काठमाडौं । बडादसैँको मुख्य दिन अर्थात् विजयादशमी शनिबार (भोलि) मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । शनिबार बिहान ११ बजेर ३६ मिनेटमा टीकाको शुभसाइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
तर, सामान्यतया देवीको प्रसाद लगाउन साइतको आवश्यकता नपर्ने समितिले स्पष्ट पारेको छ । टीका लगाइमाग्ने पूर्व फर्कने समितिको सूचनामा उल्लेख छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ ।
दसैँमा टीका, जमरा र दक्षिणाको महत्व र परम्परा के हो त ? अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सभापति प्रा.डा. माधव भट्टराईलाई यसबारेमा हामीले जिज्ञासा राख्यौँ । प्रा.डा. भट्टराईले बाह्रखरीलाई जे बताए त्यो उनकै शब्दमा तल पढ्नोस्–
टीकाको महत्त्व
मुख्यतः टीकाको कुरा हो । टीका भगवतीको, दुर्गाको प्रसाद, जो हामीले नौ दिनसम्म नवरात्रमा पूजा गरेका हुन्छौँ । विधिविधानहरू पूरा गरिसकेपछि जमरा राखेको हुन्छ । त्यो जमरा र टीका, प्रसादहरू मान्यजनबाट हामीले आर्शीवादस्वरूप ग्रहण गर्दछौँ । मुख्य कुरा यो हो । आर्शीवादमा पनि शक्ति लुकेको हुन्छ । आर्शीवादले हामीलाई जीवनमा प्रेरणा दिन्छ । नयाँ ऊर्जा दिन्छ । त्यो प्रत्यक्ष, तत्काल, तुरुन्त देखिने कुरा होइन । त्यसले एउटा प्रभाव मानिसको जीवनमा पार्दछ । प्रेम, सद्भाव, आत्मीयता बढाउँदछ । मुख्यचाहिँ भगवतीदुर्गाको प्रसाद लिने कुरा हो । यसको ठूलो महिमा छ प्राचीनकालदेखिको ।
हामीले दैनिक देउताको पूजा गर्यौँ भने पनि टीका, प्रसाद लगाउँछौँ । नौ दिनसम्म गरेको र दुर्गापूजाको विशेष महत्त्व नेपाली समाजमा रहेको हुनाले यसलाई विशेष महत्त्व दिएका छौँ ।
जमरा नै किन ?
जमरा भनेको, जमरामा शक्ति छ । देवीलाई मन पर्ने जौ, हामीले भगवान्लाई तिल, जौ चढाइन्छ । त्यसमा देवीको लागि जौ असाध्यै प्रिय । जौलाई छरेर, घटस्थापना गर्दा जुन राखिन्छ र उमारिन्छ – त्यो उमारेको जौलाई भनिन्छ, जमरा । अंकुरित भएको जौ । त्यसको धार्मिक महत्त्व पनि त्यत्तिकै छ, स्वास्थ्यको महत्त्व त्यत्तिकै छ । आयुर्वेदमा जौको ठूलो महत्त्व छ । धार्मिक क्षेत्रमा – सबै देउताहरूलाई हामीले जौ, तिल नचढाई हुँदैन । त्यसकारण पूजा गरेर, महत्त्व दिएर, विधिपूर्वक अनेक मन्त्रहरू पढेर जमरा राखिन्छ । त्यो ठाउँमा पाठ गरिन्छ । स्तोत्रहरू पढिन्छ । त्यसरी त्यो अभिमन्त्रित भएको, एउटा ऊर्जाशक्ति प्राप्त भएको जमरालाई मान्यजनबाट आर्शीवादसहित हामी शिरमा लगाउँछौँ । यसले हामीलाई शक्ति प्रदान गर्छ भन्ने विश्वास पनि छ । त्यो हाम्रो परम्परा पनि छ, नेपालीहरूको परम्परा छ खासगरी ।
दक्षिणाको चलन कस्तो हो ?
दक्षिणाचाहिँ हामीले मान्यजनलाई, खास गरेर गुरुजनहरूलाई र छोरीचेलीहरूलाई दिने हाम्रो परम्परा हो । एउटा श्रद्धास्वरूप दक्षिण प्रदान गरिन्छ । त्यो दिनु पनि पर्छ । शास्त्रले पनि दक्षिणा दिनू भनेर भनेको छ । तर, कुनै रेट – यति दिनू, यसरी दिनू भन्ने कुरा छैन । यथाशक्ति, यथाभक्ति भनेको छ । यो प्राचीनकालदेखि नै चलिआएको चलन हो । छोरीचेली जन्मघर छोडेर कर्मघर जानुपरेको हुन्छ, एउटा सौगात, एउटा उपहारस्वरूप दिने भन्ने हो । श्रद्धास्वरूप प्रदान गर्ने केही द्रव्य हो । त्यो दश दिनुस्, सय दिनुस्, हजार दिनुस् – त्यसमा कसैले बन्देज लगाउन पनि मिल्दैन । कसैलाई कर लगाउन पनि मिल्दैन । तर, केही न केही दिनेचाहिँ हाम्रो पुरानो परम्परा हो ।
यहाँनेर समस्या कहाँ आइरहेको छ अहिले भने, टीका लगाउन जाँदाखेरि केही न केही उपहार अथवा सगुनको रूपमा लैजाने चलनचाहिँ थियो । अहिले कस्तो भयो भने, टीका लगाउन गएको ठाउँमा पनि पैसा दिनुपर्ने । त्यो चलन चलाइयो । म सानो हुँदासम्म मलाई नै थाहा थिएन । हामी कसैकामा गयौँ, दाजुकामा गयौँ अथवा बाबुबाजेकामा गयौँ भने, ससुराली गयौँ भने छोरीलाई, ज्वाइँलाई उल्टै दिन्छन्, त्यो अर्कै कुरा हो – नत्र भने अरू ठाउँमा गयौँ भने, आफ्नो नाता वा मान्यजनकामा गयौँ भने कोसेली पनि दिनुपर्ने, पैसा पनि दिनुपर्ने – यस्तो खालको चलन चलाएको पनि कम्तीमा चारपाँच दशक भइसक्यो । तर, हामी सानो हुँदा हामीले हाम्रो मान्यजनबाट, बाबुहरूबाट टीका लगाउँदा, हजुरबाहरूबाट टीका लगाउँदा, दाजुहरूबाट टीका लगाउँदा, काकाहरूबाट टीका लगाउँदाखेरि, आमाहरूबाट टीका लगाउँदाखेरि हामीले पैसा दिने चलन थिएन । पैसा भएका मान्छेले हो कि कसले यस्तो चलन चलाइदियो । यो फेसनको रूपमा बढेको छ, यो गलत कुरा हो ।
तर, हामीले दिनुपर्ने दसैँघरका गुरु, आफ्नो छोरीचेलीलाई आफ्नो श्रद्धाले, आफ्नो प्रेमले, आफ्नो औकातअनुसार दिने हो । कति दिन सकिन्छ दिनु आवश्यक छ । अरूलाई दिनुपर्ने नै होइन ।