काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भदौ ७ गते बस्ने गरी स्थगित भएको छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा सोमबार केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएपछि बैठक भदौ ७ गते बस्ने गरी स्थगित गरिएको हो ।
अब पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूले मात्रै धारणा राख्न बाँकी रहेको र आगामी बैठकमा त्यसले निरन्तरता पाउने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
सोमबार बैठकमा चित्रलेखा यादव, मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामजनम चौधरी, गोपाल दहित, मधु आचार्यसहित धारणा राखेका थिए ।
महतका अनुसार धारणा राख्ने क्रममा केन्द्रीय सदस्यहरूले वर्तमान सरकार सफल हुनुपर्ने, सुशासनका विषयमा खरो उभिनुपर्ने, पार्टीलाई तल्लो तहसम्म बलियो बनाउनुपर्नेमा जोड दिएका थिए ।
आगामी बैठकमा महासमितिका प्रतिवेदनमा आएका विचारलाई समावेश गरेर परिमार्जनसहति पारित गर्ने र समसामायिक विषयमा समेत निर्णय लिने उनले बताए ।