काठमाडौं । साहित्यकार विजय चालिसेद्वारा लेखिएको वैदिक उपन्यास ‘युगसन्धि’ एक समारोहबीच लोकार्पित भएको छ । उपन्यास ऋषि वशिष्ठ र विश्वमित्रबीचको वैदिककालको वैचारिक द्वन्द्वमा आधारित रहेर आर्य र अनार्य जाति तथा संस्कृति, महिला तथा पुरुष तथा रक्त शुद्धता र रक्त सम्मिलन पक्षधरहरूबीचको द्वन्द्व समेटिएको बताइएको छ ।
लोकार्पण समारेहमा समीक्षक गोपी मैनालीले युगसन्धिले पौराणिक आख्यान लेखनको शास्त्रीय विधान तोडेको बताए ।
अर्का समीक्षक प्रा.डा. ज्ञानू पाण्डेले यस उपन्यासले उठान गरेको विषयवस्तुभन्दा पनि पर पुगेर पाठकका मनमा अनेकौँ गम्भीर प्रश्न र कल्पना जगाउनसक्ने सशक्त कृति भएको बताइन् ।
कार्यक्रममा डा. ऋषिराम पोखरेलले वैदिक विषयवस्तुमाथि साह्रै कम पुस्तक लेखिएको आजको अवस्थामा चालिसेले युगसन्धि लेखेर नेपाली साहित्यलाई गुन लगाएको बताए ।
उपन्यासकार चालिसेले वैदिककालका द्वन्द्वहरूलाई अध्ययन गरेर निकालेको निश्कर्षका आधारमा उपन्यास तयार पारेको उल्लेख गरे । उक्त अवसरमा गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले नगरपालिकाले साहित्यिक उत्थानमा काम गर्दै आएको बताए ।
यो उपन्यास परिचय पब्लिकेसनले बजारमा ल्याएको हो ।