काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री भएपछि उनले विश्वासको मत माग्ने र प्रश्नोत्तरमा सहभागी हुनेबाहेक पहिलोपटक समय लिएर सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओली आउँदो असोज ४ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जानुअघि त्यसबारे संसद्लाई जानकारी गराउँदै समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
यद्यपि, संसद् सचिवालयले भने आजको संसद् बैठकको कार्यसूचीमा प्रधानमन्त्री ओलीको संबोधनबारे केही उल्लेख गरेको छैन ।
यसैबीच, अधिवेशन अन्त्य, प्रधानमन्त्रीको सम्बोधनसहित आजको कार्यसूचीलगायत विषयमा छलफल गर्न आज मध्याह्न १२ः१५ मा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।