काठमाडौं । नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समाज भड्काउन खोजेको आरोप लगाएका छन् ।
मंगलबार पोलिटब्युरो कमिटीको बैठकमा ओलीले सत्ताविमुख भएपछि प्रचण्डले त्यस्तो दुष्प्रयास गरिरहेको बताएका हुन् ।
“केही मान्छेहरू भड्काउने, विद्रोह गराउने दुष्प्रयासमा छन् । थोरै भोट ल्याए पनि सत्तामा कहिले पनि छुटेनन्,” ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, “सत्तामा रहँदा आफू बिगार्ने अनि बाहिरिनबित्तिकै विद्रोह गराउने मान्छे, उचाल्ने खेतीपाती गरिरहेका छन् । त्यो सफल हुँदैन ।”
आजको बैठकमा ओलीले कांग्रेससँग समीकरण गर्नुपर्नाको कारणबारे ब्रिफिङ गरेका थिए । उनले सरकार देश र जनतालाई केन्द्रमा राखेर काम गरिरहेको पनि बताए ।
आफू सरकारमा आएपछि केही सूचकहरू सकारात्मक भएको ब्रिफिङ प्रधानमन्त्रीको थियो ।