site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
राजनीतिक विषयमा चलचित्र बनाएको भन्न किन डराउँछन् निर्देशक/निर्माता ?

काठमाडौं । निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ गत वर्ष तिहारको छेको पारेर रिलिज गरियो । यो सिनेमाले उठान गरेको विषय के थियो ? चलचित्र हेर्नेलाई त थाहा हुने नै भयो । सिनेमा नहेर्ने तर समाचार मात्र ‘फलो’ गर्नेहरू यो चलचित्रको विषयमा अझै भ्रममै छन् । 

कसरी ? 

चलचित्र प्रचारका क्रममा निर्देशक निश्चल र कलाकारले सिनेमाले सामाजिक विषय उठान गरेको बताएका थिए । सञ्चारकर्मीले ‘सिनेमाको प्रचारात्मक कन्टेनले त राजनीतिक सिनेमाको छनक दिन्छ नि ?’ भनेर प्रश्न गर्दा पनि उनीहरूले आफूहरूको चलचित्रले राजनीतिक विषय उठान नगरेको बताएका थिए ।

Dabur Nepal
NIC Asia

तर, हलमा गएर हेर्दा चलचित्रले राजनीतिक विषय उठान गरेको देखियो । पछिल्लो स्थानीय तहको निर्वाचनलाई चलचित्रको मुख्य विषय बनाइएको थियो ।

हाल हलमा प्रदर्शित ‘खुस्मा’का निर्देशक तथा कलाकारले पनि यो चलचित्र लभस्टोरी भएको बताएका थिए । तत्कालीन ‘सरकार–माओवादी द्वन्द्वको विषयमा चलचित्र हो ?’ भन्ने प्रश्नमा निर्देशक अशोक थापामगरले भनेका थिए, त्यो विषय सिनेमाले छोएको छैन ।

हलमा गएर हेर्दा यो पनि राजनीतिक विषय उठान गरिएको चलचित्र देखियो ।

यी त भए दुई वर्षका एक/एक चलचित्रका उदाहरण । यस्ता थुप्रै चलचित्र छन्, जसमा राजनीतिक विषय उठान गरिन्छ । तर, रिलिजअगाडिको प्रचारप्रसारमा सिनेमाले राजनीतिक विषय उठान नगरेको निर्माता/निर्देशक बताउँछन् ।

राजनीतिक विषय उठान गरेको भनेर प्रचार गर्दा के हुन्छ ? मेकरमा राजनीतिक विषय उठान गरिएका चलचित्र चल्दैनन् भन्ने मनोविज्ञानले काम गरिरहेको निर्देशक दिनेश राउत बताउँछन् ।

“राजनीतिक सिनेमा चल्दैनन् भन्ने मनोविज्ञानले हामी मेकरमा काम गरिरहेको छ । आमजनता राजनीतिदेखि फ्रस्टेड छन् । चलचित्रमा पनि त्यही राजनीति नै हेर्न के जानु भन्ने दर्शकले सोच्छन् भन्ने बुझाइ मेकरमा छ,” दिनेश भन्छन्, “यही बुझाइका कारण राजनीतिक विषय हो भनेर प्रचार नगरौँ भन्ने भ्रम छ ।”

राजनीतिक विषयको चलचित्र हेर्न के जानु भनेर दर्शकले भनेको खण्डमा इनिसियल बिजनेसमै असर गर्छ भन्ने मनोविज्ञान मेकरमा रहेको उनी सुनाउँछन् । “राजनीतिक विषय छ भनेर दर्शकले थाहा पाए इनिसियल कलेक्सनमा फरक पर्छ भन्ने छ,” उनी भन्छन्, “यदि, इनिसियल बिजनेसमै नकारात्मक असर गर्‍यो भने वर्ड अफ माउथ पनि राम्रो नहुने र त्यसको असर चलचित्रको पूरै बिजनेसमै पर्छ भन्ने बुझाइले काम गरिरहेको छ ।” शुक्रबार नै चलचित्र नचले पिकअप लिन कठिन हुने उनको भनाइ छ ।  

चलचित्र राम्रो भए विषयवस्तुले केही असर नगर्ने दिनेश बताउँछन् । चलचित्र नै राम्रो हुनुपर्ने पहिलो सर्त भएको उनको धारणा छ ।

“सबैभन्दा मुख्य कुरा विषय के हो भन्दा पनि चलचित्र कस्तो बनेको छ भन्ने हो,” उनी अगाडि थप्छन्, “चलचित्र राम्रो भयो भने विषय र जानराले केही फरक पार्दैन । चलचित्र राम्रो भयो भने जुनसुकै विषय र जानराको चलचित्र पनि दर्शकले हेर्छन् ।”

उनी यसको उदाहरणका रूपमा ‘छक्का पञ्जा’लाई लिन्छन् । निर्माता तथा मुख्य कलाकार दीपकराज गिरीले आफूले राजनीतिक विषयमा चलचित्र बनाएको बताएका थिए । सिनेमाको प्रचार तथा अन्तर्वार्ताहरूमा नै उनले आफूले व्यंग्य गर्न राजनीतिक विषयमा चलचित्र बनाएको सुनाएका थिए ।

दीपकले राजनीतिक विषयवस्तु उठाएको बताए पनि यो चलचित्रले उच्च ग्रसकलेक्सन गरेको थियो । त्यसैले विषय के र जानरा कुनभन्दा पनि चलचित्र कस्तो बनेको छ, त्यसले बिजनेस निर्धारण हुने र दर्शकले हेर्ने/नहेर्ने निर्णय गर्ने उनी स्पष्ट पार्छन् ।

चलचित्र निर्देशक, वितरक तथा कलाकार अशोक शर्मा आमदर्शकले राजनीति र दलका नेता मन नपराउने भएकाले त्यस्तो विषयमा चलचित्र बनेको छ भनेर मेकरले नभनेको हुन सक्ने बताउँछन् । “अधिकांश दर्शक राजनीति र नेतालाई मन पराउँदैनन् । त्यसैले राजनीतिक सिनेमा भनेपछि यिनै नेताहरूका विषय होलान् भनेर हेर्न जाँदैनन् भन्ने मेकरमा रहेको पनि हुनसक्छ,” अशोक भन्छन् ।

विषयवस्तु खुलाएर प्रचार गर्ने अथवा नखुलाई त्यो मेकरको विवेकमा भर पर्छ । विषयवस्तु नखुलाई उत्सुकता सिर्जना गर्दै पनि कतिपय मेकरले चलचित्र बनाउने गरेको उनी बताउँछन् ।

“कसैले बेस्ड अन ट्रु स्टोरी भनेर कुन घटना भनेर प्रस्टै खुलाइदिन्छन् । कतिले वास्तविक घटना भने पनि कुन भनेर खुलाउँदैनन्,” अशोक भन्छन्, “मेरो व्यक्तिगत कुरा गर्दा म स्टोरी नखुलाई सिनेमाको प्रचार गर्न रुचाउँछु ।”

जुनसुकै विषय र जानरामा चलचित्र बनाइए पनि राम्रो भए दर्शकले मन पराउनेमा उनी जोड दिन्छन् । “दर्शकले विषय होइन, चलचित्र हेर्ने हो । कथा र विषय जुनसुकै भए पनि त्यो कति इंगेजिङ र कथ्यशैली कस्तो छ भन्ने हो,” अशोक अगाडि थप्छन्, “दर्शक हलमा विषय, जानरा होइन, राम्रो सिनेमा हेर्न आउने हो । राम्रो चलचित्र बनाए दर्शकले हेर्छन् ।”

कुन सिनेमा चल्छ/चल्दैन भन्ने कहिल्यै निश्चित नहुने उनी जिकिर गर्छन् । कुनै सिनेमा राम्रो भएर पनि नचल्ने, कुनै औसत चलचित्र पनि राम्रोसँग चल्ने गरेको उनी सुनाउँछन् ।

“कुनै चलचित्र राम्रो कथ्यशैलीले चल्छन् । कुनै राम्रा कलाकार भएर चल्छन् । तर, सबै चलचित्र राम्रा कलाकार मात्रै भएर पनि चल्दैनन् । राम्रो विषयवस्तु हुँदाहुँदै पनि चल्दैनन्,” अशोक भन्छन्, “निष्कर्ष के हो भने समग्रमा राम्रो चलचित्र मन पर्ने हो । रिलिजअगाडि विषयवस्तु भन्दैमा वा नभन्दैमा चलचित्र चल्छ भन्ने हुँदैन ।”

निर्देशक सुजित बिडारी नेपाली समाजमा बदनाम भइसकेको विषयलाई चलचित्रमा उठाउँदा असर पर्ने डर मेकरमा रहेको हुन सक्ने बताउँछन् । “चलचित्र चलिसकेपछि म तटस्थ छु भनेर जस्टिफाइ गर्न सजिलो हुन्छ,” सुजित भन्छन्, “त्यसैले चलचित्र रिलिजअगाडि यो जोखिम नउठाऊँ भनेर पनि सुरुमा राजनीतिक विषयको चलचित्र हो भनेर नभनेको हुनसक्छ ।”

भारतमा राजनीति र धर्ममा अतिवाद रहेको भन्दै उनी कतिपय विषय उठान गरेकै आधारमा मेकरलाई ‘बाइकट’ अभियान चलाउने ट्रेन्ड रहेको उल्लेख गर्छन् । त्यसको असर नेपाली मेकरमा पनि देखिएको हुन सक्ने उनको अनुमान छ ।

“नेपाली समाजमा यसै पनि राजनीति बदनाम छ । त्यसमा पनि हलमा त्यही बदनाम भएको विषयको चलचित्र हेर्न किन जानु भन्ने मानसिकताले पनि काम गरिरहेको छ भन्ने लाग्छ,” सुजित भन्छन्, “बदनाम आफैँमा नराम्रो शब्द हो । यदि, दर्शक सुरुमै जजमेन्टल भइदिए बहिष्कार हुनसक्छ भन्ने डरले पनि काम गरेको छ जस्तो लाग्छ । त्यसैले राजनीतिक सिनेमा होइन भन्नु बाध्यता र डर दुवैले काम गरेको छ ।”

कलाकार तथा निर्देशक हार्डकोर राजनीतिका विषयमा कुनै पार्टीका पक्षमा बोल्दा नागरिकको बहिष्कारमा परिने डर हुने गरेको उनी सुनाउँछन् । “चलचित्रमार्फत एजेन्डा नै उठाउने मेकर पनि हुनुहुन्छ, यो आफैँमा नराम्रो पनि होइन । राम्रोसँग बनाउन सकियो भने दर्शकले मन पराउँछन्,” सुजित भन्छन्, “तर, यसका लागि पनि आँट नै चाहिन्छ ।”

कस्तो चलचित्रलाई पोलिटिकल भन्ने यसमा पनि बहस गर्न सकिने उनी बताउँछन् । दलका विषयमा बनाइएका चलचित्रलाई मात्र राजनीतिक सिनेमा भन्ने कि ! अथवा, विषयप्रसंगले राजनीतिक विषय उठान गरिएका चलचित्रलाई पनि पोलिटिकल सिनेमा भन्ने ? यसमा फरक–फरक बुझाइ हुन सक्ने उनको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro