site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा छिमेकी देशको बलियो सहयोग आवश्यक : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी रूपमा सञ्चालन गर्न छिमेकी देशको बलियो सहयोग आवश्यक रहेको बताएका छन् ।

भारतको नयाँदिल्लीमा बुधबारबाट सुरु भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को एसिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधनका क्रममा उनले सो कुरा बताएका हुन् ।

Argakhachi Cement Island Ad

साथै, उनले आईकाओ तथा अन्य सदस्य मुलुकहरूलाई नेपालमा उड्डयन क्षेत्रको अनुसन्धान तथा तालिम केन्द्र स्थापना गर्न जोडदार रूपमा आग्रह गर्दै त्यसका लागि आवश्यक सहजीकरण गर्न नेपाल तयार रहेको उल्लेख गरे ।

"हाम्रा अन्तर्राष्ट्रिय विमानस्थलहरू सर्टिफाइ भई सकेका छन्, पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी रूपमा सञ्चालन गर्न क्षेत्रीय सहयोगको अपेक्षा गरेका छौँ । यसबाट नागरिक उड्डयन क्षेत्रको निरन्तर सुधारप्रतिको हाम्रो प्रतिबद्धता स्पष्ट हुनेछ," उनले भने ।

मन्त्री पाण्डेले नयाँ दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनमा छिमेकी देशको सहयोगका लागि विशेष जोड दिए । भने, "यी दुई विमानस्थलको प्रभावकारी सञ्चालनका लागि नेपालले छिमेकी देशहरूको बलियो सहयोगको अपेक्षा गरेको छ ।"

नेपाल हवाई सुरक्षाका लागि क्षमता अभिवृद्धिप्रति प्रतिबद्ध रहेको र आईकाओको युनिभर्सल सेफ्टी ओभरसाइइट अडिट प्रोग्राम (यूएसओएपी) कार्यान्वयनको विषयमा नेपालले सन् २०२२ सम्ममा उच्च तथा विश्वका अरु मुलुकको हाराहारीमा उपलब्धि हासिल गरेको स्मरण गरे ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १७:४४
प्रतिक्रिया दिनुहोस्