मंसिर ३ गते यही लाँकुरी भञ्ज्याङबाट थालनी गरेर चल्दै आएको यो चौबिसौँ यात्रा रहेछ । यात्रामा सहभागी मित्रहरू डिल्लीराज अर्याल, शीतल गिरी, नारायण भण्डारी ‘जनकपुरी’, लीलाराज दाहाल र डा. धनप्रसाद सुवेदी ड्रेस र ट्र्याकसुटमा तम्तयार भएर आउनुभयो ।

आफू भने कागको बथानमा बकुल्लो भइयो । अठारउन्नाइसजनाको टिम रहेछ त्यो पदयात्रा सहभागी हुने स्रष्टाहरू । तर, म सहभागी यात्रामा छजनाको मात्र यात्रा रह्यो ।

चारपाँच वर्षअगाडि मोटरसाइकलमा लाँकुरी भञ्ज्याङडाँडा चढेको म मनुवालाई पैदलयात्राले रोमाञ्चक नबनाउने कुरै भएन । गफ जोसँग जे विषयमा ज्ञाता हुन्छन् त्यती आउनु स्वाभाविक हो ।

प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ नियुक्तिमा सबैका विचारहरू पोखिए । सबैको निष्कर्ष रह्यो– मलाई नियुक्ति गर भन्दै जाने केको प्राज्ञ ? ती त व्यवस्थापकहरू हुन् । पार्टीका प्राज्ञ के प्राज्ञ ? स्वघोषित प्राज्ञहरूको भीड र प्राज्ञ भइस् भनेर टीका लगाइदिएको भरमा हुने प्राज्ञ !

बरु, पञ्चायतकालमा लाजगालले भए पनि या पञ्चायत निष्पक्ष छ भनेर देखाउनकै लागि भए पनि ठिक छनोट हुँदो रहेछ । यो गणतन्त्रको असफलतातर्फको प्रस्थानविन्दु अरू हेर्नु पर्दैन, यसैलाई हेरे पुग्छ ।

प्राज्ञिक व्यक्तित्व चोटा कोठा र महल धाउँदैन । आशीर्वादको टीका लगाएर प्राज्ञ बन्नु हुँदैन । प्रज्ञा त्यस्तो ठाउँ हो, जहाँ देवकोटासहितको टिम बन्दा महाकविले ‘आफ्ना गुरु लेखनाथ नरहेको ठाउँमा म कसरी बस्नु ?’ भन्नुभएको थियो रे !

यस्तो समसामयिक र प्राज्ञिक कुराकानीमा भुल्दा ढुंग्यानबाट लाकुरी भञ्ज्याङ पुगेको पत्तै भएन । स्याउ टोक्दै प्राज्ञको नियुक्ति प्रक्रियाबारेको छलफल बडो रमाइलो भयो ।

लाकुरी भञ्ज्याङबाट काठमाडौं, भक्तपुर र ललितपुर नियाल्दा लाग्यो, ती अग्लाअग्ला कंक्रिटका जंगल, बीचबीचमा धान झुलिरहेका खेत, कतै हल्का जंगल र वातावरणीय हिसाबले तुवाँलोले ढाकेको अस्वस्थ सहरमा कसरी बसिरहेका हौँला ! हामी प्रदूषित सास फेरिरहेका रहेछौँ भन्ने प्रस्ट देखिन्थ्यो त्यहाँबाट ।

कहाँ घर बनाउने, कहाँ खेती गर्ने, कहाँ बजार राख्ने ? यस्ता योजनाविहीन काम हुनुमा व्यक्तिपिच्छेका नाममा जग्गा हुनु नै जिम्मेवार रहेको भन्न सकिन्छ । सरकारको कुनै योजनाविनाको बस्ती यस्तो नभएर अरू कस्तो हुनसक्छ त !

‘जसो जसो बाहुन बाजे उसै उसै स्वाहा’ भनेझैँ उपत्यकाका तीन जिल्लाको हालत देखेर रुनै मन लागेर आयो ।

एघार बजिसकेकोले होला, पेटमा मुसा दगुर्न सुरु गरिसकेको थियो । बस्नलायकको ठाउँ खोज्दै घ्याम्पेडाँडामा पुग्यौँ । त्यहीँ हरियो घाँसको प्राकृतिक कार्पेटमा पलेटी कसेर बस्दै मज्जाले दहीचिउरा, परौठा र आलुचनाको तरकारी खाइयो ।

विवाहमा जन्तीलाई छोरीपट्टिकाले दिने जन्तीबाख्राको झझल्को आयो । भोकको झोकमा खाएको दहीचिउराले भातलाई बिर्सायो । ललितपुर, काभ्रे र भक्तपुरको दोभानबाट डोलेश्वर महादेव भक्तपुरतर्फ प्रस्थान गर्दा टाढैबाट हामीलाई लोभ्याउँदै आफूतर्फ आकर्षित गर्दै गरेको पाइलट बाबाको सेतो आश्रम देखियो ।

जाने त मन थियो, एकातिर जाँदा अर्कोतिर छुट्ने ठानेर हो या यस यात्रामा सो आश्रम अवलोकन नराखिएकोले, तोकिएको गन्तव्यतर्फ लागियो । सजिलोका लागि त नभनौँ, छोटो बाटो भनेर हिँडदै गरेको मोटर गुड्न मिल्ने बाटो छाडेर दाहिनेतर्फको ठाडो ओरालो गोरेटो नै रोजियो ।

थाहा छैन, तारानाथ शर्माले भनेको घनघस्याको उकालो नभई घ्याम्पेडाँडाको ओरालो ओर्लंदाको अर्कै आनन्दले बेस्सरी लपेट्यो ।

ओरालो सकिएपछि तेर्सोतेर्सो गाडी हिँड्नलायक नभएको दशएघारफुटे बाटोको एउटा मोडमा सामान्य बस्न मिल्ने खालको स्थान भेटिएकोले सिर्जना फुराउने कुरा भयो । नारायण ‘जनकपुरी’ले प्रज्ञाकै बारेको कविताबाट सुरु गर्नुभयो ।

डिल्लीराज अर्याल, लीलाराज दाहालजीले पनि आफ्ना रचना सुनाउनुभयो । मेरो पालो कविता शीर्षककै कविता सुनाएँ । डा. धनप्रसाद सुवेदीले राई जातिको अलिखित आख्यान सुनाउनुभयो भने शीतल गिरीले सबै स्रष्टाहरूको नामसहितको माइन्युटमा सही गराएर आफ्नो दर्शनशास्त्रसम्बन्धी कविता सुनाउनुभयो ।

सिर्जनावाचन कार्यक्रमपछि विस्तारै सामान्य ओरालो ओर्लिन थाल्यौँ । करिब आधा घण्टाको हिँडाइपछि हामी केदारनाथको शिर भन्ने गरिएको डोलेश्वर महादेवको मन्दिर प्रवेश गर्‍यौँ ।

पूर्ण रूपमा बनिनसकेको मन्दिर । मन्दिरको दायाँबायाँ ठूलठूला त्रिशूल, डमरु र मन्दिरको मेनगेटअगाडिको ठूलो साँढेलाई साक्षी राखेर फोटो सेसन गर्दै मन्दिर परिसरबाट बाहिरियौँ ।

एउटा कुरा भन्नैपर्छ, उपत्यकाका मन्दिरहरूमा डोलेश्वर महादेव स्थानले आफ्नो भव्यताका कारण केही समयभित्रमा अवश्य नाम कमाउने नै छ । विशेष योजनाको साथमा मन्दिर भव्य बनाइँदै गरेको भान भयो ।

सडकमा गाडी पर्खेर बसेका महिलाहरू भन्दै थिए, ‘एकैछिनमा गाडी आउँछ, किन हिँड्नुहुन्छ ?’ तर, हामी पदयात्रा गर्न निस्किएका थियौँ, मुस्कुराउँदै हिँड्नुको कारण बताएर हामी अगाडि बढेका थियौँ ।

विस्तारविस्तारै सिपाडोल हँुदै भक्तपुर ट्रलीबस स्टपसम्मको यात्रा सकिँदा घडीमा अपराह्नको चार बजिसकेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  ०९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro