सानु शर्माको कलमले विविध विषय समेटेको छ । भाषा र शैलीमा कलाको सुगन्ध मगमगाएको छ । नेपालदेखि अस्ट्रेलियासम्मको भूगोलमा सानु विचरण गर्छिन् । हृदयमा विप्लवी बोकेर अर्को देशमा बसेकी सानु, ती सात दिनमा फरक किसिमले उत्सर्गमा पुगेर एकादेशमा कथा र उपन्यास कोर्छिन् ।
सानुको भर्खरै बजारमा आएको कृति हो, ‘अर्को देशमा’ । पढ्दै जाँदा पाठकलाई कथाले चपक्क बाँधेर राख्न सक्छ । कौतूहलले भरिपूर्ण सानुका कथा वास्तवमा आजको समाज, सम्बन्ध, मायाप्रेम र समयको चित्र देखाउने ऐना हुन् । सानु मानवीय मनमस्तिष्क र सम्बन्धहरूको पत्रपत्र केलाउन खप्पिस छिन् ।
उनले कथामा महिला हिंसा, वैवाहिक बलात्कारदेखि महिलाका मनोभावलाई सूक्ष्म तरिकाले केलाएकी छन् । हिजो जसरी नारीले अन्याय, अत्याचार सहन गर्थे, जसरी सम्बन्धलाई हेर्थे, आज ती नारी पात्र फरक तरिकाले सम्बन्धलाई हेर्दै छन् ।
शिक्षा र चेतनाको उज्यालो थोरै मात्र छरिँदा पनि भावनात्मक पाटो न्यायिक हुने रहेछ । परम्परागत मूल्य–मान्यतालाई चिर्दै कथाका पात्र आधुनिक विचार र विमर्शमा उत्रिएका छन् ।
‘परी’ र ‘म परी’ कथामा नौलो प्रयोग छ । मलाई लाग्छ, सायद एउटै घटना, एउटै परिवेशमा निर्माण भएको कथाका दुई पात्रको मनोभाव फरकफरक तरिकाले कुनै कथामा आएको थिएन ।
पारिवारिक र मनोवैज्ञानिक कथा ‘परी’ र ‘म परी’ले बडो मिठो सन्देश बोकेको छ । दुईवटा पात्रको मनोभावलाई कथाकारले अत्यन्तै मिहिन तरिकाले उठाएकी छन् ।
अमेरिकाजस्तो मुलुकमा बसेकी उर्वशी पात्र हृदयमा इमानदारी, मस्तिष्कमा समझदारी र काँधमा जिम्मेवारी बोकेर हिँड्ने मानवीय पात्रलाई सानुले जन्माएकी छन् ।
उर्वशी पात्र कति संवेदनशील छ, तर नेपालबाट भर्खरै गएको पात्र स्वार्थी छ । व्यक्तिगत उन्नति र प्रगतिका लागि आफ्नो जिम्मेवारी र कर्तव्य भुलेको पात्र कति घिनलाग्दो छ । अभिभावकको त्याग, तपस्या र संघर्षलाई कसरी आजका सन्तानले सजिलै बिर्सिन्छन्, कर्तव्यपरायण पितालाई पैसाको भरमा पालेको छु भन्ने दम्भ बोक्ने युवालाई गजबको सन्देश छ । पैसाले सम्बन्ध बलियो पार्छु भन्ने भ्रम बोकेर हिँडेका आजका कैयौँ युवापुस्ताको यथार्थ चित्र देखिन्छ ।
सानुका कथा अस्तित्व चेतनाले ओतप्रोत छन् । कथामा मानवीय चेतना गुञ्जित छ । स्वको स्वर उठेको छ । पहिचानको कुरा आएको छ ।
सानुका कथा रहस्यमयी पनि छन् । तिनमा आधुनिक समाजका युवायुवतीको वास्तविक अवस्थाको व्यथा छ । अविश्वासले भरिएको आजका सम्बन्धले केकस्ता समस्या सिर्जना गरेका छन् भन्ने कुरा कथामा आएका छन् ।
कुनै कथा साँच्चै उत्तरआधुनिक छन् । हिजोको मानकलाई कुल्चिएर कथा समाप्त भएका छन् । श्रीमान्सँग सम्बन्धविच्छेद गरेपछि तिनका नातागोतासँग पनि स्वतः सम्बन्धविच्छेद हुन्छ । तर, यहाँ कथाले नवीन चेतना सम्प्रेषित गरेको छ । मेरो छोरा ठिक, बुहारी गलत भन्ने भाष्यलाई भत्काएको छ । बुहारीले गलत बाटोमा लागेको छोरालाई छाडेर हिँड्न लाग्दा ससुराबाले छोराभन्दा बुहारीको सहयोग खोजेको प्रसंगले सामाजिक रूपान्तरणको संकेत गरेको छ ।
अन्तरजातीय विवाहले सिर्जना गरेको मानसिक हिंसाको कथा पनि जीवन्त छ ।
परम्परागत मान्यतालाई चिर्दै पात्र, परिवेश र भूगोल फरक छन् । अज्ञात भूगोलको संवाद बडो मार्मिक छ । अदृश्य पात्रहरू कथामा आएका छन् । कथाकारको कल्पनाशीलता बेजोड छ । कथाले सम्बन्धहरूको खोक्रोपनलाई उपहास गरेर व्यंग्य गरेका छन् । मृत्यु र आत्महत्यापछि चिहानमुनिको परिवेश बडो रहस्यमयी छ ।
सन्तानप्रति बाआमाले गरेको गैरजिम्मेवारीपूर्ण व्यवहारले सिर्जना गरेको परिस्थितिजन्य समस्या कहालीलाग्दो छ । परिवारबाट प्राप्त हुन नसकेको माया बाहिर भेट्दा शारीरिक शोषणमा परेकी पात्रको व्याकुलता बडो मार्मिक छ ।
अस्ट्रेलिया जान गरेको पेपर म्यारिजले निम्त्याएका समस्याहरूको पहाड, वैदेशिक रोजगारीले उत्पन्न तमाम विषय कथामा आएका छन् ।
अघिल्लो कृति ‘एकादेशमा’ रहेको ‘प्रारब्ध’ कथाको दोस्रो भाग पनि यो संग्रहमा आएको छ । नारी पात्रभित्रको अप्रकटित भावनालाई कथाकारले केस्राकेस्रा केलाएर सिनेमाजसरी देखाएकी छन् ।
सानुका कथा सामाजिक यथार्थवादी छन् । जातीय भेदभावदेखि मानवतामा आएको क्षयीकरणको दृश्य कथामा मज्जाले देखिन्छ ।
समग्रमा ‘अर्काे देश’ अतियथार्थको धरातलमा बुनिएका नवीन ढंगका सिनेम्याटिक कथाको संग्रह हो ।