काठमाडौं । “लिगमा सबैभन्दा राम्रो प्रदर्शन एपीएफकी मिडफिल्डर रेनुकाको छ । रेनुका सबैभन्दा कन्सिस्टेन्ट खेलाडी बनेकी छन्,” राष्ट्रिय महिला लिग–२०२४ को प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले एपीएफकी मिडफिल्डर रेनुका नगरकोटेको प्रदर्शनको तारिफ गरे ।
साविक विजेतासमेत रहेको एपीएफ स्वभावलै प्रतियोगिताको प्रवल दाबेदार हो । च्याम्पियनको लक्ष्यमा रहेको एपीएफले अब्बल साथ पाइरहेको छ, मिडफिल्डर रेनुकाबाट । दुईपटक चोटका कारण लामो समय मैदानबाहिर रहेकी रेनुकाका लागि लिग आफूलाई सावित गर्ने उत्कृष्ट मञ्च बनेको छ ।
“लिगमा रेनुकाको प्रदर्शन एकदमै राम्रो छ । हामीले प्रशिक्षणमा रेनुकालाई नै अघि धेरै फोकस गरेका छौँ । चोटका कारण लामो समय मैदानबाट बाहिर रहिन् । तर, कमब्याक राम्रो गरेकी छन् । मेहनत पनि गर्दै छिन्,” रेनुकाको पुनरागमन नजिकबाट नियालिरहेका एपीएफका प्रशिक्षक जिवेशकुमार पाण्डेले भने ।
लिग पहिलो चरण समाप्तको संघारमा हुँदा रेनुकाले तीन गोल गरेकी छन् । उनले रौतहटको चन्द्रपुर नगरपालिकाविरुद्ध दुई र स्याङ्जाको वालिङ नगरपालिकाविरुद्ध एक गोल गरेकी थिइन् । लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेकी रेनुकाको ‘कमब्याक’ सहज भने थिएन ।
दुईपटक एउटै चोटले मैदानबाट बाहिरिँदाको अनुभव
१९औँ एसियाली खेलकुदको तयारीका लागि बन्द प्रशिक्षणमा रहँदा असार २० गते रेनुकाको बायाँ क्ल्याभिकल बोन (घाँटीमुनिको हड्डी)मा चोट लाग्यो । असार २१ गते भएको शल्यक्रियापछि क्ल्यारिकल बोनमा स्टिल राखिएको थियो । चोटका कारण रेनुकाले ०७९ भदौ तेस्रो सातादेखि असोज पहिलो सातासम्म घरमै भएको साफ महिला च्याम्पियनसिप गुमाइन् । चोटले रेनुकालाई सात महिना मैदानबाहिर बस्न बाध्य बनायो ।
सात महिनापछि सोही वर्षको माघमा रेनुकाले राष्ट्रिय टिममा कमब्याक गरिन् । पहिलोपटक चोट निको भइसकेपछि एक वर्ष खेलिन् । त्यसबेलासम्म फ्याक्चर भएको ठाउँमा स्टिल राखिएको थियो । तर, रेनुकाको यो पुनरागमन एक वर्षभन्दा लामो समय टिक्न सकेन । भारतसँगको दुई मैत्रीपूर्ण फुटबल र चीनको हाङ्झाउमा भएको १९औँ एसियाली खेलकुदमा सहभागी भएर स्वदेश फिर्ता आएपछि अप्रेसन गरेर स्टिल झिकिन् । त्यसको एक महिनामै फेरि त्यही हड्डी भाँच्चियो । त्यसपछि उनमा झनै तनाव थपियो ।
एपीएफका प्रशिक्षकले पनि अब रेनुकाले पुनरागमन गर्न सक्छिन् भन्ने आश मारे । एउटै हड्डी दुईपटक ‘फ्याक्चर’ हुँदा भने रेनुकालाई असह्य भयो । तर, डेढ दशक लामो फुटबल करियरलाई चटक्कै छोड्न पनि रेनुकाको मन मानेन ।
“एउटै चोटका कारण दुईपटक फुटबलबाट टाढा रहन पर्यो । पछिल्लोपटकको भन्दा पनि अघिल्लोपटक इन्जर्ड हुँदाको समय निक्कै कठिन थियो । त्यो समय सम्झिन पनि मन छैन,” चोटका कारण लामो समय मैदान बाहिर बिताउँदाका दिन रेनुका यसरी सम्झिन्छिन्, “दोस्रोपटक घाइते हुँदा एपीएफकै प्रशिक्षकले पनि अब मलाई फुटबलमा फर्किन सक्दिन भन्नुभएको रहेछ । तर, मैले पुनरागमन गर्दा खुसी हुनुभएको थियो । दोस्रोपटक चोट लाग्दा आफैँलाई पनि सक्दिनँ कि भन्ने लागेको थियो । तर, मेहनत हो सबै कुरा ।”
११ वर्षे उमेरदेखि फुटबल सुरु, स्कुलमै हुँदा राष्ट्रिय टिमबाट ‘डेब्यू’
रौतहट चन्द्रपुरकी रेनुकाले आफ्नो बाल्यकालमा टोलका केटाहरूसँग खेल्दै फुटबलमा पाइला राखिन् । घरनजिकै फुटबल मैदान हुँदा अपराह्नमा केटाहरू आउँदा रेनुका पनि पुग्थिन् । त्यही बेला शेरबहादुर दर्लामी (रौतहट महिला फुटबलका पूर्वप्रशिक्षक) महिला फुटबलका निम्ति घर–घरमा पुगेर केटीहरूको नाम टिप्न थाले ।
प्रशिक्षक दर्लामी घरमा आउँदा अभिभावकले दिदी आशा नगरकोटेको नाम टिपाए । तर, रेनुकालाई खेल्ने अनुमति दिएनन् । दिदी प्रशिक्षणमा जाँदा आफू पनि रुँदै जान्छु भनेको अहिले पनि रेनुकाको स्मृतिमा ताजै छ ।
“शेरबहादुर गुरु आउँदा घरबाट दिदीको नाम मात्रै टिपाउनुभयो । मलाई खेल्न दिनुभएन,” रेनुका सम्झिन्छिन्, “घरले नमाने पनि रोएर भए पनि खेल्न जान्थेँ । अरू त केही हैन, म एकदमै सानी र धेरै बिरामी भइराख्ने हुँदा यसले सक्दिनँ भन्नुहुन्थ्यो ।”
तर, विस्तारै दिदीसँग जाँदा घरबाट रोक–तोक गर्न छोडे । खेल्दै जाँदा नाम आउन थाल्यो । अनि घरबाट पनि सहयोग पाउन थालिन् उनले । फुटबल सुरु गर्दा उनी ११ वर्षको मात्रै थिइन् । घर नजिकै रहेको श्री दुर्गा माध्यमिक विद्यालयमा ६ कक्षामा पढ्थिन् । कद सानो भए पनि मेहनती प्रकृतिका कारण उनले 'शेरबहादुर गुरु'बाट पनि विशेष साथ पाइन् । फुटबल प्रशिक्षणमा पाइला राखेको चार वर्षमै उनले राष्ट्रिय टिमसम्मको यात्रा तय गरिन् । राष्ट्रिय टिममा छनोट हुँदा रेनुका कक्षा १० मा पढ्दै थिइन् ।
“फुटबल खेल्न सुरु गर्दा ११ वर्षको थिएँ । २०१० को साफ च्याम्पियनसिपमा नेपालबाट ‘डेब्यू’ गरेँ । त्यसबेला म १५ वर्षको थिएँ । म विभागमा पनि अनुबन्ध भएको थिइनँ । रौतहटमै खेल्दा नै राष्ट्रिय टिममा परेँ । अहिले त फुटबलमै लागेको पनि १८ वर्ष भइसक्यो,” रेनुका भन्छिन् ।
१५ वर्षको उमेरदेखि नै राष्ट्रिय टिमको नियमित सदस्य बनेपछि भने रेनुकालाई फुटबलबाहेक अरू सोच्ने समय भएन । उनले औपचारिक अध्ययनलाई प्लस टूपछि निरन्तरता दिन सकिनन् । चोटले लामो समय मैदानबाट बाहिरिनुअघिसम्म रेनुकाले कप्तानी आर्मब्यान्डसहित राष्ट्रिय टिमको नेतृत्वसमेत सम्हालिन् । सन् २०१६ मा अनु लामापछि रेनुकाले राष्ट्रिय टिमको कप्तानी जिम्मेवारी पाएकी थिइन् ।
दिदी आशासँगै फुटबलमा लागेकी रेनुकालाई त्यसबेला अनु लामा र लक्ष्मी पौडेलले विभागीय टिमबाट खेल्दा आफू पनि एपीएफ जाने हुटहुटी जाग्यो । अनुबाट प्रभावित रेनुकाले एपीएफलाई आफ्नो लक्ष्य नै बनाइन् । त्यसलाई पछ्याउँदै उनले २०११ मा एपीएफबाट पहिलोपटक करारमा एक वर्ष खेलिन् । एक वर्षपछि एपीएफ छोडेर आर्मीबाट पनि करारमा एक वर्ष खेलिन् रेनुकाले । तर, त्यसपछि फेरि एपीएफमै फर्किइन् । फर्किएको तीन वर्ष करारमा खेलिन् । त्यसपछि भने उनी सशस्त्र जागिरे भइन् । अहिले उनी एपीएफमा जागिरे भएको नै नौ वर्ष पुगिसक्यो ।
आफू फुटबलमा लाग्नुको सबै श्रेय स्वर्गीय 'शेरबहादुर गुरु'लाई दिन्छिन्, रेनुका । महिला फुटबलको उर्वर भूमिको परिचित चन्द्रपुर (तत्कालीन चन्द्रनिगाह, चपुर)मा मरणोपरान्त पनि उच्च सम्मानित नाम हो, शेरबहादुर दर्लामी । दर्लामीको एकल प्रयासमा स्थापित चपुर महिला टोलीको प्रदर्शन निरन्तर ओरालो लाग्दा रेनुका पनि चिन्तित छिन् ।
“मेरो लागिमात्र नभई चपुरबाट जति पनि खेलाडी निस्किए त्यो सबैको श्रेय शेरबहादुर गुरुलाई नै जान्छ । चपुरमा महिला फुटबलको जग बसाउने नै शेरबहादुर गुरु हुन् । सानैदेखि मलाई एकदमै सर्पोट गर्नुहुन्थो । बुट, जर्सीदेखि दशैँमा सपिङ गर्न पनि गुरुले नै लग्नुहुन्थ्यो । गुरुले नै गरेर म आज यहाँसम्म आइपुगेकी हुँ,” उनी भन्छिन्, “पहिला हेरि चपुरको खेल खस्किएको छ । महिला फुटबलका लागि चपुर सबैभन्दा उर्वर भूमि हो । त्यहाँभित्र के भइरहेको छ भन्ने थाहा भएन । यसमा खेलाडी, प्रशिक्षण टोली र व्यवस्थापन निकाय सबै जिम्मेवार छन् जस्तो लाग्छ ।”
‘अस्ट्रेलियाको भिसा आएको थियो, तर गइनँ’
नेपाली पुरुष फुटबलको पछिल्लो ट्रेन्डअनुसार उनी पनि विदेश जाने प्रयासमा लागिन् । आफ्नो सीभी (करिकुलम भिटा) बनाइन् । अस्ट्रेलिया जान प्रक्रिया अघि बढाइन् । भिसा आयो पनि । तर, भिसा आउँदासम्म उनको मन परिवर्तन भयो । उनले देशमै बस्ने निर्णय लिइन् ।
“विदेश जान भनेर सीभी बनाएकी थिएँ । अस्ट्रेलियाको भिसा पनि आएको थियो । तर, धेरै कुराहरू सोचे अनि आफैँले नजाने निर्णय गरेँ,” रेनुकाले भनिन् ।
अहिले लिगमा आफ्नो पुनरागमन उदाहरणीय बनाइरहेकी रेनुकालाई लाग्छ, यो लिग धेरै खेलाडीहरूका निम्ति आफूलाई प्रमाणित गर्ने अवसर हो । उनी लिगकै जसरी राष्ट्रिय टिममा उत्कृष्ट पुनरागमन गर्नेमा दृण छिन् ।
“म चोटका कारण लामो समय मैदानबाट बाहिर रहेको भएर पनि होला । यो लिगले आफूलाई प्रमाणित गर्ने अवसर दिएको छ,” उनी भन्छिन् ।
साफ जित्ने धोको
सन् २०१० देखि सुरु भएको दक्षिण एसियाली महासंघ महिला कप (साफ) च्याम्पियनसिपमा नेपाली टिमको प्रदर्शन उत्कृष्ट छ । तर, उपाधि जित्न सकेको छैन । प्रतियोगिताका ६ संस्करणमध्ये पाँचपटक फाइनल खेले पनि सधैँ उपविजेतामा चित्त बुझाउनुपरेको नमिठो इतिहास छ, नेपाली महिला फुटबल टिमको ।
साफको पहिलो संस्करण खेले पनि रेनुकाले २०१२ को संस्करण भने गुमाइन् । २०१६ मा सेमिफाइनलबाट बाहिरिँदा र २०१९ को फाइनलसम्म पुग्दा नेपालको नेतृत्व रेनुकाले नै सम्हालेकी थिइन् । बुट थन्क्याउनुअघि रेनुकाको सपना छ, महिला फुटबलको दक्षिण एसियाली च्याम्पियन बन्ने ।
“राष्ट्रिय टिममा सानदार कमब्याक गर्ने र साफको उपाधि जित्ने लक्ष्य छ । सधैँ उपविजेतामात्रै भएका छौँ, यसपटक जित्नुपर्छ भन्ने भावना छ,” रेनुका सुनाउँछिन्, “यो लिगले धेरै चोटपछि कमब्याकका निम्ति ठाउँ खोजिरहेका र अरू नयाँ प्रतिभाहरू अघि ल्याएको छ । यसले साफ च्याम्पियनसिपमा धेरै सहयोग पुग्नेछ ।”