site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तीन वर्षअघिको ‘बुल’मा उच्च सेयर मूल्य भएका कम्पनी गुमनाम, सट्टेबाजीमा रमाउँदै ‘ट्रेडर’ 

काठमाडौं । सेयर केही दिनभित्र खरिद–बिक्री गर्ने प्रवृत्तिलाई ‘सट्टेबाजी’का रुपमा परिभाषित भएको छ ।  कम्पनीको वित्तीय अवस्था अध्ययन गरी लामो समय प्रतिफल दिने कम्पनीमा गरिने लगानीलाई सेयरमा दिगो लगानी भनिन्छ ।

यतिखेर छिटो–छिटो नाफा कमाउन वित्तीय अवस्था कमजोर भएका कम्पनीमा पनि लगानीकर्ताहरू आकर्षित भएको देखिन्छ ।  यसको अर्थ सेयर बजारमा ‘ट्रेडर’हरु उत्साहित भएको मानिन्छ । वित्तीय अवस्था जस्तो भए पनि कम सेयर कित्ता भएका कम्पनीहरूमा पनि लगानी गर्दै नाफा आर्जनको होडमा छन् । 

यसरी बजारका कमजोर वित्तीय अवस्था भएका कम्पनीमा लगानीकर्ता आकर्षित हुँदा ‘ब्लु चिप’ मानिने कतिपय कम्पनीको सेयर मूल्य अझै पनि न्यून छ ।  यस्ता कम्पनीमा लगानीकर्ताहरू पसेका छैनन् । बजारमा सेयर खेलाडीहरू प्रवेश गरेकाले जस्ता सुकै वित्तीय विवरण भएका कम्पनीहरूको मूल्य बढेको तर्क कतिपयको भनाइ छ । 

Dabur Nepal
NIC Asia

‘ब्लु चिप’ सेयरको उदाहरणका रूपमा हिमालयन डिष्टिलरी, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल टेलिकम, नागरिक लगानी कोष तथा केही लघुवित्तलाई पनि लिन सकिन्छ । यी कम्पनीको सेयर मूल्य कम नै छ । 

अर्थतन्त्रमा देखिएको शिथिलताका कारण यी कम्पनीको नाफामा प्रभाव देखिएको भएपनि वर्षाैँदेखि प्रतिफल नदिने कम्पनीको सेयर मूल्य उच्च रूपमा बढ्दा बजारका ‘ब्लु चिप’ सेयर ओझेलमा परेको देखिन्छ । 

लामो समयदेखि नाफा कमाउँदै आएको तथा लगानीकर्तालाई प्रत्येक वर्ष उच्च प्रतिफल (लाभांश) दिँदै आएका कम्पनीको सेयरलाई ‘ब्लु चिप’ सेयर भनिन्छ । यस्ता कम्पनीहरूले लगानीकर्ताको विश्वास जितेका हुन्छन् भने अन्य कम्पनीभन्दा यी कम्पनी लगानीकर्ताप्रति तुलनात्मक रूपमा जवाफदेही हुन्छन् ।

ब्लु चिप मानिने केही कम्पनीहरू  

हिमालयन डिष्ट्रिलरी

यसअघि सेयरधनीलाई उच्च प्रतिफल दिँदै आएको हिमालयन डिष्ट्रिलरीको सेयर मूल्य १५ सयको हाराहारीमा छ । तीन वर्षअघिको बुलमा यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता सात हजार ५३५ रुपैयाँ थियो । यो २०७८ भदौ २ गतेको मूल्य हो । यो कम्पनीको लाभांश इतिहास हेर्दा १०० प्रतिशतसम्म दिएको छ । 

कम्पनीले प्रत्येक वर्षजसो लाभांश दिएको छ । पछिल्लो समय यो कम्पनीको नाफामा कमी आएको र चुक्ता पुँजी बढ्दै गएकाले पनि सेयर मूल्य घट्दै आएको देखिन्छ । 

तर, कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा ३५ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो कम्पनीले आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म ६६ करोड पाँच लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी पनि अघिल्लो वर्षको असार मसान्तसम्मको तुलनामा ११ रुपैयाँ ५१ पैसाले घटेको छ ।

तर, कम्पनीले आफ्नो व्यापारलाई आगामी दिनमा बढाउँदै जाने प्रतिबद्धता वित्तीय विवरणमा उल्लेख गरेको छ । 

नबिल बैंक 

वाणिज्य बैंकहरूमध्ये सबैभन्दा अब्बल मानिने नबिल बैंकले प्रत्येक वर्ष सेयरधनीलाई उच्च प्रतिफल दिँदै आएको छ ।  यसअघि २०७८ को बुलमा यो बैंकको सेयर मूल्य १५ सयसम्म पुगेको थियो । तर, यो बैंकको मूल्य साढे ६०० को हाराहारीमा छ । 

प्रत्येक वर्षजसो बैंकले उच्च दरमा दिएको लाभांशले सेयर कित्ता बढेको र नेपाल बंगलादेश बैंकसँग मर्जरमा गएपछि बैंकको आम्दानीमा केही कमी आएको छ । चुक्ता पुँजी बढ्दै जाँदा पनि यो बैंकका लगानीकर्ताले पाउने प्रतिफलदर घट्ने अनुमान लगाउन सकिन्छ । गत वर्ष कम्पनीले ११ प्रतिशत नगद लाभांश दिएको थियो । 

गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले सात अर्ब ६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा यो बैंकले ६ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन गर्दा ११ प्रतिशत नगद लाभांश दिएको थियो । 

यो वर्ष पनि बैंकले १४ प्रतिशत लाभांश दिने क्षमता रहेको वित्तीय विवरणमा उल्लेख छ । गतवर्षको अन्तिमसम्म बैंकको प्रतिसेयर आम्दानी पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०७९÷८० को अन्त्यसम्म २३ रुपैयाँ ६७ पैसा थियो । गत असार मसान्तसम्म यो बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ९ पैसा छ । 

यसको अर्थ एक कित्ता सेयर बराबर २६ रुपैयाँ ९ पैसा बैंकको आम्दानी छ । 

नेपाल टेलिकम 

नेपाली धितोपत्र बजारमा ‘ब्लु चिप’को रूपमा नेपाल टेलिकमको सेयरलाई पनि लिइन्छ ।  यो कम्पनीले सेयरधनीलाई प्रत्येक वर्ष ४० प्रतिशतभन्दा बढी लाभांश दिँदै आएको छ । हाल यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजारको हाराहारीमा छ । यसअघि २०७८ को बुलमा यो कम्पनीको सेयर मूल्य १५ सयसम्म पुगेको थियो । 

यो वर्ष कम्पनीको नाफा घटेकाले गएका वर्ष जस्तो लाभांश बढ्न नसक्ने अनुमान गर्न सकिन्छ ।  अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ थियो भने गत वर्षको अन्त्यसम्म घटेर ३६ रुपैयाँमा झरेको छ । 

तर, कम्पनीका आधारभूत वित्तीय सूचकहरू भने अन्य कम्पनीको तुलनामा सकारात्मक छन् । कम्पनीको प्रतिसेयर नेटवर्थ ५२५ रुपैयाँ ४३ पैसा छ । गत असारसम्म कम्पनीले ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

अघिल्लो वर्षको त्यही अवधिमा यो कम्पनीले करिब आठ अर्ब रुपैयाँ नाफा आर्जन गरेको थियो । 

नेपाल लाइफ इन्स्योरेन्स 

नेपाल लाइफ इन्स्योरेन्सले गतवर्ष २१.०५ प्रतिशत लाभांश दियो ।  यसअघिका वर्षहरूमा पनि यो कम्पनीले उच्च दरमा लाभांश दिएको उदाहरण छ । आर्थिक वर्ष २०६९/७० मा यो कम्पनीले ९८.५ प्रतिशत लाभांश दिएको थियो । 
त्यसपछि कम्पनीले ७०, ६८ तथा ५१ प्रतिशतसम्म लाभांश दिएको तथ्यांक छ । 

नेपाली सेयर बजारमा यो कम्पनीलाई पनि ‘ब्लु चिप’ सेयर मानिन्छ । गएको ‘बुल’मा यो कम्पनीको सेयर मूल्य तीन हजारसम्म पुगेर झरेको थियो । २०७७ को मंसिर–पुसमा यो कम्पनीको सेयर मूल्य तीन हजार रुपैयाँसम्म पुगेको थियो । तर, २०७८ को साउन–भदौमा कम्पनीको सेयर मूल्य १५ सयसम्म झरिसकेको थियो । 

गतवर्ष भने कम्पनीले आफ्नो वित्तीय विवरणमा सुधार गरेको छ । प्रतिसेयर आम्दानीका साथै कम्पनीको नाफा पनि बढेको छ । यो कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म ५१ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा यो कम्पनीले ३९ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  यो कम्पनीको असार मसान्तसम्म प्रतिसेयर आम्दानी ६ रुपैयाँ २६ पैसा छ ।  अघिल्लो वर्ष प्रतिसेयर आम्दानी चार रुपैयाँ आठ पैसा हुँदा २१ प्रतिशत लाभांश दिएको यो कम्पनीले यो वर्ष केही बढाउने संकेत देखाएको छ । 

अघिल्ला वर्षभन्दा गतवर्ष नाफामा पनि वृद्धि भएको छ । हाल यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता नौ सयको आसपास छ । 

नागरिक लगानी कोष

नेपालको धितोपत्र दोस्रो बजारमा वित्तीय सूचकहरु सबल भएको कम्पनी नगारिक लगानी कोष पनि हो ।  प्रत्येक वर्ष जसो लगानीकर्तालाई प्रतिफल दिँदै आएको यो कम्पनी नेपालको धितोपत्र दोस्रो बजारमा ‘ब्लु चिप’ सेयरको रूपमा परिचित छ ।
गएको बुलमा यो कम्पनीको प्रतिसेयर मूल्य पाँच हजारभन्दा बढी थियो ।  तर, यो कम्पनीको सेयर मूल्य २५ सय आसपास छ ।  अघिल्लो वर्ष एक अर्ब २२ करोड रुपैयाँ नाफा गरेको यो कम्पनीले गत वर्ष १४.७४ प्रतिशत लाभांश दिएको थियो । 

सो वर्ष कम्पनीको लगानीमा प्रतिफल ९.४० प्रतिशत थियो । त्यस्तै प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ४६ पैसा थियो । प्रतिसेयर आम्दानी भने २३ रुपैयाँ तीन पैसा थियो । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले एक अर्ब १० करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको छ । 

लगानीमा प्रतिफल ८.२० प्रतिशत छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ बढेर १७१ रुपैयाँ ४५ पैसा पुगेको छ । तर, अघिल्लो वर्षको तुलनामा प्रतिसेयर आम्दानी भने २० रुपैयाँ ७५ पैसा कायम भएको छ । 

बजारमा वित्तीय सूचकहरू सकारात्मक भएका र प्रतिफल दिन सक्ने कम्पनीहरू प्रशस्त छन् ।  तर, ती कम्पनीको सेयरमा भन्दा वर्षाैदेखि प्रतिफल नदिएको नेपाल फाइनान्स जस्ता कम्पनीको सेयर मूल्य उच्च दरले बढेको छ । 
फाइनान्स समूहमा पनि राम्रो मानिने मन्जुश्रीलाई भन्दा प्रतिफल नदिने नेपाल फाइनान्सलाई लगानीकर्ताले रूचाएको देखिन्छ ।  खेलाडीहरूले गर्दा कमजोर वित्तीय स्थिति भएका कम्पनीको मूल्य अत्यधिक बढेर सर्वसाधारण फस्ने जोखिम बढेको छ । 

नेपाल फाइनान्सको सेयर मूल्य दुई हजारको आसपासमा छ । यो कम्पनीको सेयर मूल्यले २६ सय पार गरेको थियो । २६ सयमा यो फाइनान्सको सेयर किन्ने लगानीकर्ताले प्रतिकित्ता ६०० रुपैयाँ घाटा व्यहोरेको छ ।

लगानीकर्ताले दोस्रो बजारमा सेयर खरिद गर्दा वित्तीय सूचक अध्ययन गर्नुपर्छ । 

तर, प्रतिसेयर नेटवर्थ ऋणात्मक भएका कम्पनीको सेयर मूल्य पनि बजारमा उच्च छ । यसको अर्थ बजारमा खेलाडीहरूको दबदबा बढेको बुझ्न सकिन्छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ०९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro