site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आविष्कार केन्द्रले धमाधम मर्मत गर्दै छ तीन अस्पतालका उपकरण 
फाइल तस्बिर/ आविस्कार केन्द्रको साइटबाट

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सम्झौताअनुसार राष्ट्रिय आविष्कार केन्द्रले अस्पतालका उपकरण मर्मतको काम धमाधम अघि बढाएको छ । केन्द्रले हाल तीन अस्पतालसँग सम्झौता गरी मर्मतको काम गरिरहेको छ । योसँगै सरकारी अस्पतालमा वर्षौँदेखि थन्किएका उपकरण प्रयोगमा आउन थालेका छन् ।

वीरमा तीन दिनमा बनाइयो महिनौँदेखि थन्किएका उपकरण

राष्ट्रिय आविष्कार केन्द्र र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बीच गएको भदौ १८ गते उपकरण मर्मत तथा व्यवस्थापनको सम्झौता भएको थियो । लगत्तै काम सुरु गरेको केन्द्रले वीर अस्पतालमा पाँच भेन्टिलेटर र एउटा सी आर्म मेसिन मर्मत गरिसकेको छ ।

Dabur Nepal
NIC Asia

वीर अस्पतालका अनुसार, ती उपकरण झन्डै सात महिनादेखि मर्मत अभावमा थन्किएका थिए । ती उपकरण मर्मत गर्न आफ्नो टिमलाई तीन दिन लागेको केन्द्रको बायोमेडिकल इन्जिनियरिङ विभाग प्रमुख उमेश राईले जानकारी दिए ।

सी आर्म शल्यक्रियाका क्रममा प्रयोग गरिने एकप्रकारको एक्सरे मेसिन हो । यसबाहेक अक्सिजन प्लान्ट मर्मतका निम्ति अवस्था अवलोकन भइरहेको राईले बताए ।

a1-1727156478.jpg
कान्तिमा पनि सम्झौता 

गएको भदौ ५ गते स्वास्थ्य मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच संघ मातहतका १७ अस्पतालका उपकरण मर्मतसम्भार र व्यवस्थापन गर्नेबारे सम्झौता भएको थियो । केन्द्रको टिमले पहिलो चरणमा अस्पताल पुगेर मर्मत गर्नुपर्ने अवस्थाका उपकरणको विवरण संकलन गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

त्यसपछि चरणबद्ध रूपमा तिनको मर्मतमा लाग्ने लागत खर्च, केन्द्रबाट बन्न सक्ने÷नसक्नेलगायत अवस्थाको विश्लेषण र मर्मतको काम अघि बढाइने सम्झौतापत्रमा उल्लेख छ । बाहिरबाट पार्टपुर्जा मगाउनुपरे वा बाहिर पठाउनुपरे पनि केन्द्रले ‘रिफर’ गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

सोहीअनुसार केन्द्रले असोज ३ गते कान्ति बाल अस्पतालसँग पनि उपकरण मर्मतको सम्झौता गरेको छ । हाल कान्तिमा उपकरणको अवस्था अवलोकन र मूल्यांकनको काम भइरहेको राईले जानकारी दिए ।

a2-1727156501.jpg
पाँच महिनामा २८३ उपकरण मर्मत

स्वास्थ्य मन्त्रालयसँग सम्झौता हुनुअगावै केन्द्रले गंगालाल राष्ट्रिय हृदय केन्द्रसँग उपकरण मर्मतमा सहकार्य गरिरहेको थियो । पाँच महिनाअघि सम्झौता भएपश्चात् केन्द्रले गंगालालका २८३ उपकरण मर्मत गरिसकेको छ । 

तीमध्ये १६८ उपकरण काम नलाग्ने भनेर ‘डम्प’ गरिएको थियो । मर्मतपछि ती उपकरण प्रयोगमा आइरहेको अस्पतालले जनाएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रको बायोमेडिकल इन्जिनियरिङ विभाग प्रमुख राईका अनुसार, पाँच महिनाको अवधिमा गंगालालमा ७२ सिरिन्ज पम्प, २१ ईसीजी मेसिन, १५ भेन्टिलेटर, नौ अल्ट्रासाउन्ड मेसिनलगायत उपकरण मर्मत गरिएको छ ।

कति छ केन्द्रसँग प्राविधिक जनशक्ति ?

राष्ट्रिय आविष्कार केन्द्रमा बायोमेडिकल इन्जिनियर र प्राविधिक जनशक्ति गरी १० जनाले कोरोनाकालदेखि नै स्वास्थ्य उपकरणमा निरन्तर काम गरिरहेका थिए । सरकारी अस्पतालसँग सम्झौता गरिएपछि उक्त विभागमा नौ प्राविधिक थपिएका छन् ।

“अहिले १९ जनाको टिमले काम गरिरहेका छौँ । धेरैजसो साइटमा नै गएर काम गर्छौँ । केहीलाई केन्द्रमा पनि ल्याउँछौँ । बाहिर पठाउनुपरे रिफर गर्छौँ,” राईले बाह्रखरीसित भने ।

यसबाहेक मनमोहन कार्डियोथेरासिस भाष्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, भक्तपुर अस्पताल, नारायणी अस्पतालले पनि केन्द्रसँग सहकार्य गर्न प्रस्ताव राखेको राईले बताए ।

a3-1727156521.jpg
कति उपकरण मर्मतका निम्ति थन्किएका छन् ? 

संघीय अस्पतालहरूले खरिद गरेका र स्वास्थ्य सेवा विभागबाट उपलब्ध गराइएका के कति उपकरण मर्मत गर्नुपर्ने अवस्थामा छन् भन्ने विवरण विभागसँग छैन । विभागले सन् २०२३ अक्टोबरदेखि २०२४ मार्चसम्म गरेको सर्वेक्षणमा कोरोनाकालमा ल्याइएका ७१ प्रतिशत सामग्री मात्र सञ्चालनमा रहेको पाइएको थियो ।

विभागले कोसी, मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका आधारभूत, प्रादेशिक र संघीय गरी ८० अस्पतालमा गरेको सर्वेक्षणमा दातृनिकायबाट प्रदान गरिएका उपकरण ठूलो संख्यामा थन्किएको पाइएको थियो । उपयोगविहीन ७५ प्रतिशत सामग्री मर्मत गरेर सञ्चालन गर्न सकिने अवस्थामा भए पनि नगरिएको त्यसक्रममा देखिएको थियो ।

पछिल्लो समय प्रदेशस्तरमा केही बायोमेडिकल वर्कसपमार्फत नै उपकरणहरू मर्मतसम्भार भइरहेको स्वास्थ्य सेवा विभागको आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिए । संघीय अस्पतालका उपकरण मर्मतका निम्ति भने मन्त्रालयले केन्द्रसँग गरेको सम्झौताले ठूलो सहयोग पुग्ने उनको भनाइ छ ।

a4-1727156541.jpg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  ०९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro