site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
यो नेपाल हो, राम्रो मान्छेको कदर हुन्छ र ? गणेशमान धनीसँग मिलेपछि कम्युनिस्ट भएँ 
SkywellSkywell

म विक्रम संवत् १९८४ साल जेठ २८ गते रौतहटको गौरमा जन्मेको हुँ । मेरो बुवा व्याकर्णाचार्य हुनुहुन्थ्यो । उहाँ बनारसमा पढाउनुहुन्थ्यो ।

तुंगशमशेर भारतको सागरमा बसेका थिए । उनी निकालामा परेका खड्गशमशेर राणा परिवारका सदस्य थिए । तर, उनी देशभक्त मान्छे थिए । उनले चन्द्रशमशेरसमक्ष दाम चढाउँदै ‘म नेपालमै बस्न पाऊँ’ भनेपछि उनलाई रौतहटमा हजमिनिया दरबार उपलब्ध गराइएको थियो । उनी बडाहाकिम पनि भएका थिए ।

उनी पछि श्राद्ध गर्न बनारस गए । उनलाई पण्डित चाहिएपछि मेरो बुवासँग संगत भएछ । उनैले आफ्नो साथमा रौतहट लिएर आएछन् । बुवा रौतहट बस्न थालेपछि हाम्रो जन्म त्यहीँ भएको हो ।

Dabur Nepal
NIC Asia

मेरो बाल्यकाल अनौठोसँग बित्यो । मेरो पिताजीले निर्दयी भएर हामी सानो छँदै पढ्न बाहिर राखिदिनुभयो । मभन्दा दुई वर्ष जेठो दाजु र मभन्दा एक वर्ष कान्छोे भाइसहित हामी तीनैजनालाई भारतको सीतामढीमा पढ्न पठाइदिनुभयो ।

हामी चार–पाँच वर्ष कतिका थियौँ, हामीले आमाको वात्सल्य पाएनौँ । त्यही उमेरमा आमाबाट टाढा हुँदै पढेका थियौँ । तर, भाग्यको अघि कसैको केही लाग्दैन ।

हामी केटाकेटी । दाजु बगाँवा पढ्नुहुन्थ्यो, म नराहामा पढ्थेँ । नराहाका स्वास्नीमान्छेले मलाई धेरै नै माया गरे । मैले त्यस बेला आमाको माया पाएको थिइनँ, त्यहाँ त धेरैजना ‘आमा’को माया पाएँ ।

मान्छेको भाग्य चाहिन्छ भन्छन्, पारिवारिक वातावरण भएर होला, मलाई ‘होमसिक’ भएन । स्कुल पढेर आएर नांगै नुहाइन्थ्यो । म त्यही १०–१२ वर्षको हुँदो हुँ । त्यहाँबाट बनारस गइयो । बनारस बसाइ धेरै महत्त्वपूर्ण भयो । बनारस बसाइमा पढाइमा सुधार हुँदै थियो ।

सन् १९४२ मा ‘भारत छोडो’ आन्दोलन चल्यो । रेलका लिक तोडिए । बुवा त्यतिखेर गौरमा नै हुनुहुन्थ्यो । उहाँहरू आत्तिनुभयो । खबर गर्नुभयो, फर्किनू भन्नुभयो । हामी गोरखपुर हुँदैहुँदै फर्कियौँ । त्यसपछि दुई वर्ष गौरमा पढियो । मेट्रिक रौतहटबाटै पास भएँ । त्यसपछि पुनः बनारस फर्किएँ ।

बनारसमा आईए सकेँ । मैले त्यहाँ राजनीतिशास्त्र र इतिहास पढेँ । त्यसपछि काठमाडौैंमा त्रिचन्द्र क्याम्पसमा भर्ना हुन आएँ । तर, यहाँ बस्न मन लागेन । त्यस बेला काठमाडौं बस्दा ‘छेरौटी’ रोग लाग्थ्यो । पानी खायो कि बिरामी !

अनि, म बिहारको आरा कलेज गएँ । आरा कलेज त गएँ, तर त्यहाँ भर्ना सकिइसकेको रहेछ । ‘कोटा बाँकी छैन’ भनियो । त्यहाँको प्रिन्सिपलले भने, ‘ए, नेपालबाट आइस् ! ल थाम, भोलि आइज ।’

मेरो छुट्टै कुर्सी बनाएर भर्ना लियो ।

त्यसपछि मैले भनेँ, ‘सर, मलाई त बस्ने ठाउँ चाहियो ।’

जवाफ आयो, ‘बदमास, पहिला पढ् न ! अब बस्ने ठाउँ, तेरा लागि घर राखेको छु मैले, मेरो घरमा बस्छस् ? ल, भोलि आइज ।’

भोलिपल्ट म भेट्न गएँ । घरमा भएको एउटा मान्छेलाई अरूको घरमा बस्न पठाइयो, मलाई त्यहाँ राखियो । कस्तो राम्रो भयो, नेपालीलाई कति माया गरेको ! आफ्ना विद्यार्थी हटाएर नेपालीलाई राखे ।

बिहारबाटै ब्याचलर गरेँ । त्यसपछि फेरि काठमाडौं फर्किएँ । ल क्याम्पसको पहिलो ब्याचको रूपमा नेपाल ल क्याम्पसमा पढेँ । मलाई रामराज पन्त, रत्नबहादुर विष्ट र रामानन्दप्रसाद सिंहले पढाउनुभयो ।

krishnapdbhandari-(12)-1725166702.jpg
तमसुक च्यात्ने आन्दोलन
कहिलेकहिले भाग्यले पनि बडा शंका गर्छ । मेरो भाग्य तमसुक फोरेर (च्यातेर) बन्यो । हामी त धनी मान्छे, मेरो बाउको मूल आम्दानी भनेको गहना र कर्जा लगाउने थियो । ठूलठूला भकारीको धान लगाउने, एकएक रुपैयाँ कर्जा लगाउने थियो ।

म र विष्णुबहादुर (कम्युनिस्ट नेता विष्णुबहादुर मानन्धर) मिलेर जिल्लाभरिका तमसुक च्यात्यौँ । जिल्लाभरिका च्यातचुत पारेपछि आफ्नो पनि च्यात्नुपर्‍यो । आमाहरू पनि धनपैसा लगाउँथे ।

मेरा भाइहरू पढेका थिए, तर काम नगर्ने । तकसुक फारेपछि नगद खत्तम भयो आमाहरूको । आमाहरू गरिब भए । छटपटी हुन थाल्यो ।

त्यो बेला मेरो ससुरा असुली कमिसनमा हुनुहुन्थ्यो । हामी भाइलाई लिएर यहाँ काठमाडौं आयौँ, ससुराको असुली कमिसनमा नोकरी पाइन्छ कि भन्ने आसले । सुशीलकुमार सिन्हा निर्वाचन कमिसनमा थिए । उनलाई भेट्न गएँ । उनले भने, ‘तँ ससुरालीमा बसेको छस् ? तँ बीए पास भएको छस्, तैँले नोकरी पाइहाल्छस् नि !’

भाइले आईए पास गरेको थियो । उसको ठेगान थिएन ।

एकदुई महिना त्यसै बसेँ । तेस्रो महिना ल कलेज खुल्यो । म त्यहाँ भर्ना भएँ । सुशीलकुमारले ‘नोकरी गर’ नभनेको भए म उतै फर्कन्थेँ । त्यही भनाइपछि भाग्यले मलाई ल कलेज भर्ना गरायो ।

इच्छा, बाध्यता र अवसर फरकफरक ठाउँमा पाइँदो रहेछ । मेरो पहिलो इच्छा नीतिशास्त्र, फिलोसोफी थियो । दोस्रो, राजनीतिशास्त्र । अब बाध्यता बन्यो, कानुनशास्त्र ।

मेरो सिद्धान्त थियो– आफ्नै खुट्टामा अड्नुपर्छ ।

त्यहीकारण मैले ल पढेँ । र, उभिने आधार पनि यसैलाई बनाएँ ।

मैले तमसुक नफारेको (च्यातेको) भए मेरा भाइहरू रौतहटमै ब्याज उठाउँदै खाएर बस्थे होलान् ।

तमसुक फारेको (च्यातेको) हुनाले उनीहरू काठमाडौं आए । त्यहीकारण ६० वर्षदेखि मेरा भाइ अमेरिकामा छन् । तमसुक नफारेको भए झगडा गर्थे र रौतहटमै बसेर खाइराखेका हुन्थे होलान् । त्यसकारण तमसुक च्यात्ने कदमको राजनीतिकसँगै आर्थिक, सामाजिक महत्त्व रहेको छ ।

विष्णुबहादुर मानन्धर पनि धनाढ्य मान्छे । मेरो बाउको कमाइ पनि कर्जा लगाउने नै हो । तुंगशमशेरको पनि आम्दानीको स्रोत कर्जा नै हो । मानबहादुर (विष्णुबहादुरका पिता)को पनि काम कर्जै हो ।

उनीहरूले खुसीखुसी तमसुक च्यातिदिए । त्यसरी हामी चम्कियौँ । सबैभन्दा धनीहरूको तमसुक फारिदिएपछि अरू त डराइहाले । अनि, हामी अघि बढ्यौँ ।

त्यस बेला माधवकुमार नेपाल केटाकेटी हुनुहुन्थ्यो । उहाँको बुवा मंगलकुमार उपाध्याय धेरै विद्वान् हुनुहुन्थ्यो, हाम्रा पनि गुरु । हामी राजनीति गर्दा चन्दा लिन, सुझाव लिन उहाँकहाँ जाने गर्थ्यौँ । मंगलकुमारको दाजु अश्विनीकुमार पनि विद्वान् नै हुन् । तर, मंगलकुमार विद्वान् मात्र नभएर सामाजिक पनि हुनुहुन्थ्यो । हामी राजनीतिमा पनि समाजसेवा खुब गर्ने मान्छे थियौँ । गुरु पनि राम्रो मान्छे पायौँ मंगलकुमार, यो अर्को भाग्य होइन त !

krishnapdbhandari-(13)-1725166702.jpg
तीन ‘साले’
माधवकुमार नेपालसँग तीनचारवटा नाता छन् भण्डारीका । उहाँ प्रधानमन्त्री बन्नुभयो । मैले भनिदिएँ, ‘साले’ ।

पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्याय मेरो सालो । मैले उनलाई पनि भनिदिएँ, ‘साले ।’ उसको दिदी मेरो भाइसँग छ, साले भएन ? सूर्यनाथ उपाध्यायको दिदीको हाम्रो भाइसँग विवाह भएको छ । अख्तियारको प्रमुख आयुक्त । यी तीन ठूला ‘साले’ भए ।

माधव नेपालसँग अर्को सम्बन्ध के हो भने उनको भाइसँग मेरो सानीमा सासूको विवाह भएको छ ।

तर, ती नाता जोड्दैनौँ । मेरो सम्माननीय गुरुको छोरा भन्छु । मजाक त भइहाल्यो । तर, तीनवटा देशकै ठूला मान्छेलाई ‘साले’ भन्न पाउनु भाग्य होइन ? प्रधानमन्त्री, प्रधानन्यायाधीश र अख्तियारको प्रमुख तीनजनालाई नै ।

मलाई माधवकुमार भयंकर मान्छन् । कामको सिलसिला भन्दा लामो हुन जान्छ । म शिक्षा प्रचारमा हिँडेको मान्छे । ३२ वटा विद्यालय स्थापना गरेको छु । बारा, सर्लाही र सिंगो रौतहट जिल्लामा पढाएको छु ।

सर्लाहीको सबैभन्दा पुरानो स्कुल मैले स्थापना गरेको हुँ । त्यसमा दीर्घराज कोइरालाले धेरै मद्दत गर्नुभयो । दीर्घराज कोइराला महान् मान्छे हुन् । कहिले बझाङ पुगे, कहिले डोटी पुगे । ठूलो शिक्षासेवी हुन् उनी । तर, यो नेपाल हो, यहाँ राम्रो मान्छेको कदर कहाँ हुन्छ र !

म गाउँगाउँ पुग्थेँ । धनीले त पढ्थे, गरिबले पढाउन सक्दैनथे । तमसुक च्यातेपछि धेरै डराए ।

krishnapdbhandari-(14)-1725166702.jpg
यस्तो थियो कहानी 
गणेशमान सिंहसँग धेरै ठाउँमा घुमेँ । उनी बनारस बसे, बीपीसँगै । तर, कहीँ पनि सन्तुष्ट देखिएनन् । राजनीतिमा लागेकाहरूले गणेशमानलाई त चिन्ने भए, ‘तिमी नजाऊ बाहिर, आऊ यहीँ आएर बस’ भनेछन् । गणेशमानलाई सुन्दरपुर भन्ने ठाउँमा सिमानापारि मुलमानहरूले राखे । खाना उनीहरूले दिए ।

गणेशमान त्यहाँ बसे । तुलसीलाल अमात्य पनि त्यहीँ बसे । बाबुराम बराल र बैजनाथ पनि बसे । गणेशमानजी कांग्रेसको प्रचार गर्ने, पूर्वी बारा, दक्षिण रौतहटमा गएर । तुलसीलाल गढीमाई गएर कम्युनिस्टको प्रचार गर्थे ।

वि.सं. २००८ सालमा जब मिल्ती भयो, अनि भारतलाई डलर चाहियो विदेशी मुद्रा । भारतसँग त कुनै सम्पत्ति थिएन ।

कानपुर र बम्बै (हाल मुम्बई)का व्यापारीले नेपालगन्ज, वीरगन्ज र विराटनगरमा कपडाको मण्डी खोले, स्मग्लिङ (तस्करी/अवैध निकासी) गर्न सजिलो हुन्छ भनेर ।

गणेशमानको बहुत ठूलो स्वागत गरेका थियौँ, उद्योगमन्त्री भएको समयमा । हामीले भनेको उनले माने, त्यही बेला ‘सिज’ गराइयो ।

krishnapdbhandari-(5)-1725166701.jpg
गान्धीवादीबाट क्रान्तिकारीतिर
मचाहिँ ज्यादा शिक्षामा दौडिएँ । दाजु मणिराज भण्डारी राजनीतिमा लाग्नुभएको थियो । वि.सं. २००७ सालको क्रान्तिमा म पनि लागेँ । म त गान्धीवादी मान्छे । गौरमा १०औँ हजार जनता पुगे । सरकार पक्षले गोली हान्दा ११ जना मान्छे मरे, ३५ जना घायल भए । ११ जनामा चारजना मात्र नेपाली थिए । बाँकी सातजना भारतीय थिए ।

भारतीयहरू वीरगन्ज लुटेपछि माल लुट्न आएका थिए । तिनीहरू फ्रन्ट लहरमा थिए । ती गरिबहरू थिए । सातजना त्यहीँ मरे ।

त्यो घटना हुँदा अढाई दिनसम्म मेरी श्रीमती ‘विधवा’ भइन् । ३२ जनालाई लिएर दरभंगाको लहेरीयासराया पुग्यौँ । भारत सरकारले खतरा होला भनी एउटा डिजल गाडी राखेको थियो । राति त्यही डिजल गाडी लिएर हामी लहेरीयासराय पुग्यौँ । म र दाजु त लहेरीयासराय पुग्यौँ, यता ‘कृष्णप्रसाद भण्डारी मर्‍यो’ भनेछन् ।

मेरो दुलही त गाउँमा बस्थिन् । सबैले मर्‍यो भनेपछि उनी पनि विधवा भइन्, अढाई दिन । मैले पछि ठट्टा गरेँ ।

त्यसपछि मैले गान्धीवाद छाडेँ । हामीले हतियार उठाउने विचार गर्‍यौँ । दाजुलाई पटना पठाइयो । मातृकाप्रसाद कोइरालासँग भेट भयो । उनले भने, ‘ए, तिमी ठिटाहरू बन्दुक चलाउन पनि सक्दैनौ, केही पनि गर्दैनौ, म बन्दुक दिन्नँ ।’

त्यसपछि बीपी कोइरालासँग भेट भयो । उनले तीनवटा हतियार दिए । एउटा भरुवा बन्दुक, एउटा राइफल, एउटा स्टेनगन दिएर पठाए । एक भारतीय इन्स्पेक्टरले हतियार सीमापार गराउन सहयोग गरे । त्यो स्टेनगन मैले बोकेर हिडेँ ।

राइफलचाहिँ एकजना सेना थिए, उनले बोके । भरुवा बन्दुक कहिले कसले कहिले कसले बोक्यो । गौरमा ठूलै विद्रोह भयो ।

हाम्रा मानिस पक्रिए र मारिए पनि । त्यसको एकदुई वर्षपछि त सम्झौता भइहाल्यो, मैले बन्दुक चलाउनु परेन ।

नेपालमा बन्दुकधारी सेना बाँचेको भनेको म नै हुँ । म गान्धी बन्न हिँडेको, जब मान्छे मारिसकेपछि ‘टिट फर ट्याट’ बन्दा बन्दुक बोकेँ । त्यहीँबाट कम्युनिस्टहरूसँग अलिकति निकट हुन पुगेँ । पछि हतियार त इन्डियाको थानेदारले नै लग्यो ।

त्यसमा त त्यही कपडा मण्डीको कहानी छ । हामी त गणेशमानका कार्यकर्ता, हामीले कपडा मण्डी सिज गर्‍यौँ ।

हामी गरिब पक्षको मान्छे । गणेशमान धनीसँग मिलिदिए । फेरि कपडा मण्डी खोलिदिए । हामीलाई रिस उठ्यो । त्यसपछि हामी कम्युनिस्ट भयौँ । त्यसअघिसम्म विष्णुबहादुर मानन्धर र म दुवै कांग्रेस नै थियौँ । विष्णुबहादुरले त गणेशमानलाई धेरै मान्थ्यो ।

हाम्रो जिल्ला रौतहटको राजनीतिमा गणेशमान र तुलसीलालको ठूलो हात थियो । गाउँगाउँ, रातबिरात हिँड्थे । हाम्रो घरमा सुराकी लाग्ने अवस्था थिएन । धेरै समय हाम्रो घरमा गणेशमान बसेका छन् । म र विष्णुबहादुर दुवैले गणेशमानलाई धेरै नै मान्ने । तर, कपडाकाण्डबाट हामी कम्युनिस्ट भएको हो ।

वीरगन्जको जियालाल र नेपालगन्जको टण्डन (व्यापारीहरू) सरकार (गणेशमान)सँग घुमे । ‘हामीलाई छाड्देऊ, हामी अस्पताल बनाइदिन्छु’ भनेछन् । त्यो कुरा हामीलाई थाहै भएन । विराटनगरको अस्पताल, वीरगन्जको अस्पताल र नेपालगन्जको अस्पताल त्यही व्यापारीहरूको चन्दाबाट बनेको हो ।

त्यति बेला गणेशमानलाई घुस खायो भन्ने आरोप लाग्यो । त्यो बेलामा सस्तो जमाना थियो । सानो घर, तीनचार रोपनी कति जग्गा थियो, त्यसमा उनलाई घुस अभियोग लागेको थियो । तर, उनले झुटो बयान दिए । ‘मेरो ससुरालीबाट यो यो पायो, बकस पायो’ भनेर भने । तर, गणेशमानले भनेको कुरा सत्य होइन ।

कपडाकाण्ड मच्चायो, घुस खायो भन्ने आरोप लागेकै हो । मलाई कपडाकाण्डका साहुहरूले नै भनेको भेद हो यो । त्यसलाई घुस नभन्नुस्, चन्दा भन्नुस् । किनकि, उनले मागेका थिएनन् ।

krishnapdbhandari-(6)-1725166701.jpg
बीपीसँग सम्बन्ध 
हामी बीपीसँग भन्दा मातृकाप्रसाद कोइरालासँग नजिक थियौँ । बीपीसँग पटकपटक भेट त भयो, तर उनीसँग हाम्रो सम्बन्ध थिएन ।

कांग्रेसका सभापति मातृकाप्रसाद थिए । मेरा दाजुहरू दरभंगा पढ्नुहुन्थ्यो, म आरा पढेँ । मातृका आउँदा हाम्रो होस्टलमा बस्थे । आफैँ कुनामा खाना पकाउँथे । विश्वेश्वर कोइराला आउँदा सरकारी बंगलामा बस्थे । त्यस बेला होटलहरू थिएन ।

विश्वेश्वरले धेरै काम गरेका छन् । तर, मातृका हरेक ठाउँ पुग्थे । विश्वेश्वर ठूला मान्छे, हामीलाई बच्चा तरिकाले कुरा गर्थे । मातृका हाम्रै कोठामा बस्थे । मातृका धेरै सज्जन मान्छे ।

२०१६ सालमा बीपी प्रधानमन्त्री भएपछि करिबकरिब १४/१५ जनालाई जागिर दिए, लोकसेवा आयोगले निकालिदियो । त्यो मुद्दा बीपीले मलाई पठाइदिए । त्यो मुद्दा मैले जितेँ । एउटा संयोग त्यो भयो ।

अर्को संयोग, पाकिस्तानको लडाइँ । पूर्वी पाकिस्तान र पश्चिम पाकिस्तानको युद्ध । म र रवीन्द्रनाथ शर्मा दिल्ली गयौँ । उनी (बीपी) डिप्लोमेटिक होटलमा बस्थे । हामी त सरकारी पाहुना, बीपीसँग म र रवीन्द्रजी भेट्न गयौँ । त्यहाँ घण्टौँ कुरा भयो । बीपी मेरो कुराबाट धेरै प्रभावित भए । उनी पटनामा धेरै समय बसेका थिए ।

पटना जाँदा बीपीले ‘भण्डारी भनेको तेज मान्छे होे, बिहारका नेताभन्दा धेरै माथि छ’ भनेछन् । त्यसले उनले मेरो तारिफ गरेको देखियो ।

०३३ सालमा उनी नेपाल आउने निर्णय गरे । एयरपोर्टमा साथीहरूले भनेछन्, ‘जानु हुँदैन, मार्दिन्छन् ।’

उनले भनेछन्, ‘मेरो कृष्णप्रसाद भण्डारी वकिल छ, ऊसँग धेरै वकिलहरू छन्, मलाई मार्न दिँदैनन् ।’ कति ठूलो कुरा, ल हेर्नुस् त !

गणेशराज शर्मा यहीँ काम गर्थे । उनी त बीपीको साढुभाइ थिए । गणेशराज शर्मा अलिक राजावादी थिए । त्यसकारण उनलाई अलिक छुट थियो । तर, बीपीले आफ्नै साढुभाइ गणेशराज शर्मालाई विश्वास गरेनन् । ‘भण्डारी नभएसम्म बयान गर्दिनँ’ भनेछन् । त्यसपछि इन्स्पेक्टर मलाई लिन आयो ।

मैले भनेँ, ‘म वकिल हुँ, म कुनै पनि झगडियाको घरमा गएर सल्लाह दिन्नँ । या त ऊ मेरो अफिसमा आउनुपर्छ, हैन भने कुनै अदालतमा सल्लाह गर्नुपर्छ ।’ ‘म जान्नँ’ भनिदिएँ ।

म अडेपछि विशेष अदालतमा लगे । मैले छोरी सवितालाई पनि कारिन्दा भनेर त्यहाँ लगेँ । बीपीलाई वकिलले पनि साथ दिएनन् । खालि गणेशमान, मंगलादेवी सिंहले भेट्न पाए ।

सुशीला – उनकी दुलही (बीपीपत्नी) र अर्को, सुजाता (कोइराला) भेट्न गएका थिए । अरू भेट्न पनि कोही गएनन् । कांग्रेसी वकिलहरू कोही पनि बीपीको पक्षमा वकालत गर्न तयार भएनन् । हामीले त आँट ग¥यौँ, त्यसैले हामी बफादार मान्छे । त्यसकारण बीपीले मलाई मान्थे ।

बीपीले आफ्नो डायरीमा पनि लेखेका छन् । कुसुम श्रेष्ठ र गणेशराज शर्मासहित म बीपीलाई भेट्न सुन्दरीजल जेल पुग्यौँ ।

krishnapdbhandari-(7)-1725166701.jpg
 

त्यहाँ बीपीलाई गणेशराजजी र कुसुमले ‘साँचो बोल्नुपर्छ’ भन्ने सल्लाह दिए । त्यो ‘जेल जर्नल’मा पनि लेखिएको छ । कांग्रेसले गरेको सशस्त्र युद्ध थियो । बीपी कोइरालालाई ओखलढुंगाकाण्डमा राजद्रोहको मुद्दा लगाइएको थियो ।

उनी त बनारसमा बसेको मान्छे, उनले त केही गरेनन् । न हतियार लिए न बन्दुक बोके । केही गरेको छैन नि ! खालि निर्णय गर्‍यो, ‘नो एक्सन एट अल ।’

त्यसकारण ‘साँचो बोल’ भन्ने उनीहरूको सल्लाह थियो ।

मैले भने, ‘नो ! तिमी नेता भएर जिम्मेवारीबाट भाग्न पाउँछौ र ? ‘सरकार,  मेरो मातहतमा युद्ध भएको हो, आई एम द कमान्डर’ भन । आज कार्यकर्ता मारिएका छन्, कैयौँ जेल परिराखेका छन्, तिमीले ‘मैले केही गरिनँ’ भन्नु नैतिकता हुँदैन । आफू मातहतका मानिसले गरेको कामको जसअपजस नेताले लिनुपर्छ ।’

मैले यो भनेपछि बीपीले मेरो सुझावलाई उपयुक्त ठहर्‍याए । उनले ‘जेल जर्नल’मा पनि यो कुरा लेखेका छन् ।

राजा महेन्द्रसँग सम्बन्ध 

मैले २०१८ सालमा विश्वेश्वरप्रसाद कोइराला, भरतशमशेर राणासहित अरूलाई समेट्दै ‘स्वतन्त्रता हनन’ भएको उल्लेख गरी बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेँ ।

ठूलठूला विद्वान्हरू अवसरवादी ! सबैको अधिकार २०१७ पुसमा राजा महेन्द्रले खोसेका थिए । तर, व्यक्तिगत अधिकार ऐन कसैले ख्याल गरेनन् । त्यही ऐनअन्तर्गत मैले मुद्दा दर्ता गरिदिए । त्यसपछि राजा महेन्द्र डराउँदै डा. तुलसी गिरीलाई भेट्न खटाए ।

महेन्द्रले ‘भण्डारी विद्वान् छ, निडर छ, उसले चाहेको पद दिनू’ भनेको सन्देश सुनाए । उनी कानुनमन्त्री अनिरुद्धप्रसाद सिंहसहित मेरो घरमा तीनपटकसम्म आए । सिंहसँग चाहिँ मेरो श्रीमतीको माइतीतिर नजिकको सम्बन्ध थियो । म त्यतिखेर काठमाडौंमा थिइनँ । उनीहरू आएको जानकारी पाएपछि भेट्न गएँ ।

उनले भने, ‘राजाले यो हुकुम भा’छ, तपाईंलाई पद दिने भन्ने छ ।’ म ‘मेरो सोख वकालत हो, नोकरी होइन’ भनेर त्यहाँबाट पन्छिएँ । त्यस बेला मैले भनेको भए प्रधानन्यायाधीश बनाउँथे । पछि अदालतले राजकाज मुद्दामा बन्दीप्रत्यक्षीकरणको जिकिर पुग्न सक्दैन भनी खारेज गरिदियो ।

krishnapdbhandari-(1)-1725166700.jpg
 

अर्को पनि घटना छ । २०२२ ताका आफ्ना छोरीहरू र प्रज्ञा–प्रतिष्ठानका निम्ति राजाले जग्गा किनेका थिए । त्यो जग्गा राणाहरूको थियो, जहाँ कम्तीमा डेढ सय किसानहरू मोही थिए र खेती गर्थे । मैले त्यसमा पनि मुद्दा दिएँ ।

उनले (महेन्द्र) मसँग कुरा गर्न मान्छे खटाए । ‘यसले अघि पनि मुद्दा दियो, अहिले पनि मुद्दा दियो, किसानले मागेको पैसा दिनू’ भनेछन् । किसानले मागेको पैसा दिए राजाले । त्यो जग्गा राणाको कम्पाउन्डभित्रको भएको हुँदा मोहियानी हक पनि थिएन । मोहियानी नभए पनि किसानहरूले पैसा पाए, धनी भए ।

एउटा किसान मकहाँ आयो । उसले भन्यो, ‘तपाईंको कारणले म धनी भएँ । त्यो मुआब्जाबाट चार रोपनीको मालिक भएँ ।’

कम्युनिस्ट राजनीतितिर 

गणेशमान सिंहसँग कुरा नमिलेपछि कम्युनिस्टतिर लागेँ । तीन वर्षपछि २०११ सालमा मैले कम्युनिस्ट पार्टी छोडिदिएँ । ११ सालमा कम्युनिस्ट छाडेर काठमाडौं आएँ । प्रत्येक कार्यकर्ता आफ्नै खुट्टामा उभिनुपर्छ भनेर मैले विद्रोह गरेको थिएँ । आफूले काम गर्नुपर्छ भनेर नै म वकिल भएँ । तर, मैले विष्णुबहादुरलाई सहयोग भने गरिरहेँ ।

त्यसपछि एकैपटक ०४९ सालमा म कम्युनिस्ट भएँ । मलाई रुसले धेरै मान्छ । म ०४७ सालमा सिकिस्त बिरामी परेँ । मलाई कम्युनिस्ट पार्टीले औषधि गर्ने निर्णय गर्‍यो । तर, म कम्युनिस्ट पार्टीको मान्छे त थिइनँ ।

सोभियत संघको केन्द्रीय कमिटीले निर्णय गर्‍यो, कृष्णप्रसाद भण्डारीको उपचार गर्ने भनेर । म औषधि गर्न रुस पुगेँ । म जुन घरमा पुगेँ नि, त्यसलाई म टेनस्टार भन्छु । कम्युनिस्टका नेताहरू बस्ने होटल हो त्यो । त्यहाँ बसेँ म ।

त्यहाँ कोही चियरमेन, कोही दूत । मलाई पठाइएको लेटर के थियो भने– हि इज नट ए पार्टी म्यान, बट नट लेस जेएस । मलाई पठाएको पत्रमा जेनरल सेक्रेटरीभन्दा कम्ती होइन भनिएको थियो ।

उसले सोध्यो, ‘के हो तपाईं ?’

मैले भनेँ, ‘केही पनि होइन ।’ त्यहाँ बस्नु ठूलो कुरा रहेछ । जुन ठाउँमा म बसेँ, त्यो धेरै ठूलठूला विद्वान् बस्ने ठाउँ हो । गुर्भाचोभ बस्ने ठाउँ हो । कम्युनिस्टको राजा बस्ने ठाउँ हो त्यो । हरसुविधा थियो त्यहाँ ।

मैले त सहयोग गरिरहेँ नि, कम्युनिस्ट पार्टी छोडेर पनि । उपचारबाट फर्किएपछि साथीहरूले ‘बाहिर जान पाउँदैनस्’ भने । त्यसपछि म पार्टीमा आबद्ध भए । तर, मैले मेरो वकालतको काम छाडिनँ ।

०१८ सालमा दरभंगा सम्मेलन भयो । म पनि गएको थिएँ । त्यहाँ विशेष झगडा तीनजनासँग भयो । विष्णुबहादुर त के क्रान्तिकारी ! धेरैलाई काटेर फाल्नुपर्छ भन्ने मान्छेहरू पनि थिए । हाम्रो केशरजंग रायमाझी भन्थे, ‘हामी लडाइँ गर्न सक्दैनौँ । लडाइँ लड्यौँ भने हामी सकिन्छौँ । त्यसकारण राजासँग मिल्नुपर्छ ।’ उनले चीनको उदाहरण दिए ।

चीनमा के भयो भने, कम्युनिस्टहरूले चेङकाइसेकसँग मिलेर युद्ध सुरु गरे । लडाइँ कम्युनिस्टहरूले गर्ने, हार्ने ठाउँमा कम्युनिस्ट क्रान्तिकारीहरू मर्ने । जित्ने ठाउँ आएपछि कोमिन्ताङले ‘मैले जितेँ’ भन्ने । मर्ने कम्युनिस्टहरू भए, जित्ने कोमिन्ताङ भयो । त्यही हालत हुन्छ भन्ने रायमाझीको सल्लाह ।

पुष्पलालको भनाइ के रह्यो भने– होइन, हामी एक्लैले क्रान्ति गर्न सक्दैनौँ । त्यसकारण कांग्रेससँग मिलेर गर्नुपर्छ । उनले हतियार उठाउने होइन, जनतामा जानुपर्छ भनेका थिए । त्यसमा निर्णय हुन सकेन ।

रायमाझी आएर सिधै, राजावादी भइहाल्यो । राजासँग मिलेर देशैभित्र बस्नुपर्छ भन्ने मान्छे हो ऊ । मचाहिँ गाउँगाउँ हिँड्न थालेँ । गाउँका नेतालाई ‘तपाईं पनि गाउँको मान्छे, तपाईंले काम गर्नुभयो ? भन्छु, ‘मेरो त बच्चा छ भन्दिने, पन्छिने । यतिसम्म हाम्रा नेताहरू डराए कि उनीहरूले केही गर्नै सकेनन् । अब हेर्नुस् त, क्रान्ति कोसँग गएर गर्ने ? हाम्रा कमरेडहरू डरले थर्कमान छन् ।

फर्किएर गौर पुगेँ । विष्णुबहादुरको घर पुगेँ । उसको श्रीमतीले कडा गाली गरिन्, ‘कता गो क्रान्ति ?’ भन्दै । मैले त्यो घटना सुनाइदिएँ ।

त्यसपछि अब हामीबाट क्रान्ति हुँदैन, घर पनि बर्बाद हुन्छ, त्यसैले ‘एट एनि कस्ट टु इन्टर’ भन्ने निर्णय भयो ।

म काठमाडौं आएपछि के थाहा भयो भने, विष्णुबहादुरलाई पक्राउ गरेर जेल हालियो, तीनचार महिना । हामी केशरजंगको पछि लाग्याँै । हामी क्रान्तिकारी भएनौँ । हामी देशभित्र बसेर काम गर्ने भनेर लाग्दा हामीलाई सहारा त चाहियो । रायमाझी राजावादी भइहाले, हामीले तीनैजनाले राजावादीको छाता ओढ्यौँ ।

सूर्यबहादुर थापासँग संगत
राजाले सल्लाहकार सभाको गठन गरे, ०१४ सालतिर जस्तो लाग्छ । राजा महेन्द्रले ठाउँठाउँमा हात उठाएर चुन्ने व्यवस्था गरे । मेरो भाइ डा. ऋषिकेश भण्डारी पनि सल्लाहकार सभामा चुनिएर आयो । काशीराज उपाध्याय – मेरो दाजुको क्रान्तिकारी साथी थियो, ऊ पनि सल्लाहकार सभामा आयो ।

काशीराज र ऋषिकेशसँग हामी एन्टी कांग्रेस होराप्रसाद जोशी र सूर्यबहादुरसँग निकट भएर सूर्यबहादुर पथमा लाग्यौँ । सूर्यबहादुर भैरवशमशेरकहाँ बस्थे । भैरवशमशेरलाई मुद्दा लाग्यो । त्यो मुद्दा मैले लडेँ, आउने–जाने भयो । त्यहीँ हाम्रो संगत बढ्यो ।

त्यसपछि केशरजंग रायमाझी, सूर्यप्रसाद उपाध्याय र सूर्यबहादुर थापा – यो टिमसँग पनि निकट भइयो । २०२८ सालमा स्नातक राष्ट्रिय पञ्चायत सदस्यमा मलाई जिताए । त्यहाँ धुमधाम नेता त सूर्यबहादुर थापा नै भयो, चार वर्ष उनीसँगै संगत भयो । २०२९ मा सँगै जेल बसियो । त्यही हो संगत ।

krishnapdbhandari-(2)-1725166700.jpg
 

रुससँगको निकटता 
सोभियत संघकालीन समयमा मेरो कुनै कुरा पनि काट्दैनथ्यो । म तपाईंलाई भन्दिन्छु, पाँचजना मान्छे मकहाँ आए । ठूलठूला मान्छे आए । मैले सोभियत संघसँग सिट मागेँ । उताबाट सिट पठाइदियो । सिट आएपछि मान्छे थपिए, नौजना भए । मलाई पनि लोभ लाग्यो । कसलाई छाड्ने, कसलाई नछाड्ने भयो । मैले नौजनालाई नै सिफारिस गरिदिएँ । मागेको छ पाँचजना, सिफारिस गरेको छ नौजना ।

राजदूत छुट्टीमा गएका थिए । फर्किएर आएपछि मलाई गाली गरे, ‘माग्ने पाँच, पठाउने नौ ?’

मैले भनेँ, ‘हेर न, यी ठूलठूला मान्छे आए, इन्कार गर्न सकिनँ । तिमीले छाँटेको भए त भइहाल्थ्यो नि !’

उनले भने, ‘कसलाई छाट्ने, यस्तो राम्रो मान्छे छन् ! मैले पनि सकिनँ ।’

हामी दुवै हाँस्यौँ । रुसले मलाई सम्मान गरिरहेको छ । मलाई विशेष तक्मा नै प्रदान गरेको छ । नोबेल प्राइजजस्ता मित्रताकासहित पाँच तक्मा छन् ।

राजदूतसँग मेरो भेट भयो । भेटमा ‘के चाहन्छस् ?’ भनी सोधे । मैले भनेँ, ‘एजुकेसन ।’ उसले सोध्यो, ‘क्यान यु ?’ मैले जवाफ दिएँ, ‘आई विल ट्राई ।’ 

उनीसँग पुग्नुको कारण थिए, कीर्तिनिधि विष्ट । उनको मुद्दा लडेको थिएँ मैले । त्यसैले विष्टले पनि खुब मान्थे । विष्टसँगै चिनजानका कारण रुसी राजदूतसँग ‘कोटा’ माग्ने अवसर मिल्यो । 

मलाई राजदूतले भने, ‘तपाईं राजदरबारको मान्छे हुनुहुन्छ भने दुईवटा कोटा तपाइलाईं दिने हो ।’

म दरबारको मान्छेलाई कोटा दिन्थेँ, उनको मान्छे जान्थ्यो । दुई मेरा मान्छे पनि जान्थे । यो तरिकाले मान्छे पठाइयो रुसमा पढ्नका लागि । एउटा, दुइटा त आफ्नो मान्छे जान्छ नि, हाम्रो मान्छे राजाका मान्छे बनाएर पठाएनौँ त ! यही हो, चोरी–निकासीको तरिका । त्यो संगत पनि भयो सूर्यबहादुरसँग ।

रुस र नेपाल शासकीय समानता छन् नि ! रुसका जारहरूले केके गरे, कसरी जनतालाई विश्वासमा लिए, हाम्रोमा कसरी जनतालाई विश्वासमा राख्ने काम भयो भन्ने सन्दर्भमा मैले तुलनात्मक लेख लेखेको छु । त्यहाँ र यहाँ समानता छन् ।

हाम्रोमा चौबिसे राजालाई जिते, तर निकालेनन् । निकालेको भए कन्ट्रोल गर्न सक्थे ? सक्दैनथे । रुसले पनि राज्यहरू जित्यो, उपनिवेश बनाएन, रुस बनाइदियो । क्रिमियाका जनता पनि रसियन भएनन् ?

त्यस्तै, यहाँ नेपालमा किराँतीहरूलाई ‘सुपर राई’ बनाइयो । उसको जग्गाजमिन त खोसेनन्, दंग ! उसको सहमतिविना घरजग्गा कसैले लिन नपाउने, कति मजाले मिलायो । दोस्ती नगरेको भए, किराँतलगायत बाइसे–चौबिसे राजासँग नमिलेको भए सक्थ्यो ? हाम्रोमा राजाले यसरी मिलाए । रुसीले जितेको देशहरूलाई मिलाए ।

अंग्रेजहरूले उपनिवेश बनाए, रुसले देश बनायो । क्रिमिया गरिब देश, त्यहाँका नागरिक त धनी देशको नागरिक हुन पाए । 

कीर्तिनिधि विष्टसँग पनि निकट 

विष्टलाई मैले सय गाली गरे हुँला । एउटा गलत कुरा मेरो मुखबाट निस्कियो । सय गाली गर्दा कीर्तिनिधिले कहिल्यै पनि मलाई जवाफ फर्काएनन् । एउटा गल्ती गरेपछि ‘भण्डारीजी, तपाईं पनि ?’ भन्यो, मैले माफी मागेँ । सही कुरामा गाली गर्दा कहिल्यै रिसाएनन् । हामी त उनका गल्तीहरू खोजीखोजी ल्याउँथ्यौँ । उनको नीतिमा कहाँ मिस्टेक भयो भनेर हेर्थ्यौ हामी ।

हाम्रो काम कस्तो थियो भन्दा पदमबहादुर खत्रीको कुरा गर्छु । उनी पनि राष्ट्रिय पञ्चायतमा थिए । पछि उनी परराष्ट्रमन्त्री भए ।

एक दिन मनमोहन अधिकारी मकहाँ आउनुभयो । भन्नुभयो, ‘म मर्न थालेँ, औषधि गर्नुपर्‍यो ।’

मैले भनेँ, ‘हेर्नुस्, तपाईंको औषधि गर्ने काम विष्णुबहादुर मानन्धरको हो । तपाईं कम्युनिस्ट, मेरो त औषधि गर्ने काम नन कम्युनिस्टका लागि हो, मैले कसरी गर्ने ? तर पनि म कोसिस गर्छु ।’

त्यसपछि म पदमबहादुर खत्री – परराष्ट्रमन्त्रीकहाँ गएँ । उनले बडो स्वागत गरे । मैले भनेपछि उनले भने, ‘हेर्नुस् भण्डारीजी, म मनमोहनजीलाई पासपोर्ट दिन सक्दिनँ । तर, मलाई लेखेर दिनुस्, म राजालाई जाहेर गर्छु । राजाले दिए भने म दिन्छु ।’

मैले त्यहीँ लेखेँ, छाप लगाएर दिएँ । उनले राजालाई जाहेर गरे । राजाले ‘पासपोर्ट दिनू’ भनिदिए । कत्रो उदारता, हेर्नुस् त !

अर्को पनि पासपोर्टको कुरा गर्छु । लक्ष्मीप्रसाद देवकोटाकी छोरी मकहाँ आइन् । त्यस बेला रणधीर सुब्बा परराष्ट्रमन्त्री थिए । मैले भनेँ, ‘नानी, तिमीलाई पठाउन त सक्छु, तर पासपोर्ट लिन के गर्ने ?’

रणधीर सुब्बाकहाँ पुगेँ । उनले भने, ‘ए, लक्ष्मीप्रसाद देवकोटालाई कम्युनिस्ट बनाउने !’ पासपोर्ट दिएनन् । रणधीर सुब्बाले अस्वीकार गरेर राजालाई दिए, राजाले पासपोर्ट दिए ।

अदालती यात्रा
म वास्तवमा स्कुल खोल्थेँ । अनि, गाउँगाउँमा हुने झगडाहरू मिलाउँथेँ । जब म ल क्याम्पस भर्ना भएँ, त्यहाँको सम्बन्ध यहाँ जोडियो । सर्लाहीको, बाराको, रौतहटको जनता मकहाँ आउँथे । ती मान्छेहरू अदालत जाँदा ममार्फत जान्थे । त्यसकारण मैले ल पढ्न थाल्दादेखि नै मुद्दा बोकेको थिएँ । ममार्फत वकिलहरूसँग पुग्थे उनीहरू । उनीहरू आएर बस्ने पनि मकहाँ हुन् ।

०१३ सालमा ल पास गरेँ । १४ साल वैशाख ३० गते लाइसेन्स लिएँ । त्यसपछि त म आफैँ बहस गर्न अदालत जान थालिहालँे । तर, अदालत प्रवेशकै कुरा गर्नुहुन्छ भने ०११ सालदेखि नै जान थालेको हुँ ।

मलाई मुद्दामामिला गर्न सजिलो भयो । पैसा खोज्नु परेन, स्रोत नै आइहाल्यो मकहाँ !

मेरो फर्ममा कतिले काम गरे, कतिले । चारजना त प्रधानन्यायाधीश भए । केशवप्रसाद उपाध्याय, गोविन्दबहादुर श्रेष्ठ, केदारप्रसाद गिरी र मीनबहादुर रायमाझी । यहीँबाट गएका व्यक्तिहरू प्रधानन्यायाधीश भएका हुन् । न्यायाधीश पनि धेरै भए । केदारनाथ उपाध्याय पनि मकहाँ आएका हुन् । तर, उनी सरकारी जागिरबाट प्रधानन्यायाधीशसम्म पुगेका हुन् ।

एकजना लवदेव भट्ट । नातामा उनी जयदेव भट्ट न्यायाधीशका भाइ हुन् । उनी डोटीकै सुब्बा थिए । सरकारले नोकरी खोसिदियो । उनी सडकमा घुम्दै गर्दा मैले देखेँ । भनेँ, ‘ओ लबदेव, आउनुस् मकहाँ ।’

‘तपाइँ नोकरी कमाउने भन्ने हिसाबले आउनुभएको छ, यहाँ काठमाडौं बस्नु र खानुपर्‍यो, मकहाँ आउनुस्’ भनेँ ।

मैले भनेँ, ‘तपाइँलाई वादी भएर लेख्न आउँदैन, म्याद थमाउने निवेदन लेख्न सिकाइदिन्छु ।’

एउटा निवेदनमा पाँच रुपैयाँ मिल्थ्यो । त्यतिले खान पुग्थ्यो । उस्तै परे अलिअलि बच्थ्यो । लवदेव भट्ट यति मिहिनेती, यति अनुशासित कि ‘टप जुरिस्ट’ भए ।

अर्को, लोकेन्द्रबहादुर चन्द । उनी बीए–बीएल पास गरेर आएका थिए, लखनऊबाट । उनी इन्स्पेक्टर बन्न आएका थिए । मैले भनेँ, ‘ए, तिमी नेपाली कानुन जान्दैनौ ! उता पढेका । अरू जेजे गर्छौ गर, एकपटक मकहाँ आऊ ।’ चारपाँच महिना मकहाँ बसे, मैले सबै सिकाइदिएँ । 

कृष्णप्रसाद पन्त पनि त्यस्तै हुन् । मैले तानेर नै मकहाँ ल्याएको थिएँ । उनी ठूलो विद्वान् हुन् । अंगुरबाबा जोशीले भन्नुभयो, ‘मेरो भाइ बिग्रिने भयो, तपाईंसँग राखिदिनुस् ।’ मैले बोलाएँ । नेपालको कोही ठूलो वकिल छ भने कृष्णप्रसाद पन्त हो ।

अर्को, लक्ष्मणप्रसाद अर्याल । उनी यहीँका बासिन्दा । उनी शिक्षक थिए । त्यस बेला सेक्सन अफिसरको तलब दुईतीन सय थियो । उनले यहाँ (ल फर्म) आएर तीनचार हजार कमाउँथे । मैले भनेँ, ‘ए लक्ष्मण, के पढाउँछौ ! आऊ मकहाँ ।’

उनले भने, ‘हैट, झगडियाको खाने पाप गर्दिनँ !’

अनि, मैले भनेँ, ‘ए, मैले तिमीलाई पापी बनाउने ! लौ, आऊ मकहाँ ।’

हामी त बडो उदार मान्छे । उनी मकहाँ आए, कति ठूला मान्छे भएका छन् त देख्नुभएकै छ नि !

मैले सडकबाट बोलाएर ल्याएका मान्छे ठूला मान्छे हुँदा खुसी लाग्छ मलाई । म मुद्दामा जेजे काम पर्छ, सिकाउँदै गएर परिपक्व बनाउने गरी सिकाउँछु । त्यसैले मलाई सबैले ‘गुरुजी’ भन्छन् ।

म महेन्द्रनगर, विराटनगरमा टेलिफोनबाट पनि वकिलहरूलाई सल्लाह दिन्थेँ । सल्लाह दिने सोख नै थियो मेरो । त्यसैले धेरैको गुरुजी बनेँ ।

न्यायाधीश बन्न लागेको भए त दिएकै थियो नि मलाई ! ०१८ सालमै राजाले ‘पद दिनू’ भनेर मन्त्री तुलसी गिरीलाई पठाएकै थिए । प्रधानन्यायाधीश बन्न सक्थेँ म त्यति बेला नै । त्यस बेलाका प्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंह पनि मेरो नाता पर्थ्यो, ससुरातिरबाट । मेरो ससुराको निकटको मान्छे थिए उनी । उनले त्यस बेला नै मलाई प्रधानन्यायाधीश बनाइदिन्थे ।

मेरो बानी के छ भने, पद लिएपछि गल्ती हुन्छ । गल्ती भएपछि कलंक लाग्छ । मैले पदै लिएको छैन, के गल्ती हुन्छ मबाट ?

यो उमेरमा पनि म एक मिनेट यत्तिकै बस्न सक्दिनँ । मसँग बुद्धि छ, ठिटाहरूलाई सिकाउँछु, यिनीहरूका पछि लाग्नुपर्‍यो ! जे काम सिकेको छु, त्यो सिकाउनु त राम्रो हो नि ! फेरि, मलाई वकिलहरूले गुरुजी भन्छन्, सम्मान गर्छन् । त्यो संगत किन छोडौँजस्तो लाग्छ ।

मैले यसमा के भन्ने गरेको छु भने– बुढो भएपछि मर्नलाई एक करोड रुपैयाँ चाहिन्छ । किनभने, कालले जाल हाल्छ । त्यो जाललाई डाक्टरले काट्न सक्यो भने बाँचिन्छ । काट्न सकेन भने मरिन्छ । केही ठेगान छैन भोलिको । तर, सकेसम्म किन छोडौँ ? मसँग बुद्धि छ भने त्यसको प्रयोग गर्छु ।

म नेत्रज्योति संघमा काम गर्छु । अर्को, नेपाल–रुस मैत्री संघमा, अर्को नेपाल बार एसोसिएसनमा काम गर्छु । बारमा धेरै काम गर्न सकिन्छ ।

मैले विश्वनाथ उपाध्यायसँग पनि संगत गरेँ । उनी त ठूलो विद्वान् मान्छे । ठूला विद्वान् मान्छे अर्कै प्रकृतिका हुन्छन्, जो कोहीलाई टेर्दैनन् पनि । विश्वनाथजीले राजालाई पनि टेरेनन्, बरु झगडा गरेर बसे ।

बनारसमा एमएको जाँच थियो । हामी सबै जाँच छ भने सिरानी किताब राखेर पढ्थ्यौँ । उनीचाहिँ सिनेमा हेर्न जान्थे । उनी फर्स्ट डिभिजनभन्दा कहिल्यै तल गएनन् । उनी त्यस्तो तेज थिए ।

krishnapdbhandari-(10)-1725166701.jpg
 

न्यायालय र सुधारका पाटा
वकिल भएपछि पढ्नुपर्छ । हाम्रो टाइममा के थियो भने, न्यायाधीशले हाम्रो कुरा सुन्थे । वकिल पढेर बहस गर्थे । न्यायाधीश पनि विद्वान् हुन्थे ।

०२३ सालमा हाम्रो अदालत स्वर्गजस्तो । कसरी मैले स्वर्ग भनेँ, हाम्रो वस्ती (पूर्वन्यायाधीश प्रकाश वस्ती)ले एउटा लेख लेखे– उच्चस्तरीय फैसला । ०२०, ०२१, ०२२, ०२३ सालमा उच्चस्तरीय फैसला भए । आज किन भएनन् ?

वकिल पनि बनियाँ (व्यापारी) भए, पढ्दैनन् । एउटा मुद्दा लिनुपर्ने ठाउँमा १० वटा मुद्दा लिएर हिँड्छन्, थन्क्याउँछन् । पढ्दै पढ्दैनन् । न्यायाधीश पनि पटक्कै सुन्दैनन् ।

न्यायका निम्ति सबैभन्दा जरुरी भनेको वकिल हो । जस्तो, जग्गाको मुद्दामा ६ महिनाको म्याद हो, मैले म्याद गुज्रिएको फिराद लेखेँ भने न्यायाधीशले फैसला गर्न सक्छ । मैले फिराद लेखिनँ भने न्यायाधीशले फैसला गर्न सक्छ र ?

फिराद लेख्ने त वकिलले हो, वकिलहरू ठूलो विद्वान् हुनुपर्छ नि ! तर, वकिलहरू पढ्दैनन् । वकिल बनियाँ बन्नु हुँदैन भनेर मैले धेरैअघि लेख लेखेको छु । म आफू त बनियाँ होइन, तर चेलाहरू बनियाँ बनाएको छु । सबैलाई भन्दिनँ, धेरै त विद्वान पनि छन् ।

न वकिल पढ्छन् न न्यायाधीश सुन्छन्, न बुझ्छन् । अनि, न्याय के हुन्छ ? ध्वस्त !

०६३ पछिको एउटा फैसला देखाइदिनुस् त मलाई, जो पढ्न लायक होस् । एउटा छ है, प्रतिनिधिसभा पुनर्स्थापनाको, ईश्वर खतिवडाले लेखेको । त्यो धेरै राम्रो छ । त्यसबाहेक एउटा देखाइदिनुस् ल ।

अदालत राजनीति गर्दै छ । अन्यायमा परेका नागरिकका मुद्दा १० वर्षसम्म हेरिँदैनन् । तर, राजनीतिका मुद्दा कति चाँडो हेरिन्छन् !

एकजना विराटनगरको मान्छे – उसको वकिल त होइन, तर उसले भन्यो, ‘वकिल सा’ब, मर्ने भएँ । एकजना ठूलो वकिल राखेँ, जग्गा बेचेर ८४ हजार दिएको छु । पाँच वर्षदेखि न्यायाधीशले फैसला गर्दैनन् ।’

ल हेर्नुस्, झगडियाको मुद्दा हेर्ने कि, गरिबको मुद्दा हेर्ने कि राजनीति गर्ने न्यायालयले ? 

मैले भनेँ नि, दुनियाँको चासोका विषयमा अदालतको चासो नै छैन । अदालत राजनीति गर्दै छ । सुप्रिम कोर्ट सुपर पार्लियामेन्ट भएको छ, राजनीतिलाई प्राथमिकता दिन्छ । नागरिकलाई न्याय गर्दैन । १० वर्षदेखि मान्छेहरू न्याय कुरिरहेका छन् । मान्छे तबाह भइसकेका छन् ।

न्यायाधीश नियुक्तिमा त प्रस्ट छ, भागबन्डा ! सबै राजनीतिक भागबन्डामा भएको छ । एउटा वकिल उच्च अदालतको न्यायाधीश भयो, त्यो प्रधानन्यायाधीशको गाउँले हुन्छ, तपाईंलाई थाहा छ नि ! यस्तै हुन्छ, नातावाद, परिवारवाद, राजनीतिवाद ! मैले भनिहालेँ नि– सुप्रिम कोर्ट सुपर पार्लियामेन्ट भएको छ ।

तस्बिर/भिडियो–सुनिल प्रधान र सचिन श्रेष्ठ
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ११:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu