site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राष्ट्रिय गौरवका आयोजना :  बजेट खर्च शतप्रतिशत, प्रगति नगन्य

काठमाडौं । सरकारले निकै महत्व दिँदै बजेट छुट्याउने राष्ट्रिय गौरवका आयोजनाका हालत निकै नाजुक देखिन्छ । उच्च प्राथमिकतासहित बजेट छुट्याए पनि आयोजनाको प्रगति भने कछुवा गतिमा हुने गर्छ । आर्थिक वर्ष २०८०/८१ का लागि छुट्याएको बजेटमा शतप्रतिशतको हाराहारीमा खर्च हुँदा पनि त्यसको भौतिक प्रगति भने सन्तोषजनक देखिँदैन । 

सिँचाइ होस् वा सडक, जलविद्युत् होस् वा धार्मिकस्थल सबैतिर काम निकै सुस्त हुँदा वर्षेनी लागत बढ्दै गएको छ । आयोजनामा प्रत्येक वर्ष बजेट खर्च हुने र प्रगति भने धिमा हुने गरेको पाइन्छ । कतिपय आयोजनालाई माग गरेजति बजेट छुट्याउने र पुरा बजेट खन्याउँदा पनि प्रगति भने निकै कम हुने गरेको देखिन्छ ।

यसअघिका हरेक वर्षझैँ आर्थिक वर्ष २०८०/८१ मा पनि सरकारले राष्ट्रिय गौरवका आयोजनाले छुट्याएको बजेटमा ९५ प्रतिशत बढी खर्च गरेका छन् । 

Dabur Nepal
NIC Asia

तर, सरकारले जुन अपेक्षाले आयोजनामा खर्च गर्ने गर्छ, त्यो अनुसारको काम भएको पाइँदैन । मागअनुसारको बजेट दिएपनि अपेक्षित काम नहुँदा पाँच–दश वर्षमा सक्ने लक्ष्य राख्दै थालिएका आयोजना वर्षौ लाग्ने गरेका छन् । कछुवाको गतिमा अघि बढ्दा लागत बढ्ने राज्यमाथि व्ययभार थपिएको थपियै छ ।

राष्ट्रिय गौरव आयोजनाअन्र्तगतको सिक्टा सिँचाइ आयोजना २०६२/६३ सालमा सुरु भएको आयोजना हो । बाँके जिल्लाको ४२ हजार ७६६ हेक्टर भूमिमा भरपर्दो सिँचाइ सुविधा उपलव्ध गराउने उद्देश्यले २०६२/६३ देखि सुरु गरिएको आयोजना हो । 

झण्डै १९ वर्षमा आयोजनाले ४१ प्रतिशत भौतिक प्रगति गरेको छ । आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत तथ्यांकअनुसार सरकारले छुट्याएको ८८ करोड २१ लाख बजेटमा ८७ करोड ६४ लाख बढी रकम खर्च गरेको छ । आयोजना आर्थिक वर्ष २०८९/९० मा सकिने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

यस्तै राष्ट्रिय गौरवअन्र्तगतको रानी–जमरा–कुलरिया सिँचाइ आयोजना २०६६/६७ सालबाट सुरु भएको यस आयोजना हालसम्म करिब ७२ प्रतिशत भौतिक प्रगति भएको छ ।  १४ हजार ३ सय हेक्टर जमिन सिँचाइ गर्ने उद्देश्य रहेको आयोजनाको २०८०/८१ सक्ने लक्ष्य रहेपनि आयोजनामा अझै २८ प्रतिशतबढी काम बाँकी छ । 

सरकारले आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ६५ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा १ अर्ब ९८ करोड रुपैयाँ बढी खर्च गरेको छ ।

यस्तै २०७०/७१ देखि भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना ६६ प्रतिशत काम मात्रै सकिएको छ ।  आर्थिक वर्ष २०८४/८५ सक्ने लक्ष्य राखेको आयोजनाका लागि आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ७३ करोड ५ लाख ९० हजार रुपैयाँ छुट्याएको छ । 

छुट्याएको बजेट मध्ये १ अर्ब ६७ करोड ६९ लाख ३७ हजार ३९४ रुपैयाँ अर्थात ९६.९ प्रतिशत खर्च गरेको छ ।

करिब ७१ किलोमिटर रहेको काठमाडौं–तराई फास्ट ट्रयाक आयोजना २०७३/७४ मा सुरु गरिएको आयोजना हो ।  चार वर्षमा सक्ने भनेर सुरु गरिएको आयोजना म्याद थपिएको थपियै हुँदा २०८३ पुगेको छ । ८ वर्षमा ३५ प्रतिशत मात्रै काम सकिएको आयोजना ०८३ मा सकिनेमा शंका छ । 

आयोजनाका लागि १७ अर्ब ९८ करोड ३१ लाख रुपैयाँ बजेट छुट्याएको थियो । उक्त बजेटमा ९९.३७ प्रतिशत खर्च भएको छ ।

आर्थिक वर्ष २०७१/७२ मा सुरु भएको राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमअन्तर्गत गति पनि निकै सुस्त देखिन्छ । २० वर्षमा सक्ने भनेर सुरु गरिएको आयोजनाको आधा समय बित्दा प्रगति ६ प्रतिशतको हाराहारीमा छ । आयोजनाका लागि गत आर्थिक वर्षमा सरकारले छुट्याएको बजेटमा ८५ प्रतिशत सकिएको छ ।
 
२०६९/७० मा सुरु भएको बूढीगण्डकी जलविद्युत् आयोजनाको काम सुरु नै हुन सकेको छैन । गतवर्ष कार्यालय स्थापना गरेको आयोजनालाई कुन मोडालिटीमा बनाउने भन्ने नै अन्योल छ । करिब ८ वर्षमा सक्ने भनेको बूढीगण्डकीले मुआब्जा वितरणको कार्यबाहेक अन्य काम अघि बढ्न सकेको छैन ।

यसरी अधिकांश आयोजनाको गति निकै सुस्त छ । कतिपय आयोजनालाई मन्त्रालयगत समन्वय तथा पर्याप्त बजेटको समेत समस्या हुने गरेको आयोजना प्रमुखहरुको भनाइ छ । 

संसदमा तथा संसदीय समितिमा बेला बखत राष्ट्रिय गौरवका आयोजनाको विषयमा छलफल हुने गरेको छ । उक्त आयोजनाको विषयमा समितिका सांसदहरुले निर्देशन दिने गरेका छन् । तर, आयोजनाको उपलब्धि भने खासै देखिँदैन । सांसदहरुले बेला बेला राट्रिय गौरवको आयोजनाका भ्रमण गर्न जाने र आयोजना प्रमुखलाई निर्देशन दिनेबाहेक त्यसपछि आयोजनाको बारेमा चासो राखेको पाइँदैन ।  

आयोजनाको जग्गा प्राप्ति, वन क्षेत्रको जग्गा प्रयोग र रुख बिरुवा कटानजस्ता समस्याका कारण राष्ट्रिय गौरवका आयोजनामा हुन नसकेको पूर्व सचिव देवेन्द्र कार्की बताउँछन् । मन्त्रालयबीचको समन्वय अभाव जग्गा प्राप्तीमा समस्या जस्ता कारणले आयोजनाको समय र लागत बढने गरेको उनको भनाइ छ । 

आयोजनाहरुमा हुने फितलो अनुगमन, निर्माण सामग्रीको अभाव, र मूल्याङ्कन प्रक्रियाका कारण पनि महत्वपूर्ण आयोजनामा ठोस प्रगति हुन नसकेको सरकारकै समीक्षा रिपोर्टमा देखिने गरेको पाइन्छ । आयोजनामा कर्मचारीहरु अभाव तथा सरुवाले पनि निकै समस्या हुने गरेको अर्थमन्त्रालयले सार्वजनिक गर्ने समीक्षामा उल्लेख छ ।
 
आयोजना निर्माण समयमा सम्पन्न गर्न नसक्नुमा स्थिर राजनीतिक नेतृत्व, कर्मचारीतन्त्रमा काम गराउने तरिका आदिको पनि महत्वपूर्ण भूमिका रहने पूर्व सचिव कार्की बताउँछन् । 

स्थानीयको विरोध, मुआब्जा वितरणमा समस्या, मन्त्रालयबीचमा समन्वयको अभाव जस्ता कुराले पनि आयोजना निर्माणमा समस्या हुने गरेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल बताउँछन् । 
“आयोजनामा मन्त्रालयगत समन्वयको अभाव, स्थानीयको अवरोध, बजेटको कमी, ठेकेदारको ढिलासुस्ती लगायतको कार्यले गर्दा पनि समयमा सकिँदैन,” उनले भने । 


गत आर्थिक वर्षमा छुट्याइएको बजेट र खर्च 
Ayojana-1723697518.jpg
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro