site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजदूत सिफारिसमा सांसदहरूको आक्रोश, परराष्ट्रमन्त्री भन्छिन्– आगामी दिनमा समावेशी बनाउँछौँ

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले राजदूतहरूको नियुक्ति आगामी दिनमा थप समावेशी बनाइने आश्वासन दिएकी छन् ।  सोमबार संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठकमा उनले राजदूतहरूको सिफारिसमा संविधानको मर्मअनुसार समावेशी प्रतिनिधित्व गराउने प्रयास गरिएको बताइन् ।

“राजदूतहरूको सिफारिसमा नेपालको संविधानको मर्मअनुसार समावेशी प्रतिनिधित्व गराउने प्रयास गरिएको छ । यसपटकको सिफारिसमा पनि लैंगिक, जनजाति तथा भौगोलिक क्षेत्रको प्रतिनिधित्व भएको छ,” परराष्ट्रमन्त्री राणाले भनिन्, “हाल प्रतिनिधित्व हुन नसकेका समूहबाट आगामी नियुक्तिहरूमा समावेश गरिने प्रतिबद्धता म व्यक्त गर्न चाहन्छु ।”

बैठकमा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले केही दिनअघि सरकारले १७ जनाको नाम राजदूतमा सिफारिस गर्दा एकजना पनि दलित, मधेसी र मुस्लिम समुदायको व्यक्ति नपरेकोमा आश्चर्य प्रकट गरेका थिए ।

“राजदूतको सिफारिस संविधानको भावनाअनुरूप समावेशी भएन । मधेसी, मुस्लिम, दलितहरूको नाम यसमा समावेश भएको देखिएन,” कार्कीले भने ।

Aarju-Rana-1725874964.jpgअब हुने राजदूत नियुक्तिमा योग्य व्यक्ति छानेर संविधानको भावना र जनताको भावनाअनुरूप नाम पठाउन उनले आग्रह गरेका थिए । 

समितिमा नेकपा (एमाले)का सांसद महेशकुमार बर्तौलाले संविधानमा व्यवस्था गरिएको समावेशीताको सिद्धान्तलाई स्वीकार्न परराष्ट्रमन्त्री राणालाई आग्रह गरेका थिए । “संविधानले अंगिकार गरेको समावेशीतालाई हामी स्वीकार्नुपर्छ,” बर्तौलाले भने ।

एमालेकी सांसद ईश्वरी घर्तीले आफू समितिको सदस्य भएपछि एक जना पनि दलित समुदायबाट प्रतिनिधित्व गर्ने व्यक्तिको सुनुवाइ गर्न नपाएकोमा दुःख व्यक्त गरिन् ।

“हामीले खोजेको समावेशी र समानुपातिक यो होइन । संविधानमा भएको व्यवस्था कार्यान्वयन गर्नुपर्छ । एउटा पनि दलितको सुनुवाइ गर्न पाइएन । मधेसी र मुस्लिमको अवस्था पनि त्यस्तै छ,” घर्तीले भनिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद पशुपति शमशेर जबराले पनि राजदूत नियुक्तिमा समावेशी हुन नसकेको औँल्याए । उनले भने, “राजदूतको नियक्तिमा समावेशी हुन सकेन । दलितको प्रतिनिधित्व हुन सकेन भन्ने धेरै तिरबाट आयो । दलितको प्रतिनिधित्व हुने गरी काम हुनुपर्छ ।”

सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा परराष्ट्रमन्त्री राणाले सरकारले हालै सिफारिस गरेका राजदूतहरूको नियुक्ति पूर्णरूपमा समावेशी हुन नसके स्वीकार गरिन् । उनले आगामी दिनमा समावेशी प्रतिनिधित्व गराइने प्रतिबद्धता जनाइन् ।

मन्त्री राणाले सरकारले राजदूतहरूको सिफारिस गर्दा व्यक्तिको दक्षता र अनुभवलाई राष्ट्रहितको निम्ति अधिकतम उपयोग गर्ने नीति लिएको स्पष्ट पारेकी थिइन् ।

नेपाल सरकारले राष्ट्रिय हितको संरक्षण र प्रवर्धनका लागि नेपालको परराष्ट्र नीति अनुरूप अन्तर्राष्ट्रिय सम्बन्ध एवम् कूटनीति सञ्चालन गर्दै आएको र राष्ट्रको हित सुनिश्चित हुने गरी नेपालले अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने गरेको उनले बताइन् ।

मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखी विदेशस्थित कूटनीतिक नियोगहरू तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा यो सरकार प्रतिबद्ध रहेको परराष्ट्रमन्त्री राणाको भनाइ थियो ।

संविधानको मर्म र राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई आधार बनाई राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, दक्षता एवम् कार्यसम्पादनमा आधारित बनाउन सरकार अधिकतम प्रयासरत रहेको बताउँदै उनले तर सबै निर्णयकर्ता आफू मात्र भने नरहेको स्पष्ट पारिन् ।

प्रचलनअनुसार, कम्तीमा पनि ५० प्रतिशत राजदूत परराष्ट्र सेवाबाटै नियुक्त गर्ने गरिएको र त्यसबाहेकको राजनीतिक नियुक्तिमा सकेसम्म समावेशी सिद्धान्तलाई नै अवलम्बन गर्ने गरिएको भनाइ उनको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro