लञ्च ब्रेकमा एक नेपाली सहकर्मी आफ्ना छोराछोरीलाई फोनबाट हप्काउँदै थिए । उताबाट छोराछोरी राम्रो अंग्रेजीमा एकले अर्का प्रति गुनासो गरिराखेका थिए । 'दिदीले यसो गरि' भनेर भाईले भन्दैथियो भने दिदी भने 'भाईले आफ्नो किताब छरपष्ट पारेको' गुनासो गर्दै थिइन् । यता मेरा सहकर्मी रहेका उनीहरुका पिता भने बडो सकससँग कनिकुथी अंग्रेजीमा 'ज्ञानी भएर बस्न' सुझाउँदै थिए ।
तीन मिनेटसम्म उनीहरुको वार्ता सुन्दा मनमा यस्तो लाग्यो सकिनसकी, बच्चाहरुले समेत बुझ्न गाह्रो हुनेगरि अंग्रेजी बोल्नुको साटो बरु नेपालीमै बोलेको भए पनि त राम्रो हुने थियो । अमेरिकामै जन्मिएका ती बच्चाहरुले आफ्नो मातृभाषामा सिक्ने अवसर त पाउने थिए । साथीको ब्रोकन अंग्रेजी बोलाईले यी छोराछोरीको शव्दज्ञानमा दुर्घटना थप्ने भन्दा केही योगदान गर्लान जस्तो लागेन ।
छोराछोरीसँगको उनको वार्तालाप सकिएपछि मैले उनलाई जिस्काएँ 'आफ्नो अंग्रेजी सुधार्दै हुनुहुन्छ कि बच्चाहरुको बिगार्दै हुनुहुन्छ ?' उनी स्पष्टीकरणले म चकित परेँ-'के गर्नु नेपालीमा बोलेको बुझ्दै बुझ्दैनन् ।'
बच्चाहरूले नेपाली नबुझ्ने भन्ने त उनको वहाना मात्र थियो । खास चाहना त बच्चाहरुसँग अंग्रेजीमा बोल्दा समाजले ओहो ठूलो भनिदिन्छ, गर्व महसुस हुन्छ भन्ने उनको मनोभाव बुझ्न मलाई गाह्रो भएन । वरिपरी बसेकाले सुन्दा पनि ओहो कस्तो खररर अंग्रेजी बोलेको भन्ने परोस् भन्ने आशय पनि थियो । शायद नेपालमा भए कसैले त्यस्तो सोचिदिन्थ्यो कि मेरा ती सहकर्मीका लागि । तर यता अमेरिकामा भने कनिकुथी सकस पूर्वक अंग्रेजी बोलेको विषयलाई कसैले चासो लिएको म पाउँदिन ।
ती मेरा सहकर्मी एउटा उदाहरण मात्र हुन् । अमेरिकामा रहेका हजारौं अभिभावकहरु आफ्ना छोराछोरीले नेपाली नबुझिदिउन् भन्ने अपेक्षा राख्छन् । बच्चाहरुले नेपालीमा बोल्दै नबोलुन् भन्ने चाहन्छन् । अनि बच्चाहरुले नेपाली नबुझेकोमा गर्व गर्छन् । बच्चाहरुले नेपाली बोलिहाले भनेपनि बुझ्दैनन् भन्दै आफै सकिनसकी अंग्रेजीमा बोलेर बच्चाहरुलाई जवाफ फर्काउछन् । 'अमेरिकामा बसियो, नेपाली पढेर बुझेर कहाँ काम लाग्छ र ?' भन्ने अभिभावकहरु धेरै भेटिन्छन् । बरु अंग्रेजी राम्रोसँग जाने भने त अमेरिकामा भविष्य गज्जबकै हुन्छ भन्ने धारणा बोकेका नेपाली अभिभावकहरु धेरै छन् ।
आफ्नो अंग्रेजी परफेक्ट नहुँदा पाएको हण्डर सम्झिएर छोराछोरीको अंग्रेजी बोलाई खररर होस् भन्ने चाहना राख्ने नेपालीहरु पाइला पाइलामा भेटिन्छन् ।
माफ गर्नुस् सबै अभिभावकहरुलाई मैले एकै घानमा हाल्न खोजेको होइन । तर १२ बर्ष भन्दा लामो अमेरिका बसाईमा जहाँजहाँ पुग्छु, नेपाली समुदाय, परिवारसँग ठोकिएकै हुन्छु । अनि बच्चाहरुसँग नेपालीमा कुराकानी गर्न खोज्यो नेपाली शव्द नबुझेर उनीहरु अकमकिन्छन् । हत्त न पत्त बाबुआमाहरु अगाडी सरेर भन्छन् 'हेर्नुस् न यस्ले त नेपाली बुझ्दै बुझ्दैन ।' अझ यसो पनि भन्न भ्याउँछन् -'पत्रकारको भाषा कहाँ यहाँ हुर्किएका बच्चाले बुझ्छन् र ?'
आधिकारिक तथ्यांक नभएपनि अमेरिकामा झण्डै तीनलाखको हाराहारीमा नेपाली छन् । धेरथोर मात्र हो नेपालीहरु अमेरिकाका ५० वटै राज्यमा छन् । कुनै राज्यहरुमा नेपालीहरुको निकै बाक्लो जनसंख्या छ । अधिकांश राज्यहरुमा भने नेपालीको संख्या पातलो छ । टेक्सस, क्यालिफोर्निया, न्यूयोर्क, कोलोराडो, वासिङ्गटन, भर्जिनिया, मेरिल्याण्ड, म्यासाचुसेट, केन्टकी, नर्थ क्यारोलाइना लगायतका राज्यहरुमा नेपालीहरुको उल्लेख्य बसोबास छ । नेपालीहरुको संख्या अनुसार नेपालमै जन्मिएर यता आएका र यता जन्मिएकाहरु पनि बराबरी जस्तै छन् ।
तर अधिकांश बच्चाहरु मज्जाले नेपाली बोल्न सक्दैनन् । धेरैले बुझ्छन्, तर दोहोरो कुराकानी गर्न सक्दैनन् । अर्थात बच्चाहरुले जवाफ फर्काउन सक्दैनन् । जवाफ फर्काउनका लागि अंग्रेजीनै प्रयोग गर्छन् । नेपालीमा लेख्ने कुरा त धेरै परको विषय भयो ।
नेपालमै प्राथमिक तह पुरा पढेर आएका बच्चाहरु नेपालीभाषामा पढ्न, लेख्न, बोल्न सक्छन् । तर नियमित लेखाईको अभ्यास नहुँदा नेपालमै लेख्न सक्ने बालकहरु समेत यहाँ आएर हाइस्कुलसम्म पुग्दासम्म नेपालीमा लेख्न बिर्सिएका धेरै उदाहरणहरु छन् । तिनले बोल्न सक्छन्, पढ्न सक्छन् । तर लेख्न चाँही निकै सकस परेको देखिन्छ ।
मातृभाषामा बोल्न, पढ्न र लेख्न सकुन् भन्ने उदेश्यले अमेरिकामा धेरै देशका आप्रवासीहरुले कक्षाहरु सञ्चालन गर्दै आएका छन् । विशेषगरि आफ्नो सामुदायिक केन्द्र, चर्च, मस्जिदहरुमा यस्ता कक्षाहरु चल्छन् । भारतीयहरु आफ्नो भाषा, संस्कृति जोगाउने मामिलामा निकै अगाढी छन् । मन्दिर, सामुदायिक केन्द्रहरुमा हरेक सप्ताहन्त (शनिबार र आइतबार) कक्षा चलाएर आफ्नो भाषामा पढ्न, लेख्न सिकाउँदै आएका छन् । परिवारमा पनि अंग्रेजी भन्दा आफ्नै भाषा हिन्दी, तमिल, उर्दु, बंगाली, मराठी, गुजराती लगायत पढाउने गरेको देखिन्छ । ताकी बच्चाहरुले आफ्ना बाजे, बजैसँग कुराकानी गर्न सकुन् भनेर आफ्नो भाषालाई जोड दिँदै आएका छन् ।
एक दशक अघि म टेक्ससको छिमेकी राज्य ओक्लोहामामा रहँदा एक भारतीय र मेरो अपार्टमेन्ट जोडिएको थियो । त्यसैले हामीबीच चिनजान भयो । उनका दुई साना बच्चाहरु मज्जाले हिन्दीमा बोल्थे । उनीहरु स्कुल जान्थे । तर परिवारसँग हिन्दीमै कुराकानी गर्थे । लोग्ने कम्प्युटर इन्जिनिएर थिए । पत्नी पनि सूचना प्रविधिकै क्षेत्रमा काम गर्थिन् ।
उनीहरुका दुबै बच्चाहरु अमेरिकामै जन्मिएका थिए । कति परफेक्ट हिन्दी बोल्दा रहेछन् बच्चाहरु यो कसरी संभव भयो भनेर एक दिन मैले सोधिहालेँ । उनले परिवारमा अंग्रेजी बोल्न नपाइने नियम बनाएकोले यो संभव भएको बताए । 'बच्चाहरु स्कुल गएपछि अंग्रेजी उसै बोलिहाल्छन्, उनीहरुको अंग्रेजी स्कुलको पढाईले हाम्रो भन्दा निकै राम्रो हुन्छ । त्यसमाथि कार्टुन हेरेर उनीहरुको अंग्रेजी राम्रो भैहाल्छ' उनले भने । परिवारमा हिन्दी बोलेपछि उनीहरुले भाषा कहिल्यै नबिर्सने समेत उनले बताए । हरेक शनिबार र आइतबार भारतीय कम्युनिटीले चलाएको भाषा कक्षामा पनि बच्चाहरुलाई लिएर जान्थे ।
नेपाली समुदायमा पनि बच्चाहरुलाई नेपाली भाषा बिर्सने अवस्था ल्याउनु हुँदैन भनेर केही राज्यहरुमा, नेपालीहरु धेरै रहेको सिटीहरुमा सामुदायिक केन्द्रले प्रयास गरिरहेका छन् । ड्यालस, न्यूयोर्क, लसएन्जलस, सानफ्रान्सिस्को, डेनभर, मनासस, ओरल्याण्डो जस्ता सिटीहरुमा बच्चाहरुलाई नेपाली भाषा कक्षाहरु व्यबस्थित रुपमा र नियमित तवरले चलेका छन् । जसबाट बच्चाहरुले आफ्नो मातृभाषा बोल्न, पढ्न र लेख्न जानेका छन् ।
तर अधिकांश कामकाजी नेपालीहरु भने समय नभएको वहाना बनाउँदै आफ्ना छोराछोरीलाई यस्ता मातृभाषाका कक्षाहरुम पठाउन उत्सुक देखिदैनन् । नेपाली भाषा पढेर, जानेर ठूलो बनिदैन भन्ने सोचले यस्ता क्लासहरुमा पठाउन अभिभावकहरु निष्कृय छन् ।
बच्चाहरुले नेपाली भाषा नजान्दा भएको पीडाबारे केही वर्ष अघि नेपालबाट भरखरै आउनुभएकी एकजना आमाले मसँग गुनासो गर्नुभएको थियो । झण्डै २०/२२ नेपाली परिवार भएको अपार्टमेन्ट कम्प्लेक्समा हाम्रो परिवार बस्थ्यौँ । एक बिहान मर्निङ्गवाक गने क्रममा एकजोडी बा आमा भेटिनुभयो । ती बा आमाको पहिरनले मैले नेपाली भनेर छुट्याइहाले । नमस्कार आदान प्रदान भयो ।
छोराबुहारीले बोलाएर उहाँहरु अमेरिका आउनुभएको रहेछ । दशैं मनाएर फर्कने सोचका साथ आउनुभएको उहाँहरुले सुनाउनुभयो ।
'खै बा, अरु त ठीकै हो । नाती नातिनाले बोलेको चाँहि फिटिक्कै बुझिदैन । हामीले बोलेको अलिअलि बुझ्दा रहेछन् । उनीहरुले बोलेको बुझे मरिजानु । यिनै नाति नातिना हेर्न भनेर आएको यिनै टाढाटाढा हुन्छन् । यिनका कुरा हामीले नबुझेपछि समय बिताउन साह्रै सकस पो भयो' ती बाले दुःखेसो पोख्नुभयो ।
के रहेछ त भनेर एक शनिबार बिहान उनीहरुको अपार्टमेन्टमा पसेँ । ती बृद्ध बा आमाका छोराबुहारीले आफ्ना छोराछोरीसँग टुटे फुटेको अंग्रेजीमा बोल्ने रहेछन् । उनीहरुको नियत छोराछोरीसँग अंग्रेजी बोलेर भाषा सुधार्ने रहेको अनुभव मैले गरेँ ।
न त सामुदायिक केन्द्रमा ती बच्चाहरुलाई नेपाली भाषाको कक्षामा भर्ना गरिएको रहेछ, नत घरमै क, ख, ग, घ को पढाई । अनि नेपालको पहाडबाट आएका ती बा आमा नाति नातिनाको अंग्रेजी बोलाईले किन दिक्दारी नहुन् ? ६ महिनाको लागि आएका ती बा आमा तीन महिनामै फर्किनुभयो ।
मातृभूमिभन्दा बाहिर बसेकाहरुलाई कसरी आफ्ना छोराछोरीको मातृभाषामा पोख्त बनाउने भन्ने विषयमा अलाइन्ज केयरले व्यबहारिक सुझावहरु दिएको छ । जस अनुसार बच्चाहरुसँग घरमा आफ्नो मातृभाषा बोल्ने, कृयापद शब्दको प्रयोग गर्ने, बच्चाहरुसँग मातृभाषामा बनेका फिल्म, डकुमेन्ट्री हेर्ने, बच्चाहरुको भावना बुझेर उनीहरुले चाहेका विषयमा मातृभाषामा कुराकानी गर्ने, घरमा मातृभाषा बोल्ने साथीभाई आफन्तहरुको जमघट गराइरहने सुझाव दिएको छ ।
मातृभाषामा निपुण बनाउन घर बाहिरका लागि अलग्गै सुझाव दिइएको छ । जस अनुसार मातृभाषा पढाई हुने कक्षामा भर्ना गरिदिने, आप्रवासीहरुको समूहमा सहभागी गराउने, आफनो जुन देशबाट आएको हो त्यो देशमा बच्चाहरुलाई लिएर नियमित रुपमा गैरहने लगाएत छन् ।
मातृभूमिभन्दा पर आएर बसेका अभिभावकहरुले आफ्ना छोराछोरीलाई अहिले आफ्नो भाषा नसिकाउने हो भने अहिलेका बच्चाहरु भन्दा पछिका पुस्तामा नेपाली भाषा सर्दैन । यो त पछिको कुरा भयो अहिलेनै बच्चाहरुलाई भाषा नसिकाउने हो भने नेपाल जाँदा साइनबोर्डमा लेखेको बुझ्ने छैनन् । सरकारी कागजपत्रमा लेखिएको व्यहोरा पढ्न र बुझ्न खेताला खोज्नुपर्ने दुर्दिन आउनेछन् ।
अमेरिकामा रहेका अधिकांश पहिलो पुस्ताका नेपालीहरुका बच्चाहरु जो नेपाली भाषा घरमा बोल्न गाह्रो मान्छन्, नेपाली सिक्न सामुदायिक कक्षाहरुमा सहभागी हुँदैनन् तिनीहरु नेपालमा कागजपत्र, साइनबोर्ड पढ्न नसक्दा त्यतिखेर गर्वको भन्दा लज्जाको महसुस हुनेछ । त्यो दुर्दिन आउन नदिन आजैदेखि गंभीर हुन जरुरी छ । किनकी बच्चाहरुको उमेर छिप्पिएपछि सिकाउन उतिनै कठिन हुन्छ ।