काठमाडौं । चलचित्र निर्माताले नेपाली सिनेक्षेत्र अझै पूर्ण व्यावसायिक नभएको बताएका छन् । पूर्ण व्यावसायिक नहुँदा सिनेमा निर्माणमा समस्या भइरहेको निर्माताको गुनासो छ ।
लेखकदेखि निर्देशक र स्पटब्वाईदेखि वितरकसम्म व्यावसायिक नहुँदा चलचित्र निर्माणमा समस्या झेल्नुपरेको निर्माता बताउँछन् । हरेक सिनेमा निर्माणका क्रममा पूर्ण व्यावसायिकताको अभाव भोग्नुपरेको निर्माता रोहित अधिकारीको अनुभव छ ।
“निर्माता पाइलापाइलामा ठगिइरहेका हुन्छन् । यो म आफैँले गरेको अनुभव हो । ५०/६० जनाको टिमले बनाउने चलचित्रमा ठगिने भनेको निर्माता मात्र एक्लो व्यक्ति हो,” रोहित भन्छन्, “चलचित्र बन्दासम्म ६० जनाको युनिट छ भने सबैको खल्ती भरिइसकेको हुन्छ । गोजी टक्टकिने निर्माताको मात्र हो ।”
१०औँ लाख रुपैयाँ पारिश्रमिक लिएर अनुबन्धित कलाकारले समेत पब्लिसिटीमा समय नदिएर निर्मातालाई ठग्ने गरेको उनको आरोप छ । “सम्झौतामा अभिनयसँगै पब्लिसिटीका लागि समय दिने भनेर लेखिएको हुन्छ, सर्त मन्जुर छ भनेर कलाकारले हस्ताक्षर गरेका हुन्छन्,” रोहित अगाडि थप्छन्, “तर, सिनेमाको पब्लिसिटी गर्ने बेलामा कलाकार हुँदैनन् । कति कलाकार बोलाउँदा पनि आउँदैनन् ।”
सम्झौताअनुसार निर्माताले पारिश्रमिक दिनुपर्ने तर आफ्नै चलचित्रको प्रचारप्रसारमा नहिँड्दा हाइप नबन्ने, आमदर्शकलाई सिनेमाबारे जानकारी नहुने र त्यसको असर बक्सअफिसमा पर्ने रोहितको अनुभव छ । कलाकार गैरजिम्मेवार बन्दा व्यापारमा प्रत्यक्ष असर परिरहेको उनको भनाइ छ ।
कथा लेख्छु भनेर आफैँ समयसीमा तय गरेर निर्मातालाई सोहीअनुसारको समयतालिका निर्धारण गर्न वचन दिने लेखक मोबाइल स्वीच अफ गरेर हराउनु सामान्यजस्तै भइसकेको रोहित सुनाउँछन् । गजबको स्टोरी सुनाएर त्यसको एक अंश स्क्रिप्टमा उतार्न नसक्ने तर अग्रिम पारिश्रमिक लिने राइटरबाट पनि निर्माता पीडित हुने गरेको उनी बताउँछन् ।
स्पटब्वाईले समेत निर्मातालाई ठगी गर्ने गरेको रोहित सुनाउँछन् । “एग्रिमेन्ट गरेर सेटमा दुई दिन काम गरेर बाँकी ३० दिन सेट नै नटेक्ने स्पट र लाइटम्यानलाई पनि मैले सुटिङ अवधिभरको पैसा तिरेको छु,” उनी भन्छन्, “यो भर्खरै रिलिज भएको चलचित्र ‘फर्की फर्की’को कुरा हो ।” कुनै कारण सुटिङ नभए पनि अथवा जतिसुकै दिन छायांकन राेकिए पनि पैसा लिने गरेकाे उनी बताउँछन् ।
निर्माताले सुटिङ युनिटलाई खाना खुवाउन छुट्टै किचन डिपार्टको व्यवस्था गरिएको हुन्छ । पूरै सिनेमा युनिटलाई चारपटक खाना उपलब्ध गराइन्छ । किचन डिपार्टले तातोचिसो पानी, चियाकफी समेत उपलब्ध गराउँछ ।
तर, होटेल तथा रेस्टुराँमा सुटिङ हुँदा छुट्टै बिल लाखौँमा आउने गरेको रोहित सुनाउँछन् । “एक छाक भेज र एक छाक ननभेजसहित दिनमा खाजा र भात गरेर चार टाइम खानाको व्यवस्था गरेका हुन्छौँ । यसबाहेक चियाकफी र फलफूलको पनि व्यवस्था हुन्छ । आफ्नो किचनमा सामान्यतया जतिखेर पनि खान मिल्छ,” उनी भन्छन्, “तर, यसबाहेक होटेल, क्याफे तथा रेस्टुराँमा सुटिङ हुँदा दैनिक २०औँ हजारको बिल आउँछ । जबकि, एग्रिमेन्टमै आफ्नै किचनबाहेकको खाना खर्च निर्माताले नभएर व्यक्ति स्वयंले व्यहोर्नुपर्छ भन्ने हुन्छ । ४५ दिन, दुई महिनासम्म सुटिङ हुँदा होटेल तथा रेस्टुराँको बिल यसरी आउँदा निर्माताको ठूलो रकम खर्च हुन्छ ।”
सेटमा क्रु मेम्बर र कलाकार नआउँदा सुटिङ डेज बढ्ने र त्यसले सिनेमाको लगानी वृद्धि हुने रोहितको अनुभव छ । कोरसका निम्ति व्यक्ति ल्याउने ठेक्का लिएको मानिसबाट पनि निर्माता पीडित हुने गरेको उनी सुनाउँछन् । कोरसमा आउने व्यक्ति ल्याएबापतको पैसा प्रोडक्सन म्यानेजरलाई दिइए पनि उसले प्रतिव्यक्ति थप ५०० रुपैयाँसम्म लिएर ठग्ने गरिएको उनको भनाइ छ ।
“केही भन्यो भने उसले बिहानै हुने सुटिङ मध्य दिउँसोसम्म सुरु नगरेर ढिलो गरिदिन्छ,” उनी भन्छन्, “त्यसैले पाइलापाइलामा निर्माता ठगिइरहेका छन् ।”
किस्ताअनुसार सबैले समयमै पैसा लिए पनि जिम्मेवार नहुँदा निर्माताले दुःख पाइरहेको उनी बताउँछन् । “आफ्नो ठाउँमा सबै व्यावसायिक हुने हो भने यो समस्या आउँदैन,” उनी भन्छन्, “आफ्नो पैसा लिइसकेपछि अनुत्तरदायी हुने संस्कारले निर्माताले दुःख पाउनुपरेको हो । म सबै निर्माता ठिक छन् भन्दिनँ, समयकै पैसा दिन्छन् भन्ने होइन ।”
केही ‘बेइमान’ निर्माता पनि रहेका उनी स्वीकार गर्छन् । “तर, इमानदार भएर काम गर्छु भन्नेलाई पनि एउटै बक्समा हालेर व्यवहार गर्दा समस्या भइरहेको हो,” उनी भन्छन् ।
कलाकार र प्राविधिकको पैसा नदिई बीचमै भाग्ने निर्माता समेत रहेका रोहित बताउँछन् । सिनेमा निर्माणको चरणमै भाग्ने, कलाकार तथा प्राविधिकलाई पैसा नदिएको भन्दै निर्माता संघमा उजुरी पर्ने गरेको उनी जानकारी गराउँछन् ।
हल सञ्चालकको पनि सिन्डिकेट रहेको रोहित बताउँछन् । “उनीहरू (हल सञ्चालक)लाई रिझाएर राख्नुपर्ने अवस्था छ । सानो कमजोरी भेटे भने पूरै चलचित्र संघ नै खनिन्छ,” उनी अगाडि थप्छन्, “व्यक्तिसँगको असहमतिका कारण शो तलमाथि भएको म आफैँले भोगेको छु ।
निर्माता वितरकको इगोको मारमा समेत पर्दै आएका छन् । एकले अर्कोसँगको रिसइबी साँध्ने नाममा एकैदिन जुधाइदिँदा सम्भावना बोकेका चलचित्रले नै आशातीत व्यापार गर्दैनन् । यसको मारमा अन्ततः निर्माता नै पर्ने गरेको निर्माता विराज विष्ट बताउँछन् ।
“यो त म आफैँले भोगेको समस्या हो । मैले कति प्रयास गरेँ सिनेमा जुधाउनबाट रोक्न सकिनँ,” विराज भन्छन्, “यहाँ सबैभन्दा धेरै ठूलो खेल त वितरकको हुने रहेछ ।”
यसको उदाहरणका रूपमा असोज २४ र कात्तिक १५ लाई लिन सकिन्छ । यी दुई मितिमा तीन/तीन नेपाली चलचित्र रिलिज गरिँदै छ ।
असोज २४ मा ‘छक्का पञ्जा–५’, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’ रिलिज गरिँदै छ । कात्तिक १५ मा ‘पूर्ण बहादुरको सारंगी’, ‘मायावी’ र ‘एक्टर’ रिलिज गरिनेछ । यी सबै सम्भावना बोकेका चलचित्र हुन् । वितरकको इगोका कारण निर्माताको करोडौँ रकम जोखिममा पर्दै आएको छ ।
नयाँ निर्मातालाई झनै ठूलो समस्या रहेको विराज सुनाउँछन् । “हामी ब्रान्ड हौँ, हामी ठूला कलाकार भनेर गफ लगाउने तर हरेक ठूला चाडपर्व र लामो बिदा ब्रान्ड भइसकेका भनिएका ब्यानर, निर्देशक र कलाकारलाई चाहिने रहेछ,” उनी भन्छन्, “त्यसैले नयाँ निर्मातालाई त झनै ठूलो समस्या छ । निर्माताको अगाडि अँध्यारो मात्र छ ।”
ब्रान्ड भनिएका निर्देशक र निर्माताका चलचित्र प्रचारप्रसारमा कलाकारले साथ दिने तर नयाँलाई विभिन्न बहानामा समय नदिने गरेको विराजको अनुभव छ ।
केही समयअघि रिलिज एक चलचित्रले नेपाली बक्सअफिसमा राम्रो कलेक्सन गरिरहेको थियो । विदेशका धेरै देशमा पनि दर्शकको राम्रो साथ पाइरहेको थियो । युरोपका केही देशमा भने उक्त चलचित्रमा दर्शकको उल्लेख्य उपस्थिति थिएन ।
“मलाई उता (युरोप)का वितरकले हिरोलाई हाम्रो चलचित्र युरोपमा लागिरहेको छ, हेरिदिनुहोला भनेर एउटा भिडियो बनाएर सामाजिक सञ्जालमा राखिदिन आग्रह गरे,” एक निर्माता बाह्रखरीसँग भन्छन्, “तर, हाम्रो हिरोले ३० सेकेन्डको त्यति भिडियो पनि बनाइदिएनन् । न मेरो फोन उठाए न म्यासेजको रेस्पोन्स नै गरे । यसलाई मैले कलाकारद्वारा निर्माता ठगीको रूपमा बुझेको छु ।”
नयाँ निर्माताको काम पोस्ट प्रोडक्सनमा पनि ढिलो गर्ने गरिएको विराजको गुनासो छ । जतिसुकैअगाडि फाइल दिए पनि पोस्टको काम अन्तिम एक/दुई हप्ताअघि मात्र गरिदिने गरेको उनी बताउँछन् ।
“चलचित्र रिलिज हुनुभन्दा अगाडि नै सबैले निर्मातासँग पैसा लिइसकेका हुन्छन् । जब सिनेमा रिलिज हुने बेला हुन्छ, निर्माता एक्लै हुन्छ,” विराज भन्छन्, “यहाँ ठूलो ग्रुपिजम छ । मिडियामा पब्लिसिटीदेखि प्रचारप्रसार र रिलिजसम्म ग्रुपिजममा काम हुन्छ । यसबाट नयाँ निर्मातालाई पाइलापाइलामा जोखिम छ ।”
राम्रो चलचित्र कसरी बनाउने, यसका निम्ति एकले अर्को मेकरलाई सहयोग, अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको विस्तार कसरी गर्ने भन्ने विषयमा एकजुट हुनुपर्नेमा त्यसो हुन नसकेको उनी गुनासो गर्छन् । अस्वस्थ प्रतिस्पर्धा र ग्रुपिजमले निर्माता पीडित भइरहेको उनको भनाइ छ ।
नयाँ निर्माता त उठ्नै नसक्ने वातावरण नेपाली चलचित्र उद्योगमा रहेको उनको बुझाइ छ । “यस्तै अवस्थामा आउने नयाँ निर्माताले चलचित्र बनाउन कठिन छ । बनाउनभन्दा पनि चलाउन कठिन छ,” उनी अगाडि थप्छन्, “राम्रो चलचित्र बनाएर चलाएर कमाउन झनै कठिन छ । यसलाई तत्काल चिर्न नसके निर्माता डुब्ने क्रम रोकिने छैन ।”