मुलुकमा प्रजातन्त्र ल्याउनका लागि धेरैले बलिदान दिए । कतिपयको अंगभंग पनि भयो । कोही विधवा भए त कोही टुहुराटुहुरी पनि भए ।
गाउँबाट सहरमा अध्ययन गर्न आएका सुकदेव पनि आन्दोलनका लागि निकै जोसिएका थिए । नयाँ मुलुक बनाउने सुरमा रहेका आन्दोलनकारीहरू सपना बुन्दै थिए । यसरी सपना बुन्नेमा एक सुकदेव पनि थिए ।
उनी कल्पनामा डुबिसकेका थिए र सोच्थे– प्रजातन्त्र आयो भने त हामीले चाहेअनुसार अवसर पाउँछौँ । जिन्दगी सुखमा बित्छ । जीवनयापनमा पनि खुला दृष्टिकोण अनुभूत हुनेछ । सबै जनताले खोजेबमोजिम सुख र शान्ति हुनेछ । मुलुक समृद्ध हुनेछ ।
प्रजातन्त्र पुनर्स्थापनापछिको पहिलो संसदीय निर्वाचन आउन थाल्यो । दुई वा दुईभन्दा बढी दाजुभाइ भएको घरमा उनीहरू फरकफरक पार्टीको समर्थनमा लागे ।
चार भाइ भएको घरमा ती चार पार्टीका अलगअलग समर्थक भए । कोही नेता बने, कोही कार्यकर्ता त कोही समर्थक अर्थात् मतदाता मात्रै ।
देश मात्र होइन, घरै बहुदलीय बन्न थाल्यो । आफ्नै दाजुभाइका कुरा छिमेकमा बस्ने विचार मिल्नेसँग काट्न थालियो । प्रजातन्त्रले गर्दा घरपरिवारमा नातागोताभन्दा पनि दलीय आस्थाले स्थान लिन थाल्यो ।
यस मामलामा सुकदेव पनि अछुतो रहेनन् । कोहीकोही त आफ्नै दाजुभाइ चुनावको उमेदवार हुँदा बिरानो मान्छेलाई जिताउनतर्फ पनि लागे । घरघरमा, नातासम्बन्धमा राजनीतिक आस्थाको तुषारापात हुन थाल्यो ।
यति मात्र नभएर दाजुभाइका बीचमा बोलचाल पनि हुन छाड्यो ।
सुकदेवले निष्कर्ष निकाले– प्रजातन्त्र ल्याएको त पारिवारिक विखण्डनका लागि पो रहेछ !