site stats
बाह्रखरी :: Baahrakhari
देश
नुवाकोटमा रुखमा अड्कियो हायस, चालक भन्छन्– ब्रेक नै लागेन

काठमाडौं । नुवाकोटमा सोमबार दिउँसो हायस माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । शिवपुर गाउँपालिका–७, चापागोठ भन्ने स्थानमा ग१ख ४५३५ नम्बरको हायस दुर्घटना भएको प्रहरीले जानकारी गराएको छ ।

घाइते १२ जनालाई उपचारका निम्ति काठमाडौं ल्याइएको छ । उक्त हायसमा १८ जना सवार रहेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डीएसपी तिलक भारतीले जानकारी दिए ।

“१२ जनालाई हस्पिटल काठमाडौंमा पठाइएको छ । १८ जनामा अरू घाइते छैनन् । अरूलाई चोट छैन,” दुर्घटनास्थलमा रहेका उनले बाह्रखरीसित भने ।

सोमबार दिउँसो करिब १२ः४५ बजे दुर्घटना भएको हो । हायस सडकबाट करिब ३० मिटर तल खसेको उनले जानकारी दिए । उनले यसअघि हायस १०० मिटर तल खसेको बताएका थिए । तर, यकिन गरी हेर्दा ३० मिटरजति देखिएको उनले स्पष्ट पारे ।

उनका अनुसार, हायस सडकबाट खसेर रुखमा अड्किएको छ । रुखमा अड्किएकाले यात्रु जोगिएको उनको भनाइ छ । “३० मिटर तल खसेको रहेछ । मौवाको रुखमा अड्किएको छ,” उनले भने, “यात्रु घाइतेबाहेक अरू हताहत भएको छैन ।”

चालकको अवस्था पनि सामान्य रहेको उनले बताए । ब्रेक नलागेकाले मोड्न नसकेर गाडी खसेको चालकले बताएको उनले जानकारी दिए ।

“ब्रेक नै लागेन भनेका छन् । एक नम्बर गियरमा थियो, पम्प दिएँ, मोड्नै सकिनँ भन्छन्,” डीएसपी भारतीले चालकको भनाइ उद्धृत गरे ।

उक्त हायस काठमाडौंबाट पोखरातर्फ जाँदै थियो ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १४:१९
प्रतिक्रिया दिनुहोस्