site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दिल्लीको मुख्यमन्त्री बन्न लागेकी आतिशी को हुन् ?
SkywellSkywell

काठमाडौं । आम आदमी पार्टीकी नेत्री आतिशी भारतको दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै छिन् । आम आदमी पार्टीका नेता गोपाल राईले मंगलबार सञ्चारमाध्यमलाई यस्तो जानकारी गराएका हुन् । राईले आतिशी अप्ठ्यारो परिस्थितिमा दिल्लीको मुख्यमन्त्री बन्न लागेको बताए ।

अरविन्द केजरीवालले पदबाट राजीनामा दिएपछि पार्टीको विधायक दलको बैठकमा अतिशीलाई मुख्यमन्त्री बनाउने सहमति गरिएको हो । विधायक दलको बैठकमा केजरीवाल आफैँले मुख्यमन्त्रीमा आतिशीको नाम प्रस्ताव गरेका थिए ।

हालका मुख्यमन्त्री केजरीवालले गएको आइतबार आम आदमी पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै दुई दिनपछि राजीनामा दिने घोषणा गरेका थिए । त्यसपछि आतिशीको नाम पनि यो पदको दौडमा समावेश थियो ।

Dabur Nepal
NIC Asia

उनीबाहेक राई र कैलाश गहलोतका साथै अरविन्दकी श्रीमती सुनीता केजरीवालको नाम पनि चर्चामा थियो ।

तर, ४३ वर्षीया आतिशीको नाम टुंगो लगाइएको छ । आतिशी आउँदो विधानसभा निर्वाचनसम्म दिल्लीको मुख्यमन्त्री रहनेछिन् ।

सोमबार बसेको बैठकपछि आतिशीलाई यो दौडमा अग्रस्थानमा मानिएको थियो । केजरीवाल जेलमा रहँदा उनले सबैभन्दा धेरै मन्त्रालय र विभाग सम्हालेकी थिइन् ।

उनले मनीष सिसोदिया शिक्षामन्त्री हुँदा शिक्षा क्षेत्रमा धेरै महत्त्वपूर्ण काम गरेकी थिइन् । सिसोदियाको अनुपस्थितिमा उनले शिक्षा विभाग पनि सम्हालेकी थिइन् । आतिशी केजरीवालको विश्वासपात्र मानिन्छिन् ।

aatishi1-1726564509.jpg
जब आतिशीले मन्त्री पद पाइनन्...
सन् २०२० को विधानसभा निर्वाचनपछि केजरीवालको मन्त्रिपरिषद्‌मा आतिशीसहित कोही पनि महिलालाई स्थान दिइएन । त्यति बेला पार्टीका केही नेताले आतिशीलाई मन्त्री नबनाइएको भन्दै आलोचना गरेका थिए ।

विधानसभाका ७० मध्ये त्यति बेला आम आदमी पार्टीले ६२ सिट जितेको थियो । तीमध्ये आठ महिला विधायक थिए । तर, केजरीवालले मन्त्रिपरिषद्‌मा महिलालाई स्थान दिएनन् ।

समयसँगै दिल्लीको राजनीतिक अवस्था फेरियो । मनीष सिसोदिया, सञ्जय सिंह र त्यसपछि केजरीवाल आफैँ जेल गएपछि आतिशीले सरकारदेखि पार्टीसम्मका मुद्दा सम्हालिन् ।

उनी सन् २०२३ मा पहिलोपटक केजरीवाल सरकारमा शिक्षामन्त्री बनेकी थिइन् ।

aatishi3-1726564559.jpg
आतिशी कसरी ‘आप’को सम्पर्कमा आइन् ?
इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार, आतिशी दिल्ली विश्वविद्यालयका प्रोफेसर विजयकुमार सिंह र तृप्ता वाहीकी छोरी हुन् ।

उनले दिल्लीको स्प्रिङडेल्स स्कुलमा अध्ययन गरेकी थिइन् । स्टीफन्स कलेजबाट इतिहास पढेकी छन् । उनले अक्सफोर्ड विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी छन् ।

पछि आतिशीले आन्ध्र प्रदेशको ऋषि भ्याली स्कुलमा पढाइन् । उनी अर्ग्यानिक खेती र शिक्षा प्रणालीसँग सम्बन्धित काममा सक्रिय भइन् ।

पछि उनी भोपाल आइन् । त्यहाँ उनले धेरै एनजीओमा काम गरिन् । यसैक्रममा उनी आम आदमी पार्टी र प्रशान्त भूषणको सम्पर्कमा आएकी थिइन् ।

उनी अन्ना आन्दोलनको समयदेखि संगठनमा सक्रिय छिन् । हाल आम आदमी पार्टीको प्रमुख अनुहारमध्ये एक हुन् ।

आतिशी २०१३ मा आम आदमी पार्टीमा प्रवेश गरेकी थिइन् ।

उनले सन् २०१५ देखि २०१८ सम्म दिल्लीका तत्कालीन शिक्षामन्त्री मनीष सिसोदियाको सल्लाहकारका रूपमा काम गरेकी थिइन् ।

आम आदमी पार्टीको वेबसाइटमा दिइएको जानकारी अनुसार, सिसोदियाको सल्लाहकार रहँदा उनले दिल्लीका सरकारी विद्यालयको अवस्था सुधार, विद्यालय व्यवस्थापन समिति गठन र निजी विद्यालयलाई अनावश्यक रूपमा शुल्क बढाउनबाट रोक्न कडा नियम बनाउनेलगायत काममा महत्त्वपूर्ण भूमिका निर्वाह गरिन् ।

दिल्ली सरकारमा हाल आतिशीले राखेका विभागहरूमा शिक्षा, उच्च शिक्षा, प्राविधिक प्रशिक्षण र शिक्षा, सार्वजनिक निर्माण विभाग, ऊर्जा, राजस्व, योजना, वित्त, सतर्कता, पानी, जनसम्पर्क र कानुन–न्याय समावेश छन् ।

उनी दिल्लीको कालकाजी क्षेत्रकी विधायक हुन् ।

aatishi4-1726564601.jpg
जब आतिशीले आफ्नो थर हटाइन्...
आतिशीलाई ‘आप’ले पहिलोपटक सन् २०१९ को लोकसभा निर्वाचनमा पूर्वी दिल्ली सिटबाट उमेदवार बनाएको थियो । त्यति बेला उनलाई आतिशी मार्लेनाको नामले चिनिन्थ्यो । उनलाई त्यसअघि पर्दा पछाडि सक्रिय नेताहरूमा गनिन्थ्यो ।

२०१९ को आमनिर्वाचनको समयमा मानिसको भीडअगाडि आतिशीको हातमा माइक देखेपछि अनुमान गरिएको थियो कि उनी चुनावी राजनीतिमा ‘आप’को एक महत्त्वपूर्ण महिला अनुहार बन्न सक्छिन् ।

सोही निर्वाचनको प्रचारप्रसारका क्रममा आतिशीले पार्टीका सबै अभिलेख र चुनावी अभियानसँग सम्बन्धित कागजातबाट आफ्नो थर अर्थात् ‘मार्लेना’ हटाएकी थिइन् ।

त्यति बेला भारतीय जनता पार्टीले आतिशीलाई उनको थरका कारण विदेशी र क्रिस्चियन भन्दै निसाना बनाउन थालेको थियो । तर, उनले आफ्नो परिचय प्रमाणित गर्न समय खेर फाल्न नचाहेको भन्दै थर हटाएको बताएकी थिइन् ।

आतिशीका आमाबुवालाई वामपन्थी झुकाव भएको मानिन्छ । र, उनलाई कार्ल मार्क्स र भ्लादिमिर लेनिनको नामका अक्षरहरू मिलाएर ‘मार्लेना’ उपनाम दिइएको थियो ।

आतिशीको उपनामको विवादबीच सिसोदिया उनको बचाउमा उत्रिएका थिए ।

२०१९ को निर्वाचनमा आतिशी तेस्रो स्थानमा रहेकी थिइन् । र, गौतम गम्भीरले भाजपाको टिकटमा चुनाव जितेका थिए । त्यसपछि आतिशीले आफ्नो एक्स ह्यान्डलबाट थर पनि हटाइन् । बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu