site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गाडीभित्र निदाइरहेका यात्रुमाथि बजारिएको थियो पहिरो
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।

झ्याप्लेखोला । राजधानी काठमाडौं भित्रने प्रमुख नाका नागढुंगानजिकै धादिङको झ्याप्लेखोलामा पहिरोमा परी हालसम्म ३५ जनाले ज्यान गुमाएका छन् । मृतकको संख्या अझै बढ्न सक्ने सुरक्षा अधिकारीको अनुमान छ । चितवन, गोरखा र रुपन्देहीको बुटवलबाट काठमाडौं भित्रँदै गरेका तीन सवारीसाधन पहिरोमा पुरिँदा यात्रुले ज्यान गुमाएका हुन् ।

गोरखाबाट काठमाडौं आउँदै गरेको ना४ख २२७० नम्बरको बस, चितवनबाट आउँदै गरेको बा३ज १३४५ नम्बरको माइक्रोबस र बुटवल हुँदै काठमाडौं आउँदै गरेको लु१ख ४५७८ नम्बरको विंगर (भ्यान) पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) गौमत केसीले जानकारी दिए ।

s2-1727614635.jpg
पहिरो अझै पन्छाउन बाँकी छ । ती तीन सवारीसाधनमा कति यात्रु सवार थिए भन्ने यकिन भइसकेको छैन । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीबाट पहिरो पन्छाउने कार्य जारी छ ।

Dabur Nepal
NIC Asia

बुटवलबाट काठमाडौं आउँदै गरेको विंगरबाट १४ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार, पहिरोमा पुरिएको विंगरबाट आठ पुरुष र चार महिलाको शव निकालिएको छ । चितवनबाट आउँदै गरेको माइक्रोबसबाट १६ जनाको शव निकालिएको छ । माइक्रोबाट १२ पुरुष र चार महिलाको शव निकालिएको हो । गोरखाबाट आउँदै गरेको बसबाट पाँच पुरुषको शव निकालिएको छ । बस निकाल्ने काम जारी छ ।

गएको बिहीबार रातिदेखि परेको अविरल वर्षासँगै बाढीपहिरो र डुबानबाट देशभर १४८ जनाले ज्यान गुमाइसकेका छन् । ५५ जना बेपत्ता छन् । १०१ जना घाइते भएका प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

jhaplekhola_Pahiro-uddar-(42)-1727592263.jpg
रोकिराखेको सवारीमाथि बजारियो पहिरो
झ्याप्लेखोला पहिरोमा पुरिएका तीनै सवारीसाधन शुक्रबार साँझ गुडेका थिए । अविरल वर्षाका कारण शुक्रबार पृथ्वी राजमार्ग, त्रिभुवन राजपथमा आवतजावत ‘डिस्टर्ब’ भयो । ठाउँठाउँमा खसेको पहिरो पन्छाउँदै अधिकांश सवारीसाधन नौबिसे हुँदै थानकोटको उकालो चढेका थिए । समय मध्यरात भइसकेको थियो ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ सँगको सीमाक्षेत्र धादिङको धुनिबेँसी नगरपालिका–९, झ्याप्लेखोलामा खसेको पहिरोका कारण सवारीसाधन त्यहाँबाट पार हुन सकेनन् । काठमाडौं भित्रने सबै सवारीसाधन झ्याप्लेखोलापारि नै रोकिए ।

लामो जामका कारण सवारीसाधन न फर्कन सक्ने अवस्था थियो न झ्याप्लेखोला पार गर्न । धादिङतर्फ अग्रलाइनमा बस र बाइक्रोबस थिए । शनिबार बिहान हुँदै थियो । वर्षा रोकिने संकेत थिएन । जाममा फसेका केही यात्रु बेलाबेला पानी र चाउचाउ खान खोला किरानाका पसल धाइरहेका थिए ।

s3-1727614764.jpg
शनिबार बिहान ४ बजेतिर एकाएक बस तथा माइक्रो रोकिएको ठाउँमा नागढुंगा जंगलतर्फबाट ठूलो पहिरो बजारियो । ती बस र माइक्रो हलचल हुन नपाउँदै पुरिए । अरू केही बस आंशिक रूपमा पुरिए । दुई बसका करिब ५० जनाभन्दा बढी यात्रु बाँच्न सफल भए ।

के भन्छन् प्रत्यक्षदर्शी ?
शनिबार झ्याप्लेखोलामा पहिरो खस्दा ज्ञानुमाया तामाङ त्यहीँनजिक आफ्नो खाजा पसलमा थिइन् । उनको पसल झ्याप्लेखोलावारि छ । त्यहीकारण उनको पसल (सम्राट खाजाघर) पहिरोबाट जोगियो । झ्याप्लेखोला वरपर शुक्रबार रातिदेखि नै अविरल वर्षाले विद्युत् अवरुद्ध भएको थियो ।

मोबाइलको लाइटका भरमा जाममा फसेका यात्रुलाई चाउचाउ र पानी बिक्री गरिरहेकी थिइन् उनी । एक्कासि खसेको पहिरोले रोकिराखेको बस पुर्‍यो ।

gyanu-maya-tamang1-1727613819.jpg

ज्ञानुमाया तामाङ ।


तामाङ भन्छिन्, “म पानी परिरहेका कारण रातभर सुतेकी थिइनँ । अझ त्यसमाथि यात्रुहरू समय–समयमा पानी र चाउचाउ खोज्न पसलमा आउने भएका कारण सुत्ने अवस्था थिएन । ४ बजे भने माथिबाट आएको पहिरोले रोकेका बस र सवारीसाधन पुरिहाल्यो ।”

तामाङका अनुसार, सवारीसाधन चार लाइनमा रोकिएका थिए । पहिरोमा ती सबै पुरिए ।

“ठ्याक्कै कतिवटा गाडीहरू पुरिए त्यो त मलाई थाहा छैन । तर, चार लाइनमा रोकिएका सबै गाडी पहिरोमा पुरिए । यात्रुहरू सबै बसभित्र नै थिए । पानी परिरहेका कारण कोही बाहिर निस्कन नै पाएनन्,” तामाङ भन्छिन् ।

उद्धारमा खटिएका सुरक्षाकर्मी समेत पहिरोमा कति सवारीसाधन पुरिए भन्नेबारे अनभिज्ञ थिए । पहिरो नपन्छाउँदासम्म भन्न नसकिने उनीहरूको भनाइ थियो । आइतबार मात्र त्यहाँ तीन सवारीसाधन पुरिएको खुल्यो ।

३१ वर्षअघि पनि पुरिएका थिए ११ जना
झ्याप्लेखोलामा यसअघि ०५० सालामा समेत ठूलो पहिरो खसेको थियो । स्थानीयका अनुसार, त्यति बेलाको पहिरोमा परेर ११ जनाको ज्यान गएको थियो । एक गर्भवतीसहित एकै परिवारका सातजना पहिरोमा पुरिएका थिए । त्यति बेला झ्याप्लेखोलामा खाजा पसल सञ्चालन गर्ने व्यापारी पहिरोमा पुरिएका थिए ।

सवारीसाधन काठमाडौं प्रवेश गर्नेे मुख्य विन्दु भएका कारण लामो समयदेखि झ्याप्लेखोलामा स्थानीयले पसल सञ्चालन गर्दै आएका छन् ।

nagdhunaga-(2)-1727593789.jpg
धुनिबेँसी नगरपालिका–८ का वडाध्यक्ष रामकृष्ण रेग्मी झ्याप्लेखोला सधैँ पहिरोको जोखिम रहेको ठाउँ भएको बताउँछन् । आफूलाई पनि ०५० सालको पहिरोको सम्झना रहेको उनी सुनाउँछन् ।

उनी भन्छन्, “हो, अहिले जुन ठाउँमा पहिरो आएर बसहरू पुरिए, त्यही ठाउँमा २०५० सालमा पनि ठूलो पहिरो आएको थियो । अहिले बसहरू परे, त्यो बेला भने खाजा पसल चलाउनेहरू परेका थिए । एउटै परिवारका सातजना पुरिएका थिए । त्यो बेलाको पहिरोमा बाँचेका केहीले अहिले नागढुंगामा पसल थापेर बसेका छन् ।”

झ्याप्लेखोला धुनिबेँसी नगरपालिका–९ को अन्तिम विन्दु हो । झ्याप्लेखोला कटेपछि काठमाडौंको चन्द्रागिरि नगरपालिका सुरु हुन्छ ।

s1-1727614583.jpgs4-1727614825.jpg
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro