site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
अब तिमीले मलाई जान देऊ

अब तिमीले मलाई जान देऊ । अब तिमीले मलाई जान दिनुपर्छ । मलाई बिदाबारी गरिदिनुपर्छ । बिदाइमा आँसु झार्न सुहाउँदैन । मुस्कानमय उपस्थितिमा मलाई जान दिनुपर्छ । कति रहर गुम्स्याउनु, कति भावनाहरूले वेग मार्नु, कति अनुनयविनयको विलाप गर्नु !

आखिर एक दिन त छुट्टिनु नै छ । थाहा छैन, आफूदेखि आफैँ पनि कहाँ पुग्नुपर्ने हो ! कुन दिन के हुन्छ कसैलाई थाहा हुँदैन । जानुपर्ने कहाँ हो यो भवसागरमा, हामी यता भौँतारिरहका छौँ । यता तड्पिरहेका छौँ । यो मेरो, यो तेरो भन्दै लोभ र स्वार्थमा फसिरहेका छौँ । मायाको जालमा भुलिएका छौँ ।

थाहै नपाई कसैलाई प्रेमले चुमिरहेका छौँ । कसैलाई घृणाले थुकिरहेका छौँ । कसैलाई पराई ठानेर चिन्दैनौँ । कसैलाई आफन्त भनेर नजिकिन्छौँ । सधैँ हतार र दौडधुपकै धपेडीमा छौँ ।

Dabur Nepal
NIC Asia

अब मैले उन्मुक्त उडानको यात्रा थाल्नु छ । अब म फुक्का भएर यात्री बन्नु छ । मलाई कसैले नचिनून् । मलाई कसैले नभेटून् । भीडहरूमा पनि म एक्लै हुँ । अनेक तनाव, अनेक झमेलाहरूबाट मुक्त । म अब स्वतन्त्र, शान्त ।

मैले जानुपर्ने मेरो गन्तव्य अझै धेरैधेरै टाढा छ । त्यहाँसम्म पुग्न सजिलो नहुन सक्छ । तर, पुगेर पाइने प्राप्ति निकै सुखद र स्वर्णिम हुनसक्छ ।

सफलता भेट्नलाई सजिलो छैन । गन्तव्य पुग्नलाई नजिक छैन । आफन्त हुनलाई आफ्नै परिवारको मात्र भएर पुग्दैन । पराई हुनलाई परिवारकै सदस्य पनि काफी हुनसक्छ । माया गर्नलाई मन परेकै मान्छे हुनु पर्दैन ।

सफलता भेट्नलाई पीडा सहनुपर्छ । चोट बिर्सिनुपर्छ । सजिलै पाइँदैन सफलता । अनेक जंघार छिचोल्नुपर्छ । काँडा टेकेर हिँड्नुपर्छ । घृणालाई पचाउन सक्नुपर्छ । प्रशंसाले मात लाग्नु हुँदैन ।

त्यहाँसम्म पुग्न अब मलाई स्वतन्त्र छोडिदेऊ । कहिले झरनासँग हाम फालेर झर्छु । कहिले नदीसँगै शान्त हुँदै बग्छु । कहिले चुपचाप सोचाइमा मग्न हुँदै पोखरीमा बस्छु ।

त्यसैले भो अब नरोक मलाई । मेरो बाटो छोडिदेऊ । गोधूलि घर्केर मस्त निद्रामा निस्लोट हुने बेला भइसक्यो । म जता जान्छु त्यतै जान देऊ । कहिले हावासँग आकाशभरि उडी जान सक्छु । कहिले बादलभित्र लुकामारी गर्दै खेल्न पुग्छु । कहिले घामपानीमा रुझ्दैभिज्दै इन्द्रेणी रङमा यौवनका रङहरू उमार्छु । बग्दै, खेल्दै, डुल्दैडुल्दै सागरसम्म पुग्न सक्छु ।

अब तिमीले मलाई जान देऊ । मेरो खुसीमा मलाई रमाउन देऊ । तिमीले मलाई एक्लै छोडिदेऊ । म जता जान्छु जान देऊ । मेरो खोजी नगर । मेरो सम्झना पनि केही नगर । मलाई मभित्र पस्न देऊ । मलाई मेरो मनमा रमाउन देऊ । मलाई एक्लै एकान्तमा बस्न देऊ । मलाई मेरो अतीततिर फर्किने फुर्सद देऊ । मलाई भविष्यको योजना बुन्ने अवसर देऊ ।

कसैको बन्धन कहिल्यै नचाहने म । कसैको आरोप, धम्की, घुर्की र गाली कहिल्यै नसहने म । कसैको चित्त नदुखाउने, सबैको भलोमा भविष्य देख्ने मान्छे । शुभमंगलको कामना गर्दै सबैको शुभचिन्तक, शुभेच्छुक मान्छे म । कतै विध्वंश गर्ने । कसैलाई हानिनोक्सानी गर्ने मेरो मनसाय होइन । बरु, सप्रेम सद्भाव बाँड्ने बानी मेरो ।

मैले कसैलाई खुसाउनु छैन । कसैलाई रिझाउनु र झुकाउनु छैन ।

म आफ्नै प्रयत्नमा प्रसन्न । म आफैँसँग प्रफुल्ल । कसैले प्रशंसा गरे पनि, नगरे पनि । कसैले गाली गरे पनि, नगरे पनि ।

मैले कसैलाई झार्नु र माथि उठाउनु छैन । बजार्नु र बझाउनु, जुधाउनु पनि छैन । सकेको सहयोग, शुभेच्छाले सरोबरी सन्तुलन कायम राख्ने चाहना मेरो ।

जहाँ कुनै किसिमको आरोप–प्रत्यारोपको झटारोले घाइते मन हुँदैन । जहाँ शान्त, शीतल, समुन्नत सुहाग–सौन्दर्यका मुना–मुजुराहरू पल्लवित र पुष्पित भइरहेका हुन्छन् । हाँसिरहेका मनहरू हुन्छन् । नाचिरहेका र गाउँदै रमाइरहेका तनहरू हुन्छन् ।

त्यहाँ कुनै शंका, स्वार्थ र षड्यन्त्र समेत हुँदैन । त्यस्तो समाज जहाँ सबैमा हार्दिक प्रेमले मायालु वातावरण स्वतः निर्माण भइरहेको हुन्छ । न कसैको निन्दा र चासो । न कसैको मिथ्या विरोधको बमबारी हुन्छ । जहाँ जताततै शान्त सरोबरको साम्राज्य हुन्छ । त्यहाँ मन खुसीमा एक्लै हाँस्न सक्छ ।

मैले खोजेको यस्तै ऊर्जामय आगत । उन्नति र प्रगतिको चाहनाले सधैँ उत्प्रेरित जीवन । जहाँ उल्लासले अँगाल्न आऊन् । जहाँ प्रेमले चुम्न खोजून् । मायाले सुम्सुम्याउन आऊन् । त्यहाँ दुःखहरू पनि हाँसिरहेका हुन् । त्यहाँ काँडाहरू पनि कोमल बनून् ।

यस्तो यात्रामा प्रस्थान हुँदै गर्दा कलश–घडा, फूल–प्रसादले बिदाइ गर्नु पर्दैन । कुनै तयारीको आवश्यकता पर्दैन । पोकापन्तरो, खर्चबर्च चाहिँदैन । मात्र निर्बन्ध मन होस् । उन्मुक्त मन होस् । धैर्य र साहसले सधैँ साथ देओस् । तनमन रोगी मानसिकताको सिकारमा कहिल्यै नपरोस् । नकारात्मक विचारको भड्खालोमा नजाकियोस् ।

हिँड्ने बाटो र पुग्ने गन्तव्यका पाइला–पदचापहरूका सारा तगाराहरू दूर भागून् । बर्खाका खाल्डाखुल्डी र झोरझाडी पन्छाउँदै गन्तव्य छिचोल्ने दृढ अठोटले सफलता भेट्न सकोस् ।

म यौटा कोमल मनको बरा बिचरा विवश । अब मलाई एक्लै छोडिदेऊ । मेरा रहरहरूमा, मेरा चाहनाका चाङहरूमा मलाई जता जान मन लाग्छ त्यतै जान देऊ ।

मैले कसैको खुसी खोसिनँ । मैले कसैलाई दुःख दिने चेष्टा गरिनँ । म कसैको खुसीमा रमाइनँ । बरु, आफ्नै दुःखमा रमाएँ । सहारा कसैको खोजिनँ । चाकडी कसैको गरिनँ । मैले कसैको मन दुखाइनँ । मैले कसैको भाग खोज्ने काम गरिनँ । कसैको भाग खोसिनँ ।

म आफैँमा सन्तुष्ट । म आफैँसँग प्रफुल्ल । मलाई कसैको जडाउरी खुसी चाहिँदैन । म कसैको निन्दा र प्रशंसा गर्न रुचाउँदिनँ । मलाई मेरै संस्कृति प्यारो । मलाई मेरै परिवेश प्यारो । मलाई मेरै धरती प्रिय । मलाई मेरै प्रकृति राम्रो ।

तिमीलाई नभेटेर पनि केही भएको छैन । केही हुने पनि होइन होला । भेटेर पनि केही भएको छैन । तिमीलाई भेटेर अफसोस छैन । नभेटेको भए के हुन्थ्यो होला भन्ने सोच्छु । तर, जे हुनुपर्ने थियो त्यही हुन्छ । भेटेर भवितव्य केही बिग्रिने होइन ।

मैले पुग्नुपर्ने अझै धेरै टाढा छ । मैले जानुपर्ने गन्तव्यहरू धेरै छन् । अब तिमीले मलाई जान देऊ । अब तिमीले मलाई बिदा देऊ । मन रुवाएर होइन, मन दुखाएर होइन, राजीखुसीले मनभित्रैबाट बिदा देऊ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ०५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro