site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
जिन्दगीमा कहिलेकाहीँ यस्तो पनि हुन्छ

कहिलेकाहीँ यस्तो पनि हुन्छ जिन्दगीमा

कहिले हामी बाटोलाई बिर्सन्छौँ
र, कहिले बाटोले हामीलाई बिर्सिदिन्छ

उडिरहेको चरा आकाशबाट बिलाइजान्छ
र, चराहरू उडिरहेको बेलामा आकाश नै बिलाइजान्छ

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कहिले दुखिइजान्छ हाम्रो कोमलता
र, कहिले भत्किजान्छ हाम्रो कठोरता
जिन्दगीमा कहिलेकाहीँ यस्तो पनि हुन्छ

हामी धुन भरिरहेका हुन्छौँ संगीतमा
र, संगीतले धुन भरिरहेको हुन्छ हाम्रो जीवनमा

कहिले भेटिनुपर्ने समयमा हामी हराइजान्छौँ
र, कहिले हराइजानुपर्ने समयमा हामी भेटिइजान्छौँ

कहिले ओइजान्छ हामीभित्रको हृदय
र, कहिले रङले भरिएर मगमगाइरहन्छ हाम्रो हृदय

कहिले हामी प्रेमलाई बिर्सन्छौँ
र, कहिले प्रेमले हामीलाई बिर्सिदिन्छ

सोचेको हुन्छ... नसोचेको हुन्छ जिन्दगीमा
जिन्दगीमा कहिलेकाहीँ यस्तो पनि हुन्छ

कहिले हामी रहन्छौँ, रहँदैन तारा आकाशको
र, कहिले हामी रहँदैनौँ, रहन्छ तारा आकाशको

झरिरहन्छ पारिजात हरेक बिहान आफ्नो मनखुसी
र, कहिले पारिजात त्यसै रहन्छ, तर झरिजान्छ बिहानी

कहिले हृदयले सपनाको प्वाँखलाई बिर्सन्छ
र, कहिले सपनाको प्वाँखले हृदयलाई बिर्सिदिन्छ

हामी कुदिरहन्छौँ, जीवन कतै बसिरहन्छ
र, हामी कतै बसिरहन्छौँ, जीवन कुदिरहन्छ

कहिले एउटा हातले अर्काे हातलाई छाड्छ
र, कहिले अर्काे हातले एउटा हातलाई छाड्छ

जिन्दगीमा कहिलेकाहीँ नहुने सबथोक हुन्छ
जिन्दगीमा कहिलेकाहीँ यस्तो पनि हुन्छ ।
(इटहरी, सुनसरी)
 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ११:००
प्रतिक्रिया दिनुहोस्