site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हिजबुल्लाह इजरायलविरुद्ध एक्लै खडा हुन सक्दैन : इरानी राष्ट्रपति
तस्बिर : एपी

तेहरान । इरानका राष्ट्रपति मसूद पेजेस्कियनले मंगलबार हिजबुल्लाह इजरायल आक्रमणविरुद्ध एक्लै खडा हुन नसक्ने बताएका छन् । 

“पश्चिमी मुलुक, युरोपेली देश र संयुक्त राज्य अमेरिकाबाट सुरक्षा र समर्थन प्राप्त भइरहेको देशविरुद्ध हिजबुल्लाह एक्लै खडा हुन सक्दैन,” पेजेस्कियनले सीएनएनसँगको अन्तर्वार्तामा भने ।  

उनले 'लेबनानलाई अर्को गाजा बन्न नदिन' अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । लेबनानमा सोमबार भएको इजरायली हमलामा ३५ बालबालिकासहित करिब ५०० जनाको मृत्यु भएको देशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

इजरायलले दक्षिणी पूर्वी लेबनानका करिब एक हजार ६ सय स्थानमा आक्रमण गर्दा 'ठूलो संख्यामा' हिजबुल्लाहका लडाकुहरू मारिएको बताएको छ । यसमा बेरुतमा 'लक्षित आक्रमण' पनि समावेश थियो । इजरायली सेनाले यसलाई 'अपरेसन नर्दन एरो' भनेको थियो ।

इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई इजरायलविरुद्ध 'तत्काल कारबाही गर्न' आह्वान गरेको छ । 

“इरान उदासीन रहनेछैन,” विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समा भने, “हामी लेबनान र प्यालेस्टाइनका जनताको साथमा उभिएका छौँ ।” 

हिजबुल्लाहको सञ्चार उपकरणलक्षित आक्रमणमा ३९ जनाको मृत्यु भएको र लगभग तीन हजार घाइते भएको एक हप्ताभन्दा पनि कम समयमा इजरायली आक्रमणहरू सुरु भएका हुन् । 

संयुक्त राष्ट्र संघको वार्षिक महासभाका लागि न्युयोर्क भ्रमणमा रहेका पेजेस्कियनले इजरायललाई युद्धोन्मादको आरोप लगाएका छन् । 

“यदि मध्यपूर्वमा ठुलो युद्ध भयो भने यसले विश्वव्यापी रूपमा कसैलाई फाइदा पुर्‍याउने छैन भन्ने कुरा हामी सबैलाई राम्रोसँग थाहा छ,” पेजेस्कियनले गोलमेज सम्मेलनमा सञ्चारकर्मीलाई भने, “इजरायलले व्यापक द्वन्द्वको अवस्था सिर्जना गर्न खोज्दैछ ।” 

इरानले विगत १०० वर्षमा कहिल्यै युद्ध सुरु नगरेको उनले बताए । तर, कसैलाई पनि इरानी सुरक्षा र क्षेत्रीय अखण्डतालाई खतरामा पुर्‍याउने अनुमति नभएकोमा उनले जोड दिए । रासस/एएफपी

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro