काठमाडौं । सन् २०२४ को नौ महिनामा (जनवरीदेखि सेप्टेम्बरसम्म) सबैभन्दा धेरै डेंगी संक्रमित थपिएका छन् । सेप्टेम्बरमा काठमाडौंमा पनि संक्रमण बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक छ । तर, संक्रमण उच्च भएर अवस्था भयावह भने नबनेको ईडीसीडीले जनाएको छ ।
२३ दिनमा थपिए झन्डै ६ हजार संक्रमित
यो वर्ष जनवरीयता सेप्टेम्बरमा सबैभन्दा धेरै डेंगी संक्रमित थपिएका छन् । १ सेप्टेम्बरदेखि २३ सम्म पाँच हजार ७८० जना संक्रमित थपिएका छन् । डेंगी संक्रमितको संख्या पछिल्ला तीन महिनायता उकालो लागेको हो ।
जुलाईअघि मासिक रूपमा संक्रमित हुनेको संख्या एक हजारभन्दा कम थियो । जुलाईमा एक हजार १३१, अगष्टमा चार हजार २४४ हुँदै सेप्टेम्बरका २३ दिनमा ( १ देखि २३ सेप्टेम्बरसम्म) पाँच हजार ७८० संक्रमित छन् । योसँगै देशभर डेंगी संक्रमितको संख्या १२ हजार ६४४ पुगेको छ । डेंगी संक्रमण सबैभन्दा धेरै यिनै तीन महिनामा बढ्ने गरेको ईडीसीडीको रेकर्डले देखाउँछ ।
अगष्ट सेप्टेम्बरमा सबैभन्दा धेरै संक्रमित
गत वर्षहरूमा पनि जुलाईदेखि सेप्टेम्बरसम्म संक्रमण उच्च भई अक्टोबरपछि ओरालो लागेको ईडीसीडीको तथ्यांक छ । सन् २०२३ को अगष्टमा सबैभन्दा धेरै १४ हजार ५३२ जना संक्रमित भएका थिए । त्यसपछि क्रमशः संक्रमण घट्दै गई सेप्टेम्बरमा १३ हजार ५४७, अक्टोबरमा १२ हजार ४८८, नोभेम्बरमा २१२२ को संख्यामा झरेको थियो ।
सन् २०२२ को सेप्टेम्बरमा पनि सबैभन्दा धेरै संक्रमित देखिएको तथ्यांक छ । ईडीसीडीका अनुसार सो वर्ष सेप्टेम्बरमा २७ हजार ५२९ पुगेको थियो । अगष्टमा यो संख्या तीन हजार ७०८ मा सीमित थियो । सो वर्ष अक्टोबरमा १७ हजार ८८९ जना संक्रमित भई नोभेम्बरमा पाँच हजारभन्दा कम भएको थियो ।
हालसम्मको रेकर्डले अगष्ट र सेप्टेम्बरमा नै सबैभन्दा धेरै डेंगी संक्रमित भएको देखाएको छ । यी दुई महिनामा लामखुट्टेको वृद्धि विकास बढी हुने भएकाले पनि अन्य महिनाको तुलनामा संक्रमण बढ्ने गरेको ईडीसीडीका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहाल बताउँछन् ।
काठमाडौंमा संक्रमण उच्च भएको हो त ?
सेप्टेम्बरमा काठमाडौंमा डेंगी संक्रमण बढेको भए पनि भयावह अवस्था नबनेको अधिकारीहरू बताउँछन् । ईडीसीडीका अनुसार संक्रमितको संख्याको आधारमा काठमाडौं अहिले तेस्रो नम्बरमा छ । पहिलोमा कास्की र दोस्रोमा तनहुँ छन् ।
कास्की एक हजार ९०३, तनहुँमा एक हजार ६४५ जना संक्रमित भएका छन् । काठमाडौंमा एक हजार ५४० जना संक्रमित भएका छन् । काठमाडौंमा पछिल्लो सातामात्रै २९४ जना संक्रमित थपिएको ईडीसीडीको तथ्यांक छ ।
सेप्टेम्बरका २३ दिनमा काठमाडौंमा ९९१ जना संक्रमित थपिएका छन् । यही अवधिमा ललितपुरमा २३४ र भक्तपुरमा ९४ जना संक्रमित भएका छन् ।
काठमाडौंमा संक्रमण बढेसँगै स्थानीय तह र स्वास्थ्य कार्यालयहरूलाई सजग तथा सक्रिय गराइएको डा. दाहालले बताए । काठमाडौंमा सेप्टेम्बरमा तुलनात्मक रूपमा डेंगीका बिरामी बढे पनि डरलाग्दो अवस्था भने नभएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा. अर्जुन सापकोटा बताउँछन् । तर, यो संख्या उच्च भएर जाने सम्भावना कम रहेको उनको भनाइ छ ।
अक्टोबर अन्तिमसम्म नै डेंगीको जोखिम
डेंगी संक्रमितको संख्या अगष्ट सेप्टेम्बरमा उच्च भए पनि संक्रमणको जोखिम भने अक्टोबर अन्तिमसम्म नै रहने ईडीसीडीले जनाएको छ । डा. दाहालका अनुसार मनसुनको सुरुआतमा त्यसअघिदेखि नै जम्मा भएर बसेका लामखुट्टेका अण्डा प्रजनन् हुने भएकाले त्यो मौसममा संक्रमण बढी देखिन्छ ।
ठूलो पानी पर्दा लार्भाहरू बगाएर लैजाने भए पनि पानी पर्ने, घाम लाग्ने भइरहँदा लार्भा विकास हुन अनुकूल तापक्रम बन्ने भएकाले अगष्ट सेप्टेम्बरमा लामखुट्टेको वृद्धि विकास बढी हुन्छ । “यो तथ्यका आधारमा अगष्ट र सेप्टेम्बरमा संक्रमण उच्च जोखिम भए पनि अक्टोबर अन्तिमसम्म नै संक्रमण फैलिनसक्ने देखिन्छ, मौसमले पनि यसलाई फेभर गर्छ,” उनले भने ।
के डेंगी सार्ने लामखुट्टेले रातमा टोक्दैन ?
डेँगी संक्रमण ‘एडीस एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातीका पोथी लामखुट्टेको टोकाइबाट सर्छ । यो लामखुट्टे बिहान घाम उदाएको दुई घण्टापछिसम्म र साँझ घाम अस्ताउनुभन्दा दुई घण्टाअघि बढी सक्रिय हुन्छ । एडिस दिउँसोको समयमा आराम गर्ने र यही समयमा सक्रिय हुने हुनाले रातमाभन्दा दिनमा जोखिम हुने डा. दाहाल बताउँछन् । राति वा अन्य समयमा नटोक्ने भने होइन ।
डेंगी सार्ने लामखुट्टे सक्रिय हुनका लागि अहिलेको मौसम सबैभन्दा उपयुक्त वातावरण भएको विज्ञहरू बताउँछन् । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार यो लामखुट्टेलाई प्रजनन् प्रक्रियाका लागि प्रोटिनको धेरै आवश्यकता पर्दछ, प्रोटिन जम्मा पार्न एकै पटकमा यसले चारदेखि पाँचजनासम्मको रगत चुस्ने गर्छ । त्यसैले डेंगी व्यक्तिबाट व्यक्तिमा नसरे पनि एउटै संक्रमित लामखुट्टेले परिवार वा वरीपरी रहेका धेरैजनालाई टोकेमा एकैपटक संक्रमितको संख्या बढ्नसक्ने हुन्छ ।
यो लामखुट्टे चार सय मिटर वरपरसम्म उड्नसक्छ र यो सफा पानीमा बस्दछ । मानिसको शरीरको गन्ध थाहा पाउने भएकाले यो लामखुट्टे प्राय मानिसकै आसपास रहन्छ तर, लार्भा भने सफा पानीमा पार्दछ । देख्नमा छिर्केमिर्के देखिने यो लामखुट्टेको लार्भा जम्मा गरेर राखिएको पानी, प्लाष्टिकमा जमेको पानी, गमलाको पानी आदिमा रहन्छ र नयाँ लार्भा पनि डेंगी सार्ने भाइरसबाट संक्रमित हुन्छ र मानिसमा सार्नसक्छ । त्यसैले डेंगी संक्रमण हुन नदिने प्रमुख उपाय नै लामखुट्टेको टोकाइबाट बच्नु भएको विज्ञहरू बताउँछन् ।