site stats
बाह्रखरी :: Baahrakhari
देश
सर्पदंशका बिरामीको लागि नेपालमा उपचार केन्द्र स्थापना गर्न भारत सकारात्मक : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सर्पदंशका बिरामीको लागि उपचार केन्द्र स्थापना गर्न भारत सरकारले सहयोग गर्ने बताएका छन् । बुधबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को क्षेत्रीय बैठकबाट फर्किएपछि विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा सर्पले टोकेर हुने जोखिमको उपचारका लागि उपचार केन्द्र बनाउन भारतले सहजीकरण गर्नेबारेमा भारतीय स्वास्थ्यमन्त्रीले प्रतिबद्धता जनाएको बताए । क्षेत्रीय बैठकका क्रममा भारतीय स्वास्थ्यमन्त्रीसँग आफ्नो भेट भएको उल्लेख गरे ।

Argakhachi Cement Island Ad

भेटमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भारत सरकारले सञ्चालन गर्दै आएको एम्स अस्पतालसँग समझदारी भएर सहकार्य भइरहेका कामहरू बीचमा समयावधि सकिएका कारण रोकिएको स्थितिको अन्त्यका लागि प्रयास गरेको बताए । पुनः समझदारी गरेर एम्स र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बीचमा पहिलेको समझदारीलाई कायम गर्नेगरी मौखिक समझदारी व्यक्त भएको सुनाए ।

उनले भने, "नेपालमा सर्पले टोकेर नागरिकहरूलाई जुन समस्या देखिएको छ, त्यसको बारेमा उपचार केन्द्र स्थापना गर्ने र त्यसका लागि सहजीकरण गर्न भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भारत सरकारले सञ्चालन गर्दै आएको एम्स अस्पतालसँग समझदारी भएर सहकार्य भइरहेका कामहरू बीचमा समयावधि सकिएका कारण रोकिएको स्थिति थियो । त्यसमा पुनः समझदारी गरेर एम्स र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बीचमा पहिलेको समझदारीलाई कायम गर्नेगरी मौखिक समझदारी व्यक्त गर्नुभएको छ ।"

स्वास्थ्यमन्त्री पौडेलले डब्ल्यूएचओसँग समन्वय गरेर नेपालमा चलिरहेका कार्यक्रमहरूलाई अझ बढी कसरी प्रभावकारी बनाउने र हेटौँडामा रहेको सरुवा रोग केन्द्रलाई अनुसन्धान केन्द्रका रूपमा विकसित गर्नेबारेमा छलफल भएको बताए ।

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्