राजविराज (सप्तरी) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित भारदहको कंकालिनी मन्दिरअगाडि माइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
भारदहबाट सुनसरीतर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६६ नं. को विङगरले सडक छेउ उभिरहेकी अनितादेवी अधिकारी र उनकै १० महिनाको नाति आदर्श अधिकारीलाई ठक्कर दिएको थियो ।
उक्त ठक्करबाट गम्भीर घाइते भएका आदर्शको बिराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दुण्डीराज न्यौपानेले जनाकारी दिए । ठक्करबाट घाइते भएका अनिताको टाउको, छाती, बाँया खुट्टा लगायतका भागमा चोट लागेको छ । उनको उपचार भइरहेको छ ।
प्रहरीले विंगर चालक सप्तरी छिनमस्ता गाउँपालिका–७ बस्ने ३२ वर्षीय अबदुल सतारलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जनाएको छ । उक्त घटनापछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरोध गरेका छन् । रासस