site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यो गठबन्धन सफल हुनैपर्छ, तर जनतामा ठुला काण्ड दबाउन आएको सन्देश छ 
SkywellSkywell

हृदयेश त्रिपाठी–पूर्वमन्त्री 


संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार बनेपछि मुलुकमा एक किसिमको राम्रै भरोसा जगाएको थियो । 

तर, अब संयुक्त सरकारका प्रारम्भिक काम वा निर्णयले त्यो भरोसा निराशातिर बदलिँदैछ । 

KFC Island Ad
NIC Asia

कांग्रेस–एमालेबीचको जुन सहकार्य छ, यो गठबन्धन सफल भएन भने मुलुकले दुःखद परिणति भोग्नुपर्ने हुन सक्छ । यो गठबन्धन हरहालतमा सफल हुनैपर्छ ।

जसरी एक्कासि जुन भरोसा जागेको थियो, त्यो भरोसा क्रमशः शिथिल हुँदै गएको मैले देखिरहेको छु । दल र नेताहरु नालायक हुन्, भ्रष्ट हुन् भन्ने जुन भाष्य बनेको थियो, कांग्रेस–एमालेको गठबन्धनसँग त्यो भाष्य परिवर्तन हुन संकेत देखापरेको थियो । 

Royal Enfield Island Ad

तर, यसबीचमा सरकारी कार्यशैलीका कारण आमनागरिकको मनोविज्ञान के बन्दैछ भने यो गठबन्धन ठूला काण्ड दबाउन आएको हो । काण्डका फाइल हेरिरहेका प्रहरीका अधिकारीहरुको सरुवासँगै आममानिस सशंकित बनेको मैले पाइरहेको छु । 

भ्रष्टाचार वा आर्थिक बेथिति अन्त्य हुनेभन्दा उल्टो नयाँ भ्रष्टाचारका काण्ड रच्छन् कि भन्ने भय–त्रास बढेको छ । त्यस्तो भाष्य बढ्दै जानु भनेको दुःखद पक्ष हो ।

पूर्ववर्ती सरकारले बजेट प्रस्तुत गरेको थियो, यो सरकारले केही दिन ढिलो गरी मौद्रिक नीति प्रस्तुत गरेको छ । मौद्रिक नीतिबाट मूलतः तीन क्षेत्र लाभान्वित हुने देखिन्छ । पहिलो निर्माण व्यवसायीका भुक्तानी बाँकी थियो, सरकारले भुक्तानी गर्ने नीति लिएसँगै राहत महसूस गरेको पाएको छु ।

दोस्रो, यो मौद्रिक नीतिले आयातलाई बढावा दिन खोजेको देख्छु । अर्काे बैंकलाई सहज बनाउन खोजेको देखिन्छ । तर, मौद्रिक नीतिले साह्रै ध्यान नदिएको दुर्भाग्यपूर्ण स्थिति के हो भने उत्पादन क्षेत्रलाई निरुत्साहित गरेको छ । उत्पादन बढाउनेतिर गएको पाइँदैन । मुलुकको दीर्घकालीन अर्थतन्त्रलाई असर गर्ने उत्पादन क्षेत्र उत्साहित हुन सकेको छैन । बरु आफू ठगिएको महसूस गर्दैछ ।

मौद्रिक नीति आउनुअगावै धितोपत्रको बोर्डको नेतृत्व निम्ति भएका खेलकूद वा चर्चा–परिचर्चा चुलिएको थियो । म त्यता प्रवेश गर्न चाहन्न । तर, घाटामा गएका कम्पनीहरुले नक्कली ढंगले ‘बुक भ्यालु’मा खेलेर अत्यधिक नाफा देखाउँदै शेयर जारी गरिँदैछ, यसले नेपाली अर्थतन्त्रलाई दीर्घकालसम्म असर पार्नेछ ।

एक सयभन्दा तल मूल्य पर्न सक्ने शेयर ३ हजार माथि देखाइँदा त्यसका प्रमोटरहरु अत्यधिक नाफामा जाने नै भए । त्यसरी नाफा लिएपछि तिनीहरु त खुसी नै हुने भए । तर, शेयर किन्न मध्यमवर्गीय वा आमजनता वा विदेशमा गएका नागरिक छन्, तिनीहरु ठगिने सम्भावना बढी देखेको छु । तर, सरकार यो मामलामा सचेत भएको पाइँदैन । यसले नेपाली अर्थतन्त्रलाई दीर्घकालसम्म नकारात्मक असर पार्ने देखिन्छ । 

अक्सर पुँजीको केन्द्रीकरण गर्न खोेजेको भाष्य र सिद्धान्त अघि सारिन्छ । तर त्यसरी संकलित पुँजी मुलुकभित्रै लगानी भइरहेको छ या पुँजी पलायन भइरहेको छ ? त्यो केलाउँदै रणनीति अख्तियार गर्ने मामलामा सरकार चुकिरहेको पाउँछु । 

सम्पत्ति शुद्धीकरण र पुँजी पलायनको डर लाग्दो चक्रब्युहमा मुलुक फस्ने सम्भावना बढेको छ । कानुनी रुपमा प्रश्न उठाउन नसकिने गरी शुद्धीकरण गर्न खोज्दैछन् । कतिपय औद्योगिक घराना या व्यवसायीहरुले पुँजी पलायन गरिसकेका छन् । 

अर्काे सहकारी प्रकरण जसरी आइरहेका छन्, जसरी संसदीय समिति बनेको छ, त्यो निश्चित उद्देश्यका निम्ति सिर्जित हो । सहकारीमा समग्र विसंगति वा असंगति छन्, त्यो भित्र छिरेर गहिराईमा पुगी हेर्न सक्ला जस्तो मलाई लाग्दैन । यदि सहकारीमा भएका त्रुटि वा खराबीलाई सच्चाइएन भने ठूलै संख्यामा निम्न–मध्यमर्गीय नागरिक समस्यामा पर्नेछन् । किनभने तिनको पैसा त्यहाँ फँसेको छ । ती त डुब्छन् नै ।

अर्कातिर सहकारीमा पैसा राख्दा स्रोत देखाउन नपर्ने कानुनी प्रावधान दुरुपयोग गरी धेरै कालो धन पनि त्यतै जम्मा भएका छन् । अब कालो धन जम्माकर्ताले फिर्ता नपाए पनि त्यो धन सहकारी सञ्चालकको हातमा त पुग्ने नै भयो । त्यसमा प्रवृत्ति के देखिन्छ भने त्यस्ता खाले ठूला सहकारी सञ्चालक स्वयं विदेश पलायन हुँदैछन् । तिनले त्यसरी जम्मा भएको पुँजी पनि पलायन गराउँदैछन् । 

सहकारीका हकमा जति हामी सोचिरहेका छौं, त्यो भन्दा गम्भीर समस्या छन् । यसले नेपाली समाजमा गाउँ–तल्लोस्तरसम्म प्रभावित पार्नेछ । सहकारीका हकमा सरकारले छुट्टै बलियो, निष्पक्ष न्यायिक आयोग बनाउनुपर्छ । उक्त आयोगलाई समग्र सहकारी अध्ययन–अनुसन्धान गरी सच्याउन तथ्य–प्रमाण जुटाउने जिम्मेवारी दिइनुपर्छ । यो काम छिट्टै नगर्ने हो भने सहकारी समस्याले विकराल रुप धारण गर्न सक्छ ।

राज्यका अंग वा संयन्त्र शिथिल, प्रभावहीन र दिग्भ्रमित अवस्थामा पुगेको म पाउँछु । सरकार अझै अन्यौलमा रहे या भएको पाउँछु । निजामती सेवा ऐनको अभावका कारण कर्मचारीतन्त्र क्षतविक्षत भएको अवस्था छ । यतिखेर निजामतीको जुन बनावट र संरचना छ, कुनै पनि सरकारले लोकप्रिय काम गर्न सक्ने स्थिति छैन । किनभने कर्मचारीतन्त्रमा जुन उत्साह र मनोबल हुनुपर्थ्यो, त्यो गिरेको अवस्था छ ।

कर्मचारीतन्त्र स्वयं असुरक्षित महसूस गर्दैछ । जुन कर्मचारीतन्त्र आफैँ असुरक्षा महसूस गर्छ, त्यसले धेरै राम्रो काम गर्ला भनी सोच्न पनि सकिँदैन । त्यसकारण निजामती सेवा विधेयक संसदबाट तुरुन्त पारित गरी ऐन जारी गर्नैपर्छ ।

संसद् र संसदीय समिति पनि प्रभावहीन हुँदै जानु भने राज्यका अरु अंगलाई स्वेच्छाचारी हुन बल मिल्नु हो । तर, संसदीय समितिका काम–कारवाही पनि आलोचनाका विषय बनिरहेका छन्, त्यो दुर्भाग्य पनि यतिखेर देखिएका छन् ।

सार्वजनिक लेखा समितिले डेडिकेटेड र टंकलाइनमा विषय हेरिरहँदा जस्ताखाले टीकाटिप्पणी आइरहेका छन्, त्यो दुःख लाग्दो छ । यस्ता टीकाटिप्पणीले संसदीय प्रभाव र मर्यादालाई ध्वस्त पार्छ । कुरा के हो भने प्रकरणका हकमा सार्वजनिक लेखा समितिले पहिल्यै निर्णय लिइसकेको छ, अदालतले पनि बोलिसकेको छ । मन्त्रिपरिषद्ले दुई–दुई पटक निर्णय लिइसकेको छ । 

यतिखेर नयाँ ढंग र नयाँ शिराबाट निर्णय लिन्छौं, पुरानो लेखा समितिको निर्णय मान्दैनौं भन्नु भनेको गैरसंसदीय क्रियाकलाप हो । यसले अराजकता आमन्त्रण गर्ने छ । संसदीय अभ्यासमा अराजकताको पराकाष्ठा नाघ्नेछ ।

लेखा समितिको पुरानो निर्णय समितिको मात्रै निर्णय होइन । समितिले उक्त प्रकरणमा गरेको छानबिन प्रतिवेदन प्रतिनिधिसभामै प्रस्तुत गरिसकेको छ, अर्थात् प्रतिनिधिसभाले स्वीकार गरिसकेको अवस्था हो । त्यसो हुँदा त्यो विषय समितिको मात्र सवाल होइन । पुरानो निर्णय फेरबदल गर्नु भनेको प्रतिनिधिसभालाई नै चुनौती दिएको मानिन्छ ।

लेखा समितिको पूर्व सभापति तथा सदस्यको हैसियतमा लेखा समितिको परम्परा र अभ्यासलाई बुझेर अघि बढ्न मेरो आग्रह रहन्छ । म गैरसंसदीय गतिविधि र व्यवहार नगर्न आग्रह गर्छु । लेखा समितिले विगतमा दिएका निर्देशन पालना भयो कि भएन भनी अनुगमन गर्ने या प्रगति विवरण माग्नेतिर जानुपथ्र्याे, न कि नयाँ शिराबाट नयाँ गर्नेतिर ।

लेखा समितिकै निर्देशनका कारण सम्परीक्षणका हकमा समस्या पैदा भएको देखिन्छ, दुई–तीन वर्षयता । लेखा समितिले कुनै बेला सम्परीक्षणका काम लेखा समितिले गर्नुपर्छ भन्ने निर्देशन जारी भएको रहेछ ।

‘सार्वजनिक लेखा समितिले कुनै बेरुजु समितिमा छलफल नभएसम्म फर्स्योट नगर्नू’ निर्णयसँगै दुई वर्षयता बेरुजु सम्परीक्षण भएका छैनन् । महालेखाबाट सरकारी निकायका बेरुजु सम्परीक्षण गर्ने र फछर्यौट गर्ने कार्य रोकिएपछि झन् यसको आकार बढ्नेछ ।

लेखा समितिकै निर्देशनक कारण संघीय सरकारका बेरुजुका लेखा परीक्षण नै रोकिएको अवस्था छ । यसरी बेरुजु सम्परीक्षण रोकिँदा कार्यकारिणीलाई हाइसञ्चो हुने नै भयो ।

राज्यका काम–कारबाहीमा निगरानी गर्ने जुन व्यवस्थापकीय आदर्श हो, संसदीय समितिको । तर, लेखा समितिले आफूले आफैँलाई बन्धनमा पारे जस्तो देख्छु । लेखा समितिलाई सम्परीक्षण गर्ने अधिकार नै छैन । के बुझ्नुपर्छ भने महालेखा परीक्षकको प्रतिवेदनमा सम्पूर्ण हिसाब–किताब हुँदैन, केवल संक्षिप्त रुप हुने मात्रै हो ।

हिसाब–किताबका सम्पूर्ण कागजात महालेखा परीक्षकसँगै रहन्छ । लेखा परीक्षण गर्ने निकायसँगै सम्परीक्षण गर्ने जनशक्ति पनि महालेखा परीक्षकसँगै छ । जसले लेखा परीक्षण गरेको छ, उसले त्यसबारे विस्तृतमै बुझेको हुन्छ । त्यसरी सम्पूर्ण कागजात अध्ययन गरेर सम्परीक्षण गर्ने लेखा समितिसँग न जनशक्ति छ, न अनुभव नै । 

लेखा समितिले विस्तृतमा नबुझीकन निर्णय लियो, त्यसलाई टेकेर सरकारी सयन्त्रले आनन्द मानेका होलान्, किनभने सम्परीक्षण नै गर्नु नपरेपछि । आफ्नो कार्यकालमा त्यसबारे प्रश्न नउठेपछि पछि जे होला, होला भन्ने मानसिकता बढेको छ । यस्ता क्रियाकलापले अराजकतालाई निम्ता दिने देखिन्छ । 

महालेखा र लेखा समितिको सक्रियतामै सरकारी संयन्त्रमा सम्परीवेक्षणतिर जागरुक भएका र बानी बसाउँदै गएका थिए । लेखा समितिकै एउटा निर्णयले तिनलाई आनन्द मिलेको हुनुपर्छ । यो त्रुटि सच्याउन सभामुखले पनि पहल गर्नुपर्छ, संसदीय अभ्यास–परम्परालाई नै अघि बढाउनुपर्छ ।

(लेखा समितिका पूर्व सभापति, पूर्वमन्त्री त्रिपाठीले बाह्रखरीसँग गरेको कुराकानीमा आधारित)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  ०९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro