site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्डकै सचिवालयबाट चलाइएको थियो जनार्दनले पार्टी फुटाउन लागेको हल्ला ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै सचिवालयबाट आफूले पार्टी विभाजन गराउन लागिपरेको हल्ला चलाएको गम्भीर आरोप लगाएका छन् ।

शर्माले शनिबार पार्टीको बैठकमा प्रस्तुत गरेको लिखित धारणामा यस्तो गम्भीर आरोप लगाएका हुन् ।

“खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर सुरु गरिएको प्रचारवाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइयो,” शर्माले भनेका छन् ।

खुमलटारमा माओवादी अध्यक्ष प्रचण्डको निवास हो । त्यहाँबाट हल्ला सुरु गराइएको शर्माको गम्भीर आरोप छ ।

शर्माले यसबारेमा थप भनेका छन्, “उक्त प्रचारबाजीलाई मद्दत पुग्नेगरी पोखरामा आइपुग्दा मूल नेतृत्वले नै पार्टी फुटतिर उन्मुख छ कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरुलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो ।”

त्यसपछि देशभरै यस विषयमा चासो राख्दै कार्यकर्ताले आफूलाई फोन गरेको शर्माले बताएका छन् ।

“देशभर यसको असर देखा पर्न थाल्यो,” उनले भनेका छन्, “फुटाउने कसले हो भन्दा बालुवाटारबाटै जनार्दनले हो भनेर भनिदिएपछि आज आम कार्यकर्ता र जनतामा पार्टी फुटको त्रास फैलिएको छ । यस विषयमा देशभरिबाट दैनिक सयौंले फोन गरेर पार्टी फुट्दैछ र भनी सोध्ने गरेका छन् । यो कुरा अन्य राजनैतिक दल, सुरक्षा निकाय र ब्यूरोक्रेसीमासमेत चासोको विषय बनेको छ ।”

उनले प्रचण्डप्रति प्रश्न गर्दै भनेका छन्, “मूल नेतृत्वबाटै यस प्रकारको गतिविधि हुनुको पछाडि केही प्रश्नहरु छन् । ती प्रश्नहरुको जवाफ दिने झन्झटतिर लाग्नुभन्दा आम पंक्तिलाई तरंगित पार्ने विषय हालिदिएर ध्यान अर्कैतिर मोड्ने उद्देश्य रहेको छ ।”

शर्माले प्रचण्डको सचिवालय अर्थात् प्रचण्ड प्रधानमन्त्री भएको बेला बालुवाटारबाट कहिले जनार्दन त कहिले वर्षमानका विरुद्धमा दुस्प्रचार गरिएको गम्भीर आरोप लगाएका छन् । उनले प्रतिशोध साँध्न पार्टीभित्र राज्यशक्तिको प्रयोग गर्न खोजेको आरोप लगाउँदै नेतृत्वले यी विषयमा जवाफ दिने कि नदिने प्रश्न गरेका छन् ।

उनले प्रचण्डलाई पार्टीभित्र विभिन्न तहका नेताहरुलाई जुटाउन हैन फुटाउनको लागि गरिने मेहनतबारेको प्रश्न, नेतृत्व तहबाटै समानान्तर कमिटी सञ्चालन गरिएको बारे, सरकारको गठबन्धन बारम्बार फेरिरहेको बारे गरिएको प्रश्न बाँकी नै रहेको बताएका छन् ।

पार्टी फुटाउने सामर्थ्य छ जनार्दनसँग ?

पार्टी विभाजनका लागि मौजुदा कानुनअनुसार केन्द्रीय समिति र संसद् सदस्य संख्याको कम्तिमा पनि ४० प्रतिशत हुनुपर्नेछ । माओवादीभित्र शर्मा अहिले त्यो अवस्थामा नरहेको एक नेता बताउँछन् । उनका अनुसार शर्मासँग अहिले चारजना सांसद छन् । तर उनीहरु पनि अन्तिम अवस्थामा प्रचण्डसँगै रहने सक्ने उनको अनुमान छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ०९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro