site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपालको विकासमा नागरिक समाजको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री राणा
फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको बृहत्तर विकासमा नागरिक समाजको भूमिका महत्त्वपूर्ण हुने बताएकी छन् । 

मंगलबार ललितपुरमा आयोजित ‘नेपाल सिभिल सोसाइटी कन्फरेन्स् फर द समिट अफ द फ्युचर’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले सामाजिक आर्थिक विकासका माध्यमबाट समाजको रूपान्तरणका लागि नागरिक समाजको महत्त्वपूर्ण भूमिका रहेको बताएकी हुन् । 

संयुक्त राष्ट्रसंघको आसन्न महासभासँगै हुन लागेको ‘समिट अफ द फ्युचर’लाई नेपालले महत्त्व दिएको र सो समिटमा नेपालका प्रधानमन्त्रीको सहभागिता हुनेगरी तयारी भइरहेको जानकारी उनले दिइन् ।

समिटमा विश्वव्यापी सुशासन, बहुपक्षीयताको प्रवर्धन तथा अन्तर्राष्ट्रिय ऐक्यबद्धताका पक्षमा नेपाल रहेको पनि मन्त्री डा. राणाले स्पष्ट पारिन् । 

नेपालले आगामी सन् २०२६ सम्ममा ‘एलडीसी स्टाटस’ बाट माथि उठ्ने विषयमा तयारी गरिरहेको र यसका लागि नेपालले स्मुथ ट्रान्जिसन स्ट्राटेजी (एसटीएस) बनाएको जानकारी दिइन् । उनले नेपालको यस एलडीसी ग्राजुएसन योजनालाई अपरिवर्तनीय एवं दिगो बनाउन पनि नागरिक समाजको भूमिका महत्त्वपूर्ण रहेको बताइन् ।

मन्त्री डा राणाले नेपाल सधैँ बहुपक्षीयता, विधिको शासन, प्रजातन्त्र, समावेशी र समतामूलक अन्तर्राष्ट्रिय प्रणालीका पक्षमा रहेको स्पष्ट गर्दै नेपालले बहुपक्षीयता र विधिको शासनका पक्षमा अन्तर्राष्ट्रिय फोरमहरूमा गर्ने वकालतहरूमा नेपालको नागरिक समाजले पनि योगदान पुर्‍याउन सक्ने स्पष्ट पारिन् ।

उनले नेपालसामु अहिले जलवायु परिवर्तनको चुनौती देखिएकाले यसको जोखिमलाई कम गर्ने विषय नेपालको महत्त्वपूर्ण मुद्दा भएको बताइन् । यस मुद्दामा नेपालले संयुक्त राष्ट्रसंघलगायत विश्वका अन्य मञ्चहरूमा उठाउने आवाजहरूमा नागरिक समाजले थप वकालत गर्नुपर्नेमा उनले जोड दिएकी थिइन् । 

नेपालमा जलवायु परिवर्तनको समस्याले प्राकृतिक प्रकोपहरू निम्त्याउन सुरु गरिसकेको र हालैमात्र सोलुखुम्बुमा हिमताल फुटेको घटना पनि यसैसँग सम्बन्धित रहेकाले नेपालले आगामी दिनमा यी दुर्घटनाहरूबाट सिकेर यसको जोखिम कम गर्ने विषयमा लाग्नुपर्ने उनले बताइन् ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १७:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro