site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
योजनै योजना बोकेका प्रस्तावित राजदूत, अमेरिकी राष्ट्रपति ल्याउनेदेखि ईयूको कालोसूची हटाउनेसम्म 
SkywellSkywell

काठमाडौं । सरकारले गत साउन १४ गते विभिन्न देशको लागि नेपाली राजदूतमा सिफारिस गरेका १७ जनाले आफ्नो कार्ययोजना प्रस्तुत गरिसकेका छन् । संघीय संसदको संसदीय सुनुवाइ समितिमा कार्ययोजना प्रस्तुत गरेका हुन् । 

कार्ययोजना प्रस्तुत गर्ने प्रस्तावित राजदूत थिए– चीनको लागि प्रा.डा.कृष्णप्रसाद ओली, डेनमार्कको लागि सुम्निमा तुलाधर, जर्मनको लागि डा. शैल रुपाखेती, भारतको लागि डा. शंकरप्रसाद शर्मा, इजरायलको लागि प्रा. धनप्रसाद पण्डित, मलेसियाको लागि डा. नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानको लागि रीता धिताल, पोर्चुगलको प्रकाशमणि पौडेल र कतारको लागि रमेशचन्द्र पौडेल ।

यस्तै, रुसको लागि जंगबहादुर चौहान, साउदी अरबको लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाको लाग प्रा.डा. कपिलमान श्रेष्ठ, दक्षिण कोरियाको लागि डा. शिवमाया तुम्बाहाङ्फे, स्पेनको लागि शनिल नेपाल, श्रीलंकाको लागि रामकृष्ण भट्टराई, बेलायतको लागि चन्द्रकुमार घिमिरे र अमेरिकाको लागि नेपाली राजदूतमा सिफारिस लोकदर्शन रेग्मीले कार्ययोजना प्रस्तुत गरेका थिए । 

Dabur Nepal
NIC Asia

कार्ययोजना कसैको दुई पृष्ठको थियो भने कसैको २० पृष्ठसम्मका थिए । 

कार्ययोजना प्रस्तुत गर्ने क्रममा चीनको लागि प्रस्तावित राजदूत प्रा.डा. कृष्णप्रसाद ओलीले चिनियाँ पर्यटकहरुलाई नेपालमा आकर्षण गर्न नेपालका पर्यटकीय क्षेत्रहरुको श्रव्य–दृश्य चीनका विभिन्न ठाउँहरुमा प्रचारप्रसार गर्ने बताए । 

“चीनबाट प्रत्येक वर्ष १० लाख पर्यटक नेपाल भित्राउने प्रयास म गर्नेछु,” उनले संसदीय समितिमा भने । 

अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२३ मा नेपाल घुम्न विश्वका २१९ देश तथा क्षेत्रबाट १० लाख ८८५ जना पर्यटक आएका थिए । 

चीनबाट गतवर्ष ६० हजार ८७८ जना पर्यटक नेपाल आएका थिए । 

प्रस्तावित राजदूत ओलीलले रेल, उत्तर–दक्षिण राजमार्गहरु, केवलकार, सार्वजनिक यातायात, अन्य वित्तीय सेवा विस्तार, सूचना प्रविधि, एआई प्रविधि, दूरसञ्चार आदिमा एकल, प्रत्यक्ष वा सह–लगानी भित्र्याउन काम गर्ने पनि बताएका थिए । 

लिपुलेकबाट व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१४ मा भारत र चीनबीच भएको सम्झौताका विषयमा अध्ययन गर्ने ओलीले जनाए । 

मोदीले चीन भ्रमण गर्दा उक्त सम्झौता भएको थियो । भारत र चीनबीच भएको समझौताको अध्ययन गरेपछि उक्त सम्झौताबाट पछि हट्न चीनलाई अनुरोध गर्ने भनाई उनको थियो । 

यस विषयमा नेपाल सरकारले त्यतिबेलै चीनलाई कूटनीतिक नोट पठाइसकेको छ ।  जर्मनीको लागि नेपाली राजदूतमा सिफारिस भएका डा. शैल रुपाखेतीले युरोपेली युनियन (ईयू)को कालोसूचीमा रहेको नेपाली वायु सेवालाई उक्त सूचीबाट हटाउने बताए । 

बेल्जियमको ब्रसेल्सस्थित नेपाली दूतावासले ईयू हेर्ने गर्छ । ईयू र कालोसूचीबाट हटाउने जिम्मेवारी दुवै जर्मनीस्थित नेपाली दूतावासको कार्यक्षेत्र भित्र पर्दैन । आफ्नो जिम्मेवारी भित्र पर्ने भएको हुँदा ब्रसेल्सस्थित दूतावासले नेपाली वायु सेवालाई ईयूको कालोसूचीबाट हटाउने प्रयास गर्दै आएका छन् । 

ईयूले सन् २०१३ देखि नेपाली वायु सेवालाई कालोसूचीमा राख्दै आएको छ, जसका कारण नेपाली वायुसेवाले युरोपमा उडान गर्न पाएका छैनन् । 

“नेपाली ध्वजावाहक जहाजले सोझै उडान भर्न सक्ने गरी ‘डाइरेक्ट एयर लिङ्क’को पुनस्थापनाको लागि आवश्यक सहयोग, समन्वय र पहल गर्नेछु । र त्यसको लागि नेपाललाई एयर सेफ्टी लिस्ट (एएसएल)बाट निकाल्न हरसम्भव प्रयास गर्नेछु,” रुपाखेतीले आफ्नो योजना सुनुवाइ समितिमा सुनाएका थिए । 

इजरायलको लागि प्रस्तावित राजदूत प्रा. धनप्रसाद पण्डितले आफू राजदूत भएर गए इजरायल र चरमपन्थी प्यालेस्टिन समूह हमासबीच मध्यस्तता गर्ने बताए ।  इजरायल र हमासबीचको युद्ध रोक्न आफूले पहल गर्ने उनले सुनाए । 

“म इजरायललाई प्यालेस्टिनलाई पनि बाँच्न देउ भन्न तयार छु,” पण्डितले भने । 

गुप्तचरीमा इजरायल विश्वकै कहलिएकोले नेपालमा गुप्तचरको क्षमता अभिवृद्धि गर्न दुई देशबीच सहकार्यको लागि पहल गर्ने पण्डितले बताए । 

दुई देशबीच सैन्य तालिम आदान प्रदान गर्ने तर्फ पनि पहल गर्ने उनले जनाए ।  पाकिस्तानको लाग प्रस्तावित राजदूत रिता धितालको योजना नेपाल क्रिकेट संघ (क्यान) र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)बीच सहकार्य गराउने छ । 

खासगरी नेपाली क्रिकेट टोलीको प्रशिक्षणको लागि विशेष पहल गर्ने उनले बताइन् । 

“क्रिकेट खेलमा पाकिस्तानले गौरवमय इतिहास रहेको छ । यस सन्दर्भमा पाकिस्तानमा नेपालको राष्ट्रिय किक्रेट टोलीलाई प्रशिक्षणका लागि पहल गर्नेछु,” धितालले भनिन्, “नेपाल क्रिकेट संघ र पाकिस्तान क्रिकेट बोर्डसँग समन्वय गरेर अघि बढ्छु ।”

संसदीय सुनुवाई समितिमा रुसका लागि प्रस्तावित राजदूत जङ्गबहादुर चौहानले रुसबाट इन्धन आयात गर्ने योजना सुनाएका थिए ।  नेपाललाई आवश्यक पर्ने इन्धन रुसबाट सिधै नेपालमा आयात गर्नको लागि आफ्नो प्रयास रहने उनले बताए । 

“ग्याँस र तेलको आपूर्तिमा रुस एउटा भरपर्दो वैकल्पिक स्रोत हुनसक्छ । रुस पक्षले इन्धन आपूर्तिका लागि आफ्ना इन्धन कम्पनी ‘ल्युक आयल’ र ‘रुस नेफ्च’ मार्फत नेपाली पक्षसँग सहकार्य गर्ने गरी प्रस्ताव गरेको सन्दर्भमा नेपालको हितमा प्रवद्र्धन हुने गरी थप छलफलका लागि कुरा अघि बढाउने छु,” चौहानले भने ।

काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालन गर्नको लागि आफ्नो पहल रहने उनले जनाए । यस विषयमा विस्तृत कार्ययोजनासहित रुसी पक्षसँग छलफल गरी लगानी नेपाल भित्राउने दाबी उनले गरे । 

“नेपालको यातायात क्षेत्रमा रेलमार्ग, उपत्यकामा मेट्रो निर्माणका लागि बेलाबेलामा रुसी पक्षबाट चासो राखेको देखिन्छ,” पण्डितले भने, “यस सन्दर्भमा सम्बन्धित पक्षहरुसँग विस्तृत कार्ययोजनासहित कुराकानी अगाडि बढाउनेतर्फ मेरो निरन्तर प्रयास रहनेछ ।” 

पूर्व–पश्चिम विद्युतिय रेलमा पनि रुसले चासो देखाएको कारण आफू राजदूत भए सहकार्यको लागि आफूले सहजीकरण गर्ने योजना पण्डितको छ । साउदी अरेबियाका लागि नेपाली राजदूतमा सिफारिस भएका नरेशविक्रम ढकालले नेपाल र साउदीलाई धर्मले जोड्न सकिने बताए । 

कतारमा केही नेपाली धर्म परिवर्तन गरेर (मुस्लिम बनेर) माथिल्लो तहमा काम गरिरहेको उनले जनाए । यसअघि ढकाल कतारको लागि नेपाली राजदूत थिए । 

“म यसअघि कतारको लागि राजदूत हुँदा धर्म परिवर्तन गरेर माथिल्लो पोस्टमा पुगेको केही नेपाली देखें” ढकालले भने, “धर्म परिवर्तन गर्न हाम्रो संविधानले त दिंदैन, तर सम्बन्धित धर्मावलम्बीहरुले फाइदा लिन सक्छन् ।” 
साउदी अरबको लागि राजदूत नियुक्त भए त्यहाँ नेपालका मुस्लिम समुदायको हितमा काम गर्न सकिने उनले बताएका थिए । 

स्पेनको लागि प्रस्तावित राजदूत शनिल नेपालले नेपाली खेलाडीलाई प्रशिक्षण दिलाउन स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडसँग सहकार्य गर्ने योजना सुनाएका थिए । 

“स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोनासँगको सहकार्यमा नेपाली खेलाडीलाई प्रशिक्षण दिन सकिन्छ । प्रशिक्षण नेपाली खेलाडीलाई स्पेन लगेर दिन सकिन्छ र स्पेनबाट प्रशिक्षक नेपाल ल्याएर पनि खेलाडीलाई प्रशिक्षण दिन सकिन्छ,” कार्ययोजना प्रस्तुत गर्दै नेपालले भने ।

केही महिना अघि सरकारले नेपाललाई पोर्चुगलको लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । कार्यभार सम्हाल्न जान नपाउँदै उनलाई सरकारले फिर्ता बोलाएको थियो ।  पोर्चुगलको लागि राजदूत नियुक्त हुने क्रममा भएको सुनुवाईमा उनले पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोलाई नेपाल ल्याउने बताएका थिए । 

कार्ययोजना प्रस्तुत गर्ने क्रममा नेपालले ‘टिम युरोप’को अवधारणा पनि अघि सारे । 

युरोपियन युनियनका मुलुकहरुमा रहेका नेपाली राजदूतहरुको संयुक्त पहलमा परराष्ट्र मन्त्रालयसँगको समन्वयमा संयुक्त रुपमा कार्य गर्न सकिने भनाई उनको थियो । यसैलाई उनले टिम युरोपको अवधारणा भनेका थिए । 

श्रीलंकाको प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)लाई सक्रिय बनाउन विशेष भूमिका खेल्ने बताए । 

सार्कको शिखर सम्मेलन अन्तिम पटक सन् २०१४ मा नेपालमा भएको थियो । त्यसपछि सन् २०१६ मा सार्कको शिखर सम्मेलन गर्ने पालो पाकिस्तानको थियो । 

भारत र पाकिस्तानबीच राजनीतिक तनाव बढ्दा सार्कको शिखर सम्मेलन सन् २०१४ पछि हुन सकेको छैन ।  सार्क अध्यक्षको हैसियतले नेपालले पटक पटक शिखर सम्मेलनको लागि पहल गरे पनि भारत नमान्दा सार्क पछिल्लो समय निस्क्रिय जस्तै भएको छ । 

“सार्क र बिमस्टेकलाई थप क्रियासिल बनाउन सक्दो प्रयास गर्नेछु,” भट्टराईले बताए ।  अमेरिकाको लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपतिलाई नेपालको भ्रमण गराउने बताएका थिए ।  आफू राजदूत नियुक्त भए उनले अमेरिकी राष्ट्रपतिलाई नेपालको संसदमा सम्बोधन गर्ने वातावरण समेत मिलाउने जनाए ।  

“अमेरिकी राष्ट्रपतिबाट नेपाल भ्रमण गर्ने र हाम्रो संघीय संसदलाई सम्बोधन गर्ने कार्यक्रम आयोजना गर्न आवश्यक पहल गर्नेछु,” रेग्मीले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ११:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu