
काठमाडौं । हनुमानढोकास्थित प्रसिद्ध देवी तलेजु भवानीलाई विधिविधानपूर्वक दरबार परिसरको मूलचोकमा राखिएको छ ।
जीवित देवी कुमारीलाई कालरात्रिका दिन दर्शन गराउन तान्त्रिक विधिबाट विशेष बाजागाजासहित मन्दिरबाट मूलचोकमा राखिएको कुमारीघरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिए ।
उनका अनुसार, प्रत्येक वर्ष फूलपातीका दिन शुभसाइत पारेर सारिएकी देवीलाई पूजा गरेपछि दशमीका दिन फेरि तलेजु मन्दिरमा लगेर विराजमान गराइने प्रचलन छ । दशमीका दिन मन्दिरमा फर्काएपछि विजयादशमीको टीका सुरु गरिने जनाइएको छ ।
तलेजु भवानी मन्दिर प्रत्येक वर्ष महानवमीका दिन मात्र पूजा–आराधनाका निम्ति खुला गरिन्छ ।
तलेजुलाई सन् १३२२ मा हरिसिंहदेवले सिम्रौनगढबाट काठमाडौं उपत्यकामा ल्याएको इतिहास छ । रासस