site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
अवैध कामदारलाई आममाफी दिने यूएईको घोषणा, हजारौँ नेपाली वैध बनेर घर फर्कने बाटो खुला
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा लामो समयदेखि अवैध रूपमा रहेका नेपालीका निम्ति खुसीको खबर छ । अब उनीहरूले वैध बन्दै नेपाल फर्कन वा त्यहीँ काम गर्न पाउने भएका छन् ।

यूएई सरकारले अवैध कामदारलाई वैध बनाउन ‘एम्नेस्टी (आममाफी) २०२४’ कार्यक्रम घोषणा गरेको छ । योसँगै अवैध कामदारलाई वैध बन्ने बाटो खुलेको हो ।

यूएईले अवैध कामदारलाई वैध बन्न दुई महिनाको समय दिएको छ । उक्त अवधिमा प्रक्रिया पूरा गरी अवैध कामदार वैध बन्न पाउनेछन् । तोकिएको समयमा वैध नहुने कामदार दुई महिनपछि जुनसुकै बेला यूएई सरकारको कारबाहीमा पर्न सक्नेछन् ।

Dabur Nepal
NIC Asia

“यूएई सरकारले सेप्टेम्बर १ देखि अक्टोबर ३० सम्म दुई महिनाको समय दिएर एम्नेस्टी २०२४ घोषणा गरेको छ,” यूएईका निम्ति नेपाली राजदूत तेजबहादुर क्षेत्रीले बाह्रखरीसँग भने, “यूएईमा अवैध रहेका नेपाली कामदारलाई वैध बन्ने यो ठूलो अवसर हो ।”

यूएईमा अरू कामको सिलसिलामा वा भिजिट भिसामा पुगी ओभर स्टे (भिसा अवधिभन्दा बढी बसेका) गरी जरिवाना बुझाउन नसकी स्वदेश फर्कन नपाएका कामदारलाई लक्षित गरी एम्नेस्टी २०२४ कार्यक्रम ल्याइएको उनले बताए ।

अवैध तरिकाले बसेका कामदारले प्रक्रिया पूरा गरी वैध हुन पाउनेछन् । वैध भएपछि उनीहरूले यूएईमै बसेर काम गर्न पाउनेछन् । फर्कन चाहनेहरू नेपाल आउन सक्नेछन् ।

अबका दुई महिनामा वर्किङ तथा भिजिट भिसामा यूएई पुगी रन अवे (कम्पनी छोडेर भाग्ने) र ओभर स्टेलगायत जरिवाना तथा अध्यागमनसम्बन्धी समस्या भोगिरहेका नेपाली कामदारले प्रक्रिया पूरा गरे वैध हुन पाउनेछन् ।

“एम्नेस्टी सदुपयोग गरी वैध हुनेले पुनः कामका लागि वा भ्रमण गर्न यूएई आउन परेमा प्रतिबन्ध तथा रोकतोक हुने छैन । उनीहरू सहजै यूएई आउजाउ गर्न पाउनेछन्,” राजदूत क्षेत्रीले स्पष्ट पारे ।

राजदूत क्षेत्रीका अनुसार, वर्किङ/भिजिट भिसामा यूएई पुगी रन अवे/ओभर स्टे ‘फाइन’मा परेका व्यक्ति र त्यहाँ बस्न अनुमति पाए पनि अध्यागमन नियम उल्लंघन गरेकाहरूले एम्नेस्टीमार्फत वैध हुन पाउनेछन् ।

यस्तै, आवासीय भिसामा यूएईमा रहेका विदेशी बाबुआमाले आफ्ना छोराछोरीलाई त्यहाँ प्रवेशपश्चात् रहनबस्न पाउने अनुमति प्राप्त नगरी अध्यागमन नियम उल्लंघन गरेकाहरूले पनि वैध हुन पाउनेछन् ।

“एम्नेस्टीमा सहभागी हुने कसैले पनि यूएईको अध्यागमनसँग सम्बन्धित जरिवाना शुल्क तिर्नु पर्दैन,” राजदूत क्षेत्रीले भने ।

एम्नेस्टीमा सहभागी भई यूएईमा नै रहन चाहने व्यक्तिले त्यहाँको मानव संशाधन मन्त्रालयबाट जारी ‘जब अफर लेटर’ लिई आफ्नो ‘स्टाटस’ परिवर्तन गर्नुपर्ने उनले जानकारी दिए ।

एम्नेस्टीका निम्ति आवेदन दिन आफ्नो भिसा भएको इमिरेट्सभित्रका अध्यागमनमा मात्र सम्पर्क गर्नुपर्नेछ ।

अबुधावीको भिसा भएकाहरूले अल धफ्रा, स्वेइहान, अल मकाम अल शाममा आईसीपी केन्द्रमा, दुबईको भिसा हुनेले अल अविर अध्यागमनमा, अरू इमिरेट्सको भिसा हुनेले नजिकको आईसीपी सर्भिस सेन्टरमा आवेदन दिनुपर्नेछ ।

एम्नेस्टी उपयोग गरी वैध बनेर नेपाल फर्कन चाहनेले हवाई टिकटको व्यवस्था आफैँ गर्नुपर्ने राजदूत क्षेत्रीले बताए । “यूएईभित्र बस्न चाहनेहरूले आफ्नो पूर्वस्टाटस परिवर्तन नगरी बसेमा यूएईको कानुनानुसार सजायको भागीदार हुनेछन्,” उनले भने ।

एम्नेस्टी २०२४ मा सहभागी हुने नेपाली कामदारले सम्बन्धित अध्यागमन कार्यालयले दिएको ‘फाइन क्लियरेन्स’ तथा प्रहरी रिपोर्ट पेस गरेमा नेपाली दूतावासले उनीहरूलाई राहदानी नियमावली, २०७७ को नियम २२ अनुसार नेपाल फर्कन निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) उपलब्ध गराउने उनले जनाए ।

राजदूत क्षेत्रीका अनुसार, यसरी एकतर्फी यात्रा अनुमतिपत्र प्राप्त व्यक्ति अनिवार्य रूपमा १४ दिनभित्र नेपाल फर्किनुपर्नेछ । “यूएईमा अवैध तरिकाले बस्दै आएका नेपालीको संख्या ठूलो छ, तर ठ्याक्कै यति नै छ भन्न सक्ने अवस्था छैन,” उनले भने, “यस्तो संख्या १० हजारको हाराहारीमा होला भन्ने हाम्रो अनुमान छ ।”

महालेखापरीक्षकको कार्यालयले गरेको अध्ययनले वैदेशिक रोजगारीका क्रममा यूएई पुगेका ठूलो संख्यामा नेपाली अवैध तरिकाले रहेका देखाएको छ ।

महालेखाको ‘कार्यमूलक अन्तिम प्रतिवेदन, २०८१’ अनुसार तीन देश – यूएई, मलेसिया र साउदी अरबमा मात्र अवैध रूपमा रहेका नेपाली कामदारको संख्या तीन लाख ७१ हजार २९५ छ । यूएईमा दुई लाख ५६ हजार १५९, मलेसियामा करिब एक लाख र साउदी अरेबियामा १५ हजार १३६ नेपाली अवैधानिक तरिकाले रहेका छन् ।

“संयुक्त अरब इमिरेट्समा पर्यटन भिसामा श्रमिक आउने तर स्वदेश फिर्ता नहुने तथा श्रम अवधि समाप्त भएपश्चात् पुनः श्रम स्वीकृति नलिएको कारणले श्रमिकहरू अवैधानिक रूपमा रहेको दूतावासले उल्लेख गरेको छ,” प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा अगाडि उल्लेख छ, “कामदार अवैधानिक भएपछि प्रहरीबाट प्रक्राउ पर्ने र मुद्दा खेप्नुपर्ने, कालोसूचीमा पर्ने, उपचारका लागि अस्पताल भर्ना हुन नसक्ने, सार्वजनिक यातायात प्रयोग गर्न नसक्ने, जरिवाना तिर्नुपर्ने, प्राप्त गर्न सकिने सेवा सुविधा प्राप्त नहुनेलगायत समस्या हुने देखिन्छ ।”

यूएई सरकारले घोषणा गरेको एम्नेस्टीमा सहभागी भए अब नेपाली कामदार यस्ता दुःख पाउनबाट जोगिनेछन् । एम्नेस्टी घोषणा भएपछि अवैध नेपाली कामदारलाई वैध बनाउन यूएईमा रहेको नेपाली दूतावासले छुट्टै डेस्क स्थापना गरी काम गरिरहेको राजदूत क्षेत्रीले जानकारी दिए । उनका अनुसार, वैध तथा अवैध गरी हाल यूएईमा ६ लाखभन्दा बढी नेपाली छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu