site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ब्याटिङ नचल्दा क्यानडासँग नेपाल १०३ रनले पराजित 

काठमाडौं । ब्याटिङ चल्न नसक्दा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । 

सोमबार राति क्यानडाको किंग सिटीमा भएको खेलमा नेपाललाई घरेलु टिम क्यानडाले १०३ रनले पराजित गरेको हो । खेलमा क्यानडाले प्रस्तुत गरेको २५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४०.१ ओभरमा १५० रनमै समेटियो ।

क्यानडाविरुद्ध नेपालका कुनै पनि ब्याटरको प्रदर्शन उल्लेखनीय रहेन । नेपाली टिमको स्कोरबोर्डमा करण केसीले सर्वाधिक २७ रन थपे । सन्दीप लामिछानेले २२, आसिफ सेखले २०, भीम सार्कीले १८ र गुल्सन झो १५ रन थपे । यस्तै, कुशल मल्लले १२ रन थपे ।

नेपाललाई सस्तैमा समेट्न क्यानडाका डिलोन हेलिगरले पाँच विकेट लिए । १० ओभर बलिङ गरेका हेलिगरले नेपालका कुशल भुर्तेल, आसिफ सेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने र गुल्सन झालाई पभेलियनको दिशा देखाए । उनले ३१ रनमात्र खर्चिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको क्यानडाले कप्तान निकोलस किर्टोनको आक्रामक ब्याटिङमा २५३ रनको योगफल खडा गरेको थियो ।

इनिङको सुरुआत सुस्त गरे पनि कप्तान किर्टोनले ४४ बलमा तीन चौका र ६ छक्कासहित ७३ रन बनाएपछि क्यानडा बलियो योगफलसम्म पुगेको हो । 

ओपनर नवनित धलिवालले ४८ रन थपे । हेलिगरले ३० रन थप्दा हर्ष थाकेरले २७ जोडे । साद बिन जफर र पर्गत सिंहले समान १७ रन थपे । कलिम साना र आरोन जोन्सनको नाममा समान १० रन रह्यो ।

नेपालका करण केसी र ललितनारायण राजवंशीले समान दुई विकेट लिए । सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले एक–एक विकेट हात पारे । 

लिग–२ मा पाँचौं खेल खेलेको नेपालको यो चौथो हार हो । यसअघि नेपालले घरेलु मैदानमै भएका चार खेलमध्ये तीन खेलमा हार व्यहोरेको थियो । 

जितसँगै नौ खेलबाट १० अंक जोडेको क्यानडा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पाँच खेल खेल्दा दुई अंकमात्र जोडेको नेपाल तालिकाको सातौँ स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ०६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro