मैले हजारौँलाई चिनेँ
सयौँलाई धेरथोर बुझेँ पनि होला
तथापि,
मसँग छ मेरै लागि
प्रश्नैप्रश्नको ठूलो झोला
मैले आफैँले आफैँलाई चिनिनँ !
आँ गर्दा अलंकार बुझ्ने
यो विलक्षण कला कमैसँग होला
निकै वसन्त काटिसकेँ
अनुभवको कमी पनि त नहोला
तर खै, मैले आफैँले आफैँलाई किन चिनिनँ !
कैयौँ पहाड भत्किएर मैदान भए
सयौँ अस्तु बगे खोलैखोला
म भने अझै टोलाएर बसेकी छु
कहाँ जाने के गर्ने होला ?
क्रिस्चियानिटी पढेँ, इस्लाम बुझेँ
हिन्दुत्व पाइलापाइलामा होला
बुद्धका उपदेशहरू कण्ठस्थ छन्
लौन, कुन गन्तव्यचाहिँ मेरो होला !
सबैले नाम तोकेरै बोलाउँछन्
मलाई चिनेरै त होला !
किन्तु,
प्रत्येक एकान्तमा भित्रभित्रै गुन्जिन्छ जब–
म को होला, म को होला !
हु एम आई ?
खै किन हो,
मैले आफैँले आफैँलाई चिनिनँ !