site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वीरगन्जमा मिलेको भाउँतो 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

२०४४ साल साउन महिना । स्कुलमा वर्षे छुट्टी थियो । असार दोस्रो सातादेखि बन्द हुने स्कुल एकैपटक भदौ १ गते मात्र खुल्थे ।

हजुरआमा र उहाँकी कान्छीसासू (हामी उहाँलाई बुढीआमै भन्थ्यौँ) हेटौँडा जाने हुनुभयो । हेटौँडामा फुपूआमै (बाको फुपू) बस्नुहुन्थ्यो । मेरी हजुरआमा आफ्नी आमाजूलाई भेट्न हेटौँडा जाने तयारीमा जुट्नुभयो ।

उहाँ हेटौँडाको भुटनदेवी स्कुलनजिकै रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा निकै मानिएकी गुरुआमा भएर बस्नुभएको थियो । उहाँलाई भेट्न हजुरआमा जाने हुनुभएपछि मलाई पनि जाऊँजाऊँ लाग्यो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

एक त स्कुल पनि छुट्टी भएको । अर्को, साउनमा खेतमा धान रोपाइँ पनि सकिएको र बारीमा मकै थन्काउन, कोदो रोप्न अझै एक महिना लाग्ने हुँदा साउन खेतीपातीमा खासै चटारोको समय पनि थिएन ।

त्यतिखेर नुवाकोटबाट हेटौँडा जाने दुई विकल्प मात्र थिए । पहिलो, गाडी चढेर काठमाडौं हुँदै जाने ।

Royal Enfield Island Ad

दोस्रो, धादिङको गल्छीसम्म हिँडेर त्यहाँबाट गाडी चढेर मुग्लिङ, नारायणगढ हुँदै पुग्ने । हजुरआमाले दोस्रो रोज्नुभयो ।

यात्रा थाल्नु चार दिनअघि छिमेकी ठूलोबा (हरिप्रसाद भट्ट)ले एउटा काम जिम्मा लगाउनुभयो, ‘यो नाति केटोलाई वीरगन्जसम्म पुर्‍याइदिनू है ।’

हेटौँडासम्म मात्र जाने लक्ष्य बोकेका हामीलाई वीरगन्ज पुग्नुपर्ने भयो । ‘वीरगन्ज घुम्न पनि हुन्छ । त्यहाँ सीताको घरमा एकदुई दिन बसेर रक्सौलसम्म पुग्दा झनै रमाइलो हुन्छ,’ ठूलोबाको पछिल्लो कुराले मलाई वीरगन्जको लोभ जाग्यो ।

खासमा गएको वैशाखमा छोरी भेट्न वीरगन्ज पुग्नुभएका ठूलोबाले आउने बेलामा नातिलाई लिएर आउनुभएको थियो । छिमेकी सीता दिदीको छोरा भएकोले हामीले उनलाई भान्जा सम्बोधन गर्थ्यौँ ।

भान्जा त्यस्तै सातआठ वर्षका थिए । स्कुल जाँदै गरेको भान्जालाई दिदीले किन नुवाकोट पठाएकी थिइन् ? त्यो थाहा भएन । वैशाखदेखि मामाघर आएका भान्जा गाईगोठालो, घाँस काट्ने, खेतमा सकेजति सबै काम गर्थे ।

हेटौँडासम्म पुग्ने हाम्रो योजनामा वीरगन्ज पनि थपियो । वीरगन्ज पनि टेकिने कुराले मनमा खुसी बढ्यो ।

बेलुकी घाम नअस्ताउँदै धादिङको पृथ्वी राजमार्गमा पर्ने गल्छी पुग्ने लक्ष्य बोकेर हामी पाँचजना घर पिपलटारबाट निस्कियौँ । समय त्यस्तै बिहानको ८ बजेको थियो ।

देवीघाट बजारबाट त्रिशूली नदीको किनारैकिनार रहेको गोरेटो बाटो हुँदै हामी अघि बढ्यौँ । मध्य वर्षाको समय भएकाले त्रिशूली आफ्नो रौद्ररूप देखाएर बगिरहेको थियो । बुढीआमै, हजुरआमा, भान्दाइ, भान्जा र म गरी पाँचजना थियौँ टोलीमा ।

हिँडेर गल्छी पुग्दा साँझको ८ बजिसकेको थियो । थकाइले लखतरान परिएको थियो । जे गाडी फेला पर्छ त्यसैमा जाने हाम्रो योजना थियो । हामीसँग यही हुनुपर्छ, यसैमा मात्र चढेर जाने भन्ने कुनै कठोर अडान थिएन ।

हामीले हात ठड्याएर रोक्न इसारा गरेको देखेर ‘हेटौँडा हेटौँडा...’ भन्दै एउटा ट्रक टक्क रोकियो । पाँचैजना त्यसैमा चढ्यौँ । भोलिपल्ट बिहान झिसमिसेमा हेटौँडा उत्रिने मिठो सपना बोकेर हाम्रो यात्रा सुरु भयो पृथ्वी राजमार्गमा ।

मुग्लिङसम्म पृथ्वी राजमार्ग, त्यहाँदेखि नारायणगढसम्म र नारायणगढदेखि हेटौँडासम्म महेन्द्र राजमार्ग खण्डमा हामीले यात्रा गर्नुपर्थ्यो ।

बिहानीपख २ बजेतिर ट्रकले हेटौँडा पुर्‍याएर झार्‍यो हामीलाई । झन्डै १५ मिनेट हिँडेपछि हामी मन्दिरसँगै रहेको फुपूआमै बस्ने घरमा पुग्यौँ । त्यहाँ अरू दुईतीनजना हजुरआमाहरू पनि बस्नुहुँदो रहेछ । उहाँहरूले हामीलाई सुत्ने बन्दोबस्त मिलाइदिनुभयो । यसरी बिहानीपख ४ बजेतिर ओछ्यानमा पल्टियौँ ।

मन्दिरमा भीडभाड र अन्य आवाजले गर्दा हामीलाई चाँडै निद्राले छोड्यो । प्रणामी मन्दिर स्थापना गरेर त्यहाँ धेरैका गुरुआमा बनेर फुपूआमै बस्नुभएको थियो । सानै उमेरमा विवाह भएको थियो मेरी फुपूआमैको । बच्चा पैदा नहुँदै उहाँ बालविधवा हुन पुग्नुभयो । अघिल्लो शताब्दीको कठोर हिन्दु संस्कारमा विधवाले पुनः विवाह गरेर घरजम गर्ने भन्ने कुरा सोच्न समेत नसकिने अवस्था थियो ।

हजुरआमाहरूले गफ गरेको सुन्थेँ, विधवा भएको केही समय घर र पछि अधिकांश समय माइतीमा बस्नुभएकी फुपूआमै बाँकी जीवन आध्यात्म र भगवान् श्रीकृष्णको सेवामा समर्पण गर्ने योजना लिएर प्रणामी धर्म अपनाउनुभएको थियो ।

बिहान नित्यकर्मपछि हामीले फुपूआमैसँग भेटघाट गर्‍यौँ । उहाँ एउटा छुट्टै कोठामा बस्नुहुँदो रहेछ । उमेरका कारण श्रवणशक्ति निकै कम भएको थियो । हामीलाई देखेर निकै खुसी हुनुभयो । प्रणामी समुदायमा मेरी फुपूआमैलाई उहाँका चेलाचेलीहरू अरू प्रणामीझैँ सुन्दरबाईका नामले चिन्थे ।

‘तैँले कण्ठी बाँधिनस् है ? कण्ठी बाँध, तेरो बिहे मेरी चेलीसँग गराइदिन्छु,’ भर्खर १४ वर्ष पुगेको मलाई उहाँले बिहेको बन्धनमा पार्ने कुरा गर्नुभयो । प्रणामी सम्प्रदायमा माछामासु वर्जित हुन्छ ।

मैले माछामासु त्यतिखेर छाडे पनि कण्ठी भने बाँधेको थिइनँ । तुलसीको डाँठबाट बनेका मालालाई घाँटीमा बाँधेर केही मन्त्र ग्रहण गरेपछि औपचारिक रूपमा प्रणामी होइन्थ्यो ।

माछामासु छोडेको चार वर्ष भैसके पनि म प्रणामी भने भएको थिइनँ । जनावरलाई पीडा दिएर हत्या गरेको देख्न नसकेर मैले माछामासु छोडेको थिएँ । म अहिलेसम्म पनि प्राणी हत्या भएको हेर्न सक्दिनँ । देखेको छैन ।

दसैँको महाष्टमीका दिन घरैपिच्छे खसी, बोका, कुखुरा, हाँस, राँगोको वधलाई हेर्न नसक्ने भएरै म कुनै किताब बोकेर तादी खोलाको किनार वा डाँडामा गएर साँझ मात्र घर फर्किन्थेँ ।

त्यस दिन बिहानको खाना खाइसकेपछि हेटौँडा घुमेर बिताइयो । हेटौँडामा ओम सिनेमा हल भर्खरै बनेको थियो । नयाँ हल भएकोले होला, निकै भीड थियो । म र भान्दाइले त्यही हलमा पहिलोपटक मिथुन चक्रवर्तीको ‘माँ कसम’ फिल्म हेर्‍यौँ । हामीले सबैभन्दा सस्तो तीन रुपैयाँको टिकट काटेर अगाडि बसेर फिल्म हेरेका थियौँ ।

त्यतिखेर हिन्दी नबुझ्ने कारणले फिल्म र हिरोको नामभन्दा बाहेक न कथा बुझियो न बोलेकै । हलबाट निस्किसकेपछि तीन रुपैयाँ फोकटमा खेर गएकोमा पछुतो लागिरह्यो ।

त्यस बेला हेटौँडा निकै सफा र सुन्दर सहर लाग्यो । मुख्य सहर सफा थियो । सडकपेटीमा रोपिएका अशोकका बोटहरू हुर्कंदै थिए । ठूलो औद्योगिक क्षेत्र अनि पूर्वपश्चिम जाने, त्रिभुवन राजपथ हुँदै काठमाडौं पुग्ने सडक, साउन भएर पनि गर्मी नहुने पहाडकै जस्तो मौसमले गर्दा हेटौँडा धेरैको रोजाइमा परेको सहर थियो ।

हेटौँडा आएको पर्सिपल्ट भान्जालाई पुर्‍याउन वीरगन्ज जाने निधो भयो । बिहानको खाना खाएर त्यस्तै ११ बजेतिर पाँचैजना वीरगन्जका लागि निस्कियौँ । मूल सडकसम्म निस्कने र जे पाइन्छ त्यसैमा चढेर जाने कुरामा सहमति भएको थियो ।

बाटोमा अलिकति अगाडि निस्किएका मात्र थियौँ, एउटा ट्रक इन्जिन स्टार्ट भएर रोकिएको रहेछ । ट्रक व्यवसायीहरूको संस्था नारायणी यातायात व्यवसायी संघको अफिस नजिकै थियो । धेरैजसो ट्रकको साइडमा नारायणी यातायात व्यवसायी संघमा आबद्ध भनेर लेखिएको देखिन्थ्यो ।

नुवाकोटमा चल्ने ट्रकहरूमा समेत त्यो देखेको थिएँ । संघले आफूमा आबद्ध सदस्य ट्रकहरूलाई पालैपालो ढुवानीको व्यवस्थापन गर्थ्यो । सायद इन्जिन स्टार्ट भएर ट्रक पनि संघले दिएको कोटाअनुसार सामान बोक्न कतै जाने तयारीमा हुनुपर्छ ।

‘कहाँसम्म पुग्ने हो बाबु यो ट्रक ?,’ हजुरआमाले सोध्नुभयो ।

‘तपार्इंहरू कहाँ जाने ?,’ ट्रकका चालकले उल्टै प्रतिप्रश्न गरे ।

‘हामी त वीरगन्जसम्म पुग्ने हो,’ हजुरआमाले जवाफ फर्काउनुभयो ।

‘ल, वीरगन्ज नै जाने हो । बस्नुस् बस्नुस् ।’

हामी ट्रक चढ्यौँ । हजुरआमाहरू अगाडि सिटमा बस्नुभयो भने हामीचाहिँ ट्रकको माथि हुडमा बस्यौँ । हुडमा बस्दाको मजाचाहिँ बेतोडको चिसो हावा खाँदै यात्रा गर्न पाइने र चारैतिर देखिने । त्यसैले मलाई सानैदेखि यस्तो यात्रा निकै रमाइलो लाग्थ्यो ।

ट्रक महेन्द्र राजमार्गको हेटौँडा–पथलैयाखण्डमा तीव्र गतिमा गुड्न थाल्यो । वीरगन्ज पुग्ने भनेर त निस्कियौँ, तर सीता दिदीको घर वीरगन्जको कुन ठाउँमा छ भन्ने अत्तोपत्तो थिएन । ठूलोबासँग सोध्दा भान्जातिर देखाउँदै भन्नुभएको थियो, ‘यसले देखाइहाल्छ, पुर्‍याइहाल्छ नि ! यसलाई टोलटोल थाहा छ वीरगन्जको ।’

आफूजन्मे हुर्केको ठाउँ नुवाकोटको सडकमा हरेक ५० मिटरको दूरीमा घुम्ती, साँघुरो बाटो, अर्को गाडीलाई साइड दिनुपर्दा परैदेखि रोकेर बस्नुपर्ने थियो । यता, हेटौँडादेखि पथलैयासम्म पुग्दा धागो तानेजस्तो राजमार्ग, दायाँबायाँ विशाल जंगल देख्दा ज्यादै रमाइलो लाग्यो । राजमार्गको छेउ पूरै बगर थियो । एक थोपा पानी थिएन । सायद वर्षे खहरे थियो ।

पथलैया पुगेपछि राजमार्गको एउटा भाग पूर्व लाग्दो रहेछ । वीरगन्ज जान दक्षिण लाग्नुपर्ने रहेछ । त्यतिखेर म कक्षा–९ मा पढ्थेँ । कक्षा–९ को अंग्रेजी किताबमा एउटा पाठ थियो, महेन्द्र राजमार्गको पथलैया–ढल्केवरखण्डका विषयमा । त्यसमा लेखिएको एउटा वाक्य अहिलेसम्म पनि मलाई याद छ, ‘पथलैया टू ढल्केवर इज अ सेक्टर अफ महेन्द्र हाइवे । इट वाज बिल्ट बाई यूएसएसआर ।’

आफूले पढ्ने किताबमा उल्लेख भएको ठाउँमा पुग्न पाउँदा छाती गर्वले ढक्क फुल्यो । पछिसम्म पनि यो पाठको प्रसंग आउँदा, अंग्रेजी पढाउने रामप्रसाद जोशी सरले पढाउनुहुँदा म गर्व गरेर भन्थेँ, ‘सर, यो ठाउँमा त म पुगेको छु ।’

ट्रक पथलैया–वीरगन्जखण्डमा गुड्न थालेपछि कन्डक्टर माथि हुडमा उक्लिए र सोधे, ‘तपाईंहरू वीरगन्जको कुन ठाउँमा झर्ने हो ?’

हामीले भान्जालाई सोध्यौँ । तर, भान्जा त ‘खै कता हो’ पो भन्न थाले । भान्जाको जवाफले मनमा डर पलायो । कहाँ भन्ने अब ? ठूलोबाले भन्नुभएको झट्ट याद आयो– घण्टाघर ।

‘घण्टाघरनजिकै रोकिदिनुस् न हामीलाई,’ मैले भनेँ ।

पथलैयाबाट दक्षिण लागेपछि नै पानी सिमसिम पर्न थालेको थियो । वीरगन्ज आइपुग्ने बेलामा मुसलधारे पानी सुरु भयो । हामी ट्रकको हुडबाट झरेर त्रिपालमुनि बस्यौँ । वीरगन्ज पुग्ने बेलासम्म सडक पूरै जलमग्न भैसकेको रहेछ ।

घण्टाघरनजिकै पुगेर ट्रक रोकियो । सडकछेउमा समेत गोलीगाँठोसम्म डुबाउने पानी जमिसकेको थियो । निकासको समस्याले होला, पानी पास हुन सकिरहेको थिएन ।

हामी ट्रकबाट उत्रिएर नजिकैको घरको पेटीमा ओत लाग्यौँ । घरको बरन्डाले परेको पानी छेकिने हुँदा हामीले त्यहीँ बसेर वीरगन्जलाई नियालिरह्यौँ । अलिक अगाडि घण्टाघर देखियो ।

हेटौँडाबाट निस्कँदा चर्को घाम लागिरहेको हुँदा यसरी पानी पर्ला भनेर सोच्न समेत भ्याइएको थिएन । पानीबाट जोगिन न त छाता किन्नका लागि नजिक कतै पसल थियो न त प्लास्टिक पसल नै ।

पानी बर्सन कम नभएसम्म झन्डै डेढ घण्टा हामी पाँचजना त्यही पेटीमा ओत लागिराख्यौँ ।

पानी कम भएपछि अब सीता दिदीको घर खोज्नु थियो ।

‘भान्जा, ल अब कता हो घर ?,’ मैले सोधेँ ।

भान्जो घरी यता हो कि भन्दै त्यतै गल्लीमा पस्छन्, घरी उता होला भन्दै अर्को गल्लीतिर लैजान्छन् । घरी अगाडि होला भन्दै हामीलाई पछि लगाउँदै अघि हिँड्छन्, घरी पथलैयातिरबाट आएकै सडकतिर फर्किन्छन् ।

३ बजे वीरगन्ज पुगेका हामी पानीका कारण डेढ घण्टा ओत लागेर बस्यौँ । भान्जाको घर खोज्न थालेको अर्को डेढ घण्टा बितिसक्यो । कता हो, अत्तोपत्तो छैन ।

केही सीप नलागेपछि मान्छेलाई सोध्न थाल्याैँ । तर, कुन ठाउँ भन्नु ? एउटा क्लु मात्र थियो, भिनाजु राष्ट्रिय वाणिज्य बैंकको ड्राइभर हुनुहुन्छ भनेर ठूलोबाले भन्नुभएको थियो ।

मानिससँग वाणिज्य बैंक कता ? भनेर सोध्यौँ । ‘कुन वाणिज्य बैंक, छपकैयाको ?’ एउटाले उल्टै पो प्रश्न गर्‍यो । उसले वीरगन्जमा धेरै वाणिज्य बैंक छन् भनेपछि त्यो क्लुबाट पत्ता लाग्ने आस पनि मर्‍यो । भान्जाले घरभन्दा अलिकति पर बसपार्क रहेको बताए । मानिसहरूसँग बसपार्क कता हो ? भनेर सोध्यौँ । तर, उनीहरूले भने– बसपार्क त धेरै छन्, कुनचाहिँ ? श्रीपुरको कि अन्तैको ?

भान्जाले कुन बसपार्क हो भनेर भन्न नसकेपछि त्यो उपायले पनि काम दिएन ।

दिदीलाई फोन गरेर सोधौँ भने उनको घरमा फोन थिएन । वाणिज्य बैंकमा गरेर सोधौँ न त भन्दा पनि एक त साँझ ७ बज्न लागेकोले अफिस बन्द भैसक्यो भन्ने भयो ।

दोस्रो, कुन वाणिज्य बैंकमा कल गर्नु ? फेरि, नजिकै पसलमा फोन पनि थिएन । नुवाकोटमा ठूलोबालाई फोन गरेर दिदीको घर भेटिएन भन्न त त्यतिखेर सम्भव नै थिएन । किनकि, त्यतिखेर विदुरका केही सरकारी कार्यालयमा बाहेक सर्वसाधारणको घरमा फोन पुगिसकेको थिएन ।

झन्डै चार दशकअघिको त्यो घटना घरीघरी याद आउँछ । यदि, अहिलेजस्तो हातहातमा मोबाइल फोन भएको भए, सामाजिक सञ्जालको व्यापकता त्यतिखेर भएदेखि एक कलको भरमा ठाउँ पत्ता लाग्थ्यो ।

अहिले गुगल म्याप पछ्याएको भरमा जुनसुकै कुनामा अलपत्र हुनबाट बचिन्छ । तर, देशको एउटा सहरमा घर पत्ता नलागेर चार घण्टासम्म हामी पाँचजना भौँतारिरह्यौँ । थकाइ र भोकले चुर भयौँ । पानीले चुटिनुसम्म चुटियौँ ।

पथलैयाबाट दक्षिण लागेपछि घर आइपुगियो भनेर खुसीले उफ्रिएको भान्जा अहिले नुन खाएर झोक्राएको कुखुराजस्तो भएका थिए । आज र भोलि वीरगन्ज/रक्सौल घुम्ने योजना बनाएर हेटौँडाबाट निस्किएका हामी सडकमै अलपत्र थियौँ ।

कहाँ जाने ? कसरी सीता दिदीको घर पत्ता लगाउने ? यो भान्जालाई कसको जिम्मा लगाउने ?

फेरि पानी पर्न सुरु भयो । केही पत्तो लाग्छ कि भनेर हामी चारैतिर एकएक किलोमिटर हिँडिसक्यौँ । हामी त यो सहरका लागि यसै नयाँ, उसै नयाँ । तर, सातआठ वर्षको भान्जाले तीन महिनापछि आफ्नै गाउँठाउँ आइपुग्दा पनि घर, ठेगाना पत्ता लगाउन सकेनन् ।

एक हिसाबले हामी ‘उपाय मरु’को अवस्थामा पुग्यौँ । सोच्नै नसकेको अकल्पनीय भाउँतो आइलाग्यो हामीलाई । हजुरआमाले भान्जालाई गाली गर्न थाल्नुभयो । मनमनै त मलाई पनि रिस उठेको थियो । तर, रिसाएर उपाय आउनेवाला थिएन ।

‘अब हेटौँडा नै फर्किऊँ, यो तालले यहाँ अलपत्र परिन्छ । पानी फेरि पर्न थालिसक्यो,’ भान्दाइले प्रस्ताव राख्नुभयो । हामीसँग योभन्दा अर्को उपाय त्यतिखेर अरू केही थिएन ।

‘ल हेटौँडा हेटौंडा...,’ अलिक अगाडि रोकिएको बसछेउमा कन्डक्टर चिच्याउँदै थिए । हामी त्यतै लाग्यौँ । पानीमा रुझ्दै र भिज्दै हामी बस चढ्न पुग्यौँ । पानीले गर्दा भिजेका यात्रुहरूको लुगाबाट ह्वास्स गन्ध आइरहेको थियो ।

पुरानो बसको सिट पनि च्यातिएर फोम बाहिर निस्किएको थियो । हामी लामो समयसम्म मौन बस्यौँ । नराम्रोसँग गोता खाएका थियौँ हामीले । ठूलोबाले भनेको हार्न नसकेर भान्जालाई पुर्‍याउन आउँदा वीरगन्ज सहरको नमिठो याद सँगालेर हामी फर्कियौँ ।

अघि दिउँसो जुन बाटो गयौँ, त्यही बाटो फर्किंदै थियौँ हामी । पथलैयाबाट उत्तर हेटौँडातर्फ लागेपछि दिउँसो जाँदा सुक्खा ढुंगा, बालुवा देखिएको ठाउँमा गडगडाएर बाढी आइरहेको थियो । एक ठाउँमा त राजमार्गमै खहरे बगिरहेको थियो ।

बीचमा पुगेपछि बसको इन्जिन बन्द भयो । बसका चालकले सबै पुरुष यात्रुजतिलाई बाहिर निस्कन अह्राए । बाहिर निस्किएर होस्टे... हैँसे... गर्दै बसलाई धकेल्यौँ र त्यो खहरेबाट पार लगायौँ ।

हेटौँडा आइपुग्दा चकमन्न अँध्यारो भैसकेको थियो । हेटौँडामा पनि सिमसिम पानी परिरहेको थियो । पानी परिरहेकाले हजुरआमाले मन्दिर जाने बाटो भुल्नुभयो । बाटो अलमलिएपछि हामी कसरी कसरी एउटा गाईको गोठमा पुगेछौँ ।

हजुरआमाले मन्दिरको बाटो सोध्नुभयो । गोठधनी सज्जनले बाटो देखाउँदै अलि वरसम्मै ल्याइदिए । फुपूआमै बस्ने मन्दिरमा आइपुग्दा रातिको साढे १० भैसकेको थियो ।

मन्दिरमा बस्ने अरू हजुरआमाहरूले पस्किएर दिनुभएको गुन्द्रुक र भात खाएपछि बल्ल प्राणमा प्राण थपिएको महसुस भयो ।

अहिले लाग्छ, त्यतिखेर एउटा फोन मात्रै भैदिएको भए हामी त्यसरी अलपत्र पर्ने थिएनौँ । न त घर पुगिसकेका भान्जालाई फिर्ता ल्याउनुपर्ने बाध्यता नै आइलाग्थ्यो ।

अनि, तुलना गर्छु प्रविधिले समाज, व्यक्तिको जीवनलाई कति सहज बनाएको छ । केही वर्षअघि मात्र नेपालबाट अमेरिका कल गर्नुपर्दा मिनेटको सयौँ रुपैयाँ तिर्नुपर्थ्यो । तर, आज निःशुल्क सेवा उपलब्ध छ । एकार्काको क्रियाकलाप (भिडियो) हेर्दै कुराकानी गर्न मिलेको छ ।

त्यतिखेर वीरगन्जको वीरगन्जमै प्रविधि नहुँदा टाढा बनायो । तर, आज एकातिर दिन हुँदा रात भएको स्थानमा सेकेन्डभित्र सम्पर्क हुन्छ । रात भएको ठाउँबाट दिन भएको ठाउँमा अनुहार हेर्दै सित्तैमा घण्टौँ गफिन मिल्छ । यसको सीमा कहाँ पुगेर ब्रेक लाग्छ कुनै पत्तो छैन । 
bhattarc@gmail.com

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  ११:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro