site stats
बाह्रखरी :: Baahrakhari
देश
सरकारले अस्ट्रेलियाका लागि राजदूत सिफारिस कान्ता रिजालको नाम सुटुक्कै लियो फिर्ता

काठमाडौं । सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस गरेको कान्ता रिजालको नाम फिर्ता लिएको छ ।

यही साउन १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले १८ देशका लागि नेपाली राजदूतमा विभिन्न व्यक्तिको नाम सिफारिस गरेको थियो । जसमा अस्ट्रेलियाका लागि नेपाली राजदूतमा रिजालको नाम थियो ।

मन्त्रिपरिषद्ले साउन १४ गरेको निर्णय साउन १८ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको थियो । मन्त्रालयले राखेको मन्त्रिपरिषद्को निर्णयको सूचीमा आठवटा निर्णय समावेश गरिएको थियो । 

Argakhachi Cement Island Ad

सूचीको तेस्रो नम्बरमा परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाली राजदूतको नियुक्तिका लागि सिफारिस गर्ने भनी १८ देशका लागि १८ जनाको नाम सिफारिस गरिएको छ ।

मन्त्रिपरिषद्ले भारतका लागि शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका लागि कान्ता रिजाल, साउदी अरेबियाका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ, इजरायलका लागि धनप्रसाद पण्डित, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, स्पेनका लागि शनिल नेपाल, जर्मनीका लागि शैल रूपाखेती, अमेरिकाका लागि लोकदर्शन रेग्मीलाई सिफारिस गरेको थियो ।

यसैगरी, बेलायतका लागि चन्द्रकुमार घिमिरे, दक्षिण कोरियाका लाग शिवमाया तुम्बाहाम्फे, रुसका लागि जंगहादुर चौहान, कतारका लागि रमेशचन्द्र पौडेल, चीनका लागि कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना, पोर्चुगलका लागि प्रकाशमणि पोखरेल र पाकिस्तानका लागि रिता धितालका नाम सिफारिस गरिएको थियो ।

kantarijaaal-1723724062.JPG
 

संघीय संसद्को संसदीय सुनुवाइ समितिले बुधबार राजदूतमा सिफारिस भएको व्यक्तिका सम्बन्धमा सुनुवाइ अघि बढाउन एक सूचना प्रकाशित गरेको छ । सूचनामा सिफारिसमा परेका व्यक्ति राजदूतमा नियुक्ति गर्न उपयुक्त नरहेको लागेमा प्रमाणसहित १० दिनभित्र उजुरी दिन आह्वान गरिएको छ ।

संसदीय सुनुवाइ समितिले प्रकाशित गरेको सूचनामा मन्त्रिपरिषद्ले सिफारिस गरेका १८ जनामध्ये १७ जनाको नाममात्र छ । सूचनामा अस्ट्रेलियाका लागि सिफारिस गरिएकी कान्ता रिजालको नाम छैन । उनको नाममा संसदीय सुनुवाइका लागि अघि बढाइएको छैन ।

rkanta-1723724147.JPG
 

मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि त्यसलाई मुख्य सचिवले प्रमाणित गर्ने र प्रमाणित भएपछि राजदूत नियुक्तिका लागि ती नाम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले परराष्ट्र मन्त्रालयलाई पठाउने अभ्यास छ ।

सोही अनुसार प्रधानमन्त्रीको कार्यालयले राजदूतका लागि सिफारिस गरिएका नाम परराष्ट्र मन्त्रालयलाई पठाएको थियो । प्रधानमन्त्री कार्यालयले नै रिजालको नाम छुटाएर परराष्ट्रलाई पठाएको थियो ।

“प्रधानमन्त्री कार्यालयले जुन नामहरू पठाएको थियो, हामीले ती सबै नाम संसदीय सुनुवाइका लागि संसदीय सुनुवाइ समितिमा पठाएका हौँ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले बाह्रखरीसँग भने, “कान्ता रिजालको नाम नआएर नै हामीले नपठाएको हो ।”

यसअघि रिजाल इजरायलका लागि नेपाली राजदूत थिइन् । अघिल्लो नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले केही साताअघि उनलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

उनलाई फिर्ता बोलाएको केही सातापछि प्रचण्ड नेतृत्वको सरकार ढलेपछि बनेको नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको गठबन्धन सरकारले रिजाललाई अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो । तर, अहिले संसदीय सुनुवाइको प्रक्रियामा भने उनको नाम समावेश गरिएको छैन ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्