काठमाडौं । तिम्रो मुस्कानमा हराई सकेँ, तिम्रो नयनमा डुबिसकेँ त्यसैले तिमी थामी देउ यी हात । नछोड्नु कहिले मेरो यो साथ । यति आग्रह गरेपछि प्रेमीले प्रमिकासँग आफ्नो भन्नु नै सबै तिमी नै हौ भन्दै आस्वस्थ पार्ने प्रयास गर्छ ।
हृदयमा बस्न दिन आग्रह गर्ने गीतले मायामा डुब्न दिन भन्दै छुट्टै संसारको परिकल्पना गर्छ । सुख र दुःखका दिन सँगै मिलेर सम्हाल्ने वाचा गर्छ । आदर्श प्रेमको उदाहरणीय कथा लेख्ने परिकल्पना गर्छ । अध्यारोको किरण बनिदिन आग्रह गर्छ ।
यति भनिसक्दा भिडियोमा प्रेमको अनुभूति, आग्रह, प्रतिबद्धता, सुखद सुन्दर भविस्य, घुमघाम, रमाइलो, नदी किनार, एकान्तमा गोधुली साँझ र एकअर्काको सामिप्य निर्देशक दिमेश श्रेष्ठले देखाउँछन् ।
न्यानो अंगालो र रोमान्ससँगै बाच्ने र साथ दिने आग्रह र प्रतिवद्धता देखाउँदै गर्दा गाडी दुर्घटना हुन्छ । त्यसपछि एकछिन अगाडिसम्म सुदूरभविश्यको सुन्दर कल्पना गर्दै प्रेमिकासँगै देखिने प्रेमी ह्विल चेयरमा बन्द चार पर्खालभित्र हुन्छन् ।
यो गीतको कथा हो । गीतको कथाको जगमा निर्देशक श्रेष्ठले भिडियोमा देखाएको दृश्यभाषा हो ।
तर, सधैँ गीत र भिडियो प्रेम, समर्पण र वियोगका काल्पनिक कथामा मात्रै बन्दैनन् । कहिलेकहिले सत्यताको नजिक रहेर पनि जन्मिन्छन् । त्यस्तै गीत र भिडियो हो यो ।
सविन श्रेष्ठ २०७९ माघ २० गते दुर्घटनामा परे । बिहान ५ बजे होस खुल्दा सविन अस्पतालमा थिए । शरीरमा असह्य पीडा थियो । आँखा खोल्दा उनका आफन्तको आँखामा उनको शरीरको भन्दा धेरै दुखाई देखिइरहेको थियो ।
भिडियोमा दिमेशले ह्विलचेयरमा बसेको प्रेमीलाई हातबाट खसेको पेपर उठाउँन लगाउँछन् । जसै उसले उठाएको पेपरमा उनको तस्बिर देखिन्छ, प्रेमिकासँगको । तर श्यामस्वेत । यो दुर्घटनापछिको आम जिन्दगीको विम्ब हो । भलै कसैले यसलाई स्वीकार गर्लान्, कसैले भित्रभित्रै दबाउलान् ।
सविनको जिन्दगीको पहिलो अध्याय सकियो । उनको पहिलो अध्याय २० वर्षको रहेछ । सुरु भयो दोस्रो अध्याय । उनले गाउन थाले ।
गाउने/बजाउने कलामा आफूलाई व्यस्त राख्न थाले । अभ्यस्त गराउने प्रयत्न सुरु गरे ।
दुर्घटनाले जसै उनलाई श्यामस्वेत भविश्यतर्फ उनलाई धकेल्न खोज्यो । सविन भने त्यसलाई चिर्न थाले । त्यसका लागि उनले आफूलाई स्वर र सुरहरूसँग मिसाउन थाले । अनि जन्मिन थाले । गीत र धुनहरू । अनि रंगीन हुन थाल्यो उनको समय । र, जिन्दगी पनि ।
आखिर समय रंगीन हुनु र मन खुसी हुनु नै त हो जिन्दगी रंगीन हुनु हो, हैन र ?
तिथि मिति त दिमेशको स्मरणको पत्रबाट उडिसक्यो । तर, छेउछाउ पुगेर अनुमान लगाउँन भने सक्छन् । दुर्घटनाको त्यस्तै एक साताजति अगाडि हुँदो हो ।
“सविनले गिटार उठायो र विस्तारै औँलाहरूले तारहरू रेट्न थाल्यो । र, गाउन थाल्यो नारायणगोपालको गीत गल्ती हजार हुन्छन्...,” दिमेश अतिततिर फर्किन्छन्, “म अचम्म परेँ । ल मेरो भतिजमा यो पनि (गाउने) कला छ, यसले गाउँछ भन्ने लाग्यो ।”
त्यसपछि लगातार सातपटक सविनले ‘गल्ती हजार हुन्छन्...’ गाए । सिनेमाका विद्यार्थी दिमेशले पहिचान गरे । र, भने– तिमीले गाउनु पर्छ अब ।
सायद सविनलाई हौसला मिल्यो । गाउने समय मिल्यो । अहिले उनी गाइरहन्छन्, आफ्नै गीत । बजाइरहन्छन् गिटार । स्वर र धुनमा सुर लगाउन गीत लेखिरहन्छन् । गलालाई सुर र ताल अनुसार लय र संगीतअनुसार खेलाउन संगीतका सुरहरूको अध्ययन गरिरहन्छन् ।
गीतमा शब्द, संगीत र स्वर सविन श्रेष्ठको छ । संकल्प भुजेलले खिचेको भिडियो भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । दिमेश श्रेष्ठले निर्देशन गरेको भिडियोमा विकेश श्रेष्ठ र प्रविना वाइबाको अभिनय छ ।