site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
फर्किनै लाग्दा रास्वपाका नेताहरूलाई चिनियाँ नेताले भने– न्युयोर्कबाट चलखेल त भएको होइन ?
SkywellSkywell

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा पहिलोपटक चीन भ्रमणमा निस्केका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू निर्धारित कार्यक्रम नसकिँदै फर्किनुपर्‍यो ।

दश दिनका लागि रास्वपाका १४ नेता गत शनिबार साँझ काठमाडौंबाट चीनतर्फ लागेका थिए ।सीपीसीको निमन्त्रणमा चीन जानेमा रास्वपाका उपसभापति स्वर्णिम वाग्ले, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरू गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुसरकार श्रेष्ठ थिए ।

चीन गएका १४ जनामध्ये आठ जना पाँचौँ दिन बिहीबार काठमाडौं फर्किएका छन् । बाँकी ६ जना भोलि फर्किने उपसभापति वाग्लेले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

Swarnim-Manish-1727353601.jpgसहकारी ठगी प्रकरणमा नाम जोडिएका पार्टी सभापति रवि लामिछानेलाई सरकारले 'पक्राउ गर्ने तयारी गरेको' भेउ पाएपछि उनीहरू चीन भ्रमण नसकिँदै फर्किएका हुन् ।

आइतबार सरकारले आफूलाई पक्राउ गर्ने तयारी गरेको भन्दै सभापति लामिछानेले प्रतिवाद गर्न नेता तथा कार्यकर्तालाई आह्वान नै गरेका थिए । त्यसपछि चीन पुगेका रास्वपाका नेताहरू आइतबार नै नेपाल फर्किन खोजेका थिए । तर, हवाई टिकट नमिलेपछि उनीहरू रोकिएका थिए ।

सहकारी बचत रकम दुरुपयोगबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले आफ्नो प्रतिवेदन गत भदौ ३१ प्रतिनिधिसभामा पेश गरेको थियो । प्रतिवेदनमा गोर्खा मिडिया नेटवर्कका सञ्चालक जीबी राई, रवि लामिछाने र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरिएको थियो ।

rabi-(2)-1727027108.jpg
सोही प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका थिए । लगत्तै प्रहरीले छविलाल जोशीलाई पक्राउ गरेको थियो । त्यसपछि एक समय गोर्खा मिडिया नेटवर्कको १५ प्रतिशत सेयरसहित तत्कालीन समयमा प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई पनि प्रहरीले पक्राउ गर्ने चर्चा चलेको थियो ।

त्यसैलाई आधार मानेररास्वपाले आइतबार दिउँसो नै काठमाडौं उपत्यकामा रहेका आफ्ना नेता तथा कार्यकर्तालाई ह्वाट्स एपमार्फत म्यासेज पठाई तत्काल पार्टी कार्यालयमा उपस्थित हुन भनेको थियो । पक्राउ गर्न आए प्रतिवाद गर्ने तयारी रास्वपाको थियो । 

यस्तो थाहा हुँदाहुदै पनि केही रास्वपा नेता चीन भ्रमणमा गएको भन्दै सामाजिक सञ्जालमा कार्यकर्ताले आलोचना गरेका थिए । त्यसपछि चीन पुगेका रास्वपाका नेताले उतैबाट आफूहरू तत्काल फर्किने तयारी गरेको जनाएका थिए ।

“पार्टीको सभापति भनेको व्यक्ति रवि लामिछानेमात्रै होइन, त्यो संस्था हो । इगोका कारण प्रहार भइरहेको छ भने एकजुट भएर सामाना गर्नुपर्छ । यो अप्ठेरो घडीमा नेपालमै हुनुपर्छ भनेर एकमतका साथ निर्णय गर्‍यौँ । भोलिपल्ट नै फर्कने तयारी पनि सुरु गर्‍यौँ,” चीनबाट फर्किएपछि सञ्चारकर्मीसँग वाग्लेले भने, “तर, टिकटको चाप पनि र यता पनि सोचेजस्तो घटना नघटेको हुनाले अलिकति हलुको हुने मौका मिल्यो ।”

आठ महिनाअघि आएको थियो निम्तो

सीपीसीले विशेष गरी, नेपालका कम्युनिस्ट पार्टीलाई भ्रमणमा बोलाइरहन्छ । नेकपा (एमाले) र नेकपा (माओवादीकेन्द्र) का नेताहरूलाई चीन 'पानी पधेरोँ'जस्तै बनेको छ । यी दुई दलका ठूलो संख्यामा नेताहरू चीनमा गइरहेका हुन्छन् ।

पछिल्ला दिनहरूमा सीपीसीले नेपालका गैरकम्युनिस्ट पार्टीलाई पनि बोलाउन थालेको छ । २०७५ असोज २ गते नेपाली कांग्रेसका नेतृत्वमा १४ जना सांसदहरू सीपीसीको निमन्त्रणमा चीन पुगेका थिए ।

यसबीच सीपीसीले २०७९ को निर्वाचनपछि संसद्को चौँथो ठूलो शक्ति बनेको रास्वपाको जम्बो टोलीलाई चीन भ्रमणमा बोलाएको थियो ।

Tosima-1727353601.jpgरास्वपाका उपसभापति वाग्लेका अनुसार, चिनियाँ कम्युनिस्ट पार्टीले आठ महिनाअघि नै भ्रमणको निम्तो दिएको थियो । ०८० माघमा नेपाल भ्रमणमा आएका बेला सीपीसीकी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हायानले रास्वपालाई भ्रमणको निम्तो दिएकी थिइन् । तर, संसद्, पार्टीका गतिविधिका कारण भ्रमणलाई दसैँको मुखमा सारिएको थियो ।

पहिलो गासमै ढुंगा !

सीपीसीसँग सम्बन्ध सुधार गर्ने मामिलामा रास्वपालाई पहिलो गासमा नै ढुंगा लागेको छ । भ्रमणमा मुख्य तीन ऐजेन्डा रहेकामा राजनीतिक भेटघाटलाई थाती नै राखेर पर्किएको रास्वपाका नेताले बताएका छन् । परम्परागतभन्दा फरक भ्रमण भएको दाबी गर्दै रास्वपाका नेताहरूले विभिन्न क्षेत्रमा पुगेर प्राविधिक विषयको अवलोकन र प्राज्ञिक विमर्श भने गर्न भ्याएको जनाए 

तर, रास्वपाका नेताहरूले भ्रमणका लागि जसले उनीहरूलाई निम्ता दिएकी थिइन्, उनै उपमन्त्रीलाई नभेटी फर्किनुपर्‍यो ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, सीपीसीको उपमन्त्रीसँग बेइजिङमा भेट्ने कार्यक्रम पछिलाई सारिएको छ । पेकिङ युनिभर्सिटीको भ्रमण पनि पछिका लागि स्थगन गरिएको उनले बताए ।

Ganesh-Parajuli-1727353600.jpg
अब सीपिसीसँगको सम्बन्ध कस्तो रहला ?

पहिलो भ्रमण नै छोट्याउनुपर्दा रास्वपालाई चीनले हेर्ने नजर कस्तो होला भन्ने चर्चा पनि सुरु भएको छ । तर, रास्वपाले नेताहरूले चीनसँगको सम्बन्ध अप्ठेरोमा नपर्ने दाबी गरेका छन् ।

कार्यवाहक प्रवक्ता झाले सभापति लामिछाने सहकारीबाट रकम ल्याउनेमा दोषी नरहेको भन्दै समितिको प्रतिवेदनले ‘क्लिन चिट’ दिएकामा राजनीति दम्भका कारण पक्राउ गर्न लागिएको दाबी गरे । त्यो कुराले नेपालका नयाँ राजनीतिक दलमा कस्तो दबाब रहेछ भन्ने कुरा चिनियाँ पक्षले बुझ्ने मौका पाएको उनले जनाए ।

“भ्रमण छोट्याउनुपर्ने भयो, माफ गर्नुहोला भन्दै गर्दा उहाँहरूले चासो राख्नुभयो । देशको स्थिति कस्तो छ सोध्नुभयो । नेपालमा नयाँ पार्टीहरूलाई त पुराना दलहरूले सौहार्दपूर्ण राजनीतिक अभ्यास गरिरहेको रैनछ , नयाँ दलहरू तनाव र दबाबमा रहेछन् भन्ने कुरा उहाँहरूले जानकारी पाउनुभयो,” उनी भन्छन्, “भ्रमण छोट्याउनु परेकाले सम्बन्धमा अप्ठेरो पर्दैन ।”

Manisha-Jhaa-1727353600.jpg

उनले चिनियाँ पार्टीबाट आफूहरूले सोचेभन्दा राम्रो व्यवहार पाएको पनि सुनाए । “अपेक्षा गरेको भन्दा धेरै राम्रो व्यवहार पायौँ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको डाइरेक्टर नै भ्रमणकालमा सँगै रहनुभयो । हरेक एयरपोर्टमा राजकीय जस्तै सम्मानसहित रिसिभ र बिदाइ गर्नुभयो । महत्त्वका साथ सरोकार राख्नुभयो,” उनले बाह्रखरीसँग भने ।

भ्रमण छोट्याउने विषय राख्दा न्युयोर्कबाट चलखेल त भएको होइन ? भन्ने जिज्ञासा चिनियाँ पक्षले राखेको समेत उनको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका सहभागी हुने क्रममा अहिले अमेरिकाको न्युयोर्कमा छन् ।

“उहाँहरूले चासो देखाउनुभयो र चीन भ्रमणमा भएको बेलामा ‘न्युयोर्कबाट यस्तो आशय प्रकट भएको त होइन ? भन्ने प्रश्न राख्नुभयो,” कार्यवाहक प्रवक्ता झाले सुनाए । 

उनका अनुसार, सीपीसीकी उपमन्त्रीले फोन गरेर सम्बन्धमा कुनै अप्ठेरो नपर्ने भन्दै ढुक्क भएर फर्कन भनेकी थिइन् ।

“पार्टीमा अप्ठेरो पर्‍यो तपाईंहरू फर्किनुपर्‍यो भन्ने थाहा पाएँ । भेटलाई अर्को मौकामा निरन्तरता दिनुपर्छ । पार्टीमा तपाईंहरूको आवश्यकता छ भन्ने थाहा पायौँ, त्यो तपाईंहरूको धर्म हो,” उनले फोनमा भनेको भनाइ उद्धृत गर्दै झाले भने, “भ्रमण छोट्याएर जान लाग्नु भए पनि हामीबीचको कुनै किसिमको सम्बन्धमा असर गर्दैन, ढुक्क हुनुस् ।”

सीपीसाका प्रतिनिधिले आफ्नो सम्बन्ध भएका देशहरूमा राजनीतिक उतारचढाव आउने र त्यस्तो बेला चीन भ्रमणमा रहेका नेताहरूले भ्रमण छोट्याउने गरेको दृष्टान्तसमेत आफूहरूलाई सुनाएको झाले बताए । सीपीसीले यसलाई स्वाभाविक मानेको बुझाइ रास्वपाका नेताहरूको छ । 

यसअघि, सरकार परिवर्तन हुँदा र संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन हुँदा एमालेका नेताहरू भ्रमण छोट्याएर फर्किएको उनले बताए । नेम्वाङको निधन हुँदा महासचिव शंकर पोखरेलको टोली चीन भ्रमणमा थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro