site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कुलमानलाई ऊर्जामन्त्रीको जवाफ– उद्योगको लाइन काटेर बस्नु घाँटी काट्नुसरह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगमा विद्युत् काट्न नहुने बताएका छन् । शनिबार नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सरकारले उद्योगीले विद्युत् उपभोग गरेको रकम तिर्नु पर्दैन नभनेको उनले उल्लेख गरे । तिर्ने विषय न्यायोचित छ वा छैन भन्ने जिम्मेवारी राज्यले लिनुपर्नेमा उनले जोड दिए । बक्यौता रकम नतिर्ने उद्योगलाई दण्ड, सजाय र जरिवाना गर्ने विकल्प हुँदाहुँदै एकैचोटि विद्युत काट्न नहुने उनले बताए ।

उद्योगको लाइन काटेर बस्नु भनेको एउटा घाँटी काट्नुसरह भएको उनले टिप्पणी गरे । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई उद्योगको लाइन नकाट्न उनले निर्देशन समेत दिए ।

उद्योगसँग आश्रित परिवार, उत्पादन र राजस्वको विषय पनि भएकाले पैसा नतिरेको खण्डमा कानुनको प्रयोग गर्नुपर्ने उनले बताए ।

मन्त्री खड्काले ऊर्जा क्षेत्रले नै देशलाई समृद्ध बनाउने भन्दै सोहीअनुरूप साधनस्रोत परिचालनमा सरकार लागेको सुनाए । विद्युत्को बढी उत्पादन भएसँगै उपभोगलाई पनि बढाउनुपर्ने उनले बताए । विद्युत्को उपभोगलाई बढाउन बढी उपभोग गर्नेलाई सहुलियत दिनुपर्ने उनको भनाइ छ ।

उनले देशका सबै ठाउँमा चार्जिङ स्टेसन राख्नुपर्ने बताए । नीतिगत रूपमा मिलाएर यसमा निजी क्षेत्रलाई सहभागी गराउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा ऊर्जामन्त्री दीपक खड्काको भनाइ पढ्नोस्–
अघि साथीहरूले भन्दै हुनुहुन्थ्यो, ट्रंकलाइनको कुरा । विद्युत्का पैसा नतिरेका कुरा । विद्युत् प्रयोग गरेबापत पैसा तिर्नुपर्छ । र, त्यसको मूल्य निर्धारण भएको छ । एउटा सामान्य झुपडीमा बस्ने मान्छेले त बत्ती नबाल्दा त ३० रुपैयाँ तिरिराखेको छ भनेपछि प्रयोग गरेको चिज तिर्नु पर्दैन र ? प्रधानमन्त्रीज्यूले पनि यही भन्नुभएको छ । यो केही व्यावसायिक साथीहरूको विषयमा उठेको प्रश्न हो । केही बक्यौताको कुरा हो । मैले पनि त्यही भनिराखेको छु । मैले अहिलेसम्म कसैले तिर्नु पदैन भनेको सुनेको छैन । तिर्नुपर्ने कुरा कति न्यायोचित छ कि छैन भन्ने कुराको जिम्मेवारीचाहिँ राज्यले लिनुपर्छ । ठिक छ, कहीँ कसैले बदमासी गरेको छ, दण्ड, सजाय हुन्छ । जरिवाना हुन्छ । तर, दण्ड, सजाय, जरिवाना घाँटी काटेर हुँदैन । घाँटी काट्ने भनेको अन्तिम कुरा हो । एउटा उद्योगको लाइन काटेर बस्नु भनेको एउटा मान्छेको घाँटी काट्नुसरह हो । घाँटी काटिसकेपछि के बाँकी रह्यो ? त्यहाँ श्रमिक होलान् । त्यहाँ मजदुर होलान् । काम गर्ने मान्छे, ज्यालादारी होलान् । दिनभरि काम गरेर बेलुका खानुपर्ने आश्रित वर्ग होला त्यहाँ । त्यो उसको उत्पादन होला । त्यहाँबाट राजस्व संकलन होला । यदि, तिरेनन् भने त जफत गर्ने कानुन छ नि । कानुनहरूको प्रयोग गर्नुपर्‍यो । एकैचोटि अन्तिम ठाउँमा पुग्नु भएन भनेको मात्रै हो । तिर्नु हुँदैन, लुटेर खानुपर्छ भन्ने मान्यता सरकारले राख्ला ? यस्तो दुष्प्रचार गर्नुहुन्छ ? हामी स्रोतसाधन हुँदाहुँदै पनि आर्थिक हिसाबले गरिब हुँला । तर, मानसिक हिसाबले पनि गरिब हुनेप्रति मलाई दुःख लागेको छ । मानसिक हिसाबले गरिब हुन नेपालीहरूलाई छुट छैन । यतातिर लाग्नु हुँदैन । यस्ता दुष्प्रचारमा हामी अल्मलिनु हुँदैन । अब अगाडि बढ्नुपर्छ । हामीलाई कुनै छुट छैन पछाडि फर्कने ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सरकारले नेपालभर विद्युतीय ट्याक्सी सञ्चालन गर्नेबारे सोचिरहेको बताए । उनले विद्युत् प्रसारण गर्ने तार कहीँ कतै पनि सिधा नदेखिएको भन्दै कसको कमजोरी हो ? भनि प्रश्न गरे ।

विद्युत्का खम्बा पनि अव्यवस्थित रूपमा गाडिएको उनले उल्लेख गरे । विद्युत् तार र खम्बा अव्यवस्थित रूपमा राखिएको पाए सम्बन्धित शाखाका कर्मचारीलाई विभागीय कारबाही गर्ने उनले चेतावनी दिए । उनले विद्युत् प्राधिकरण नाफामा गयो भनेर धेरै बोनस नबाँड्न पनि आग्रह गरे ।

राज्यमन्त्री तामाङले विद्युत्को बक्यौता रकम नतिर्नेसँग साँठगाँठ गरेर बिजुली नजोड्न कर्मचारीलाई सचेत गराए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro