site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्यमन्त्रीका कार्ययोजनामा ‘सुगर ट्याक्स’देखि सबै स्वास्थ्य सेवा बिमामा समेट्नेसम्म (पूर्णपाठ)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कार्यभार सम्हालेको २७औँ दिनमा आफ्ना कार्ययोजना सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत उनले अल्पकालीन र दीर्घकालीन गरी १४ बुँदे कार्ययोजना प्रस्तुत गरेका हुन् ।

स्वास्थ्य बिमा कार्यक्रमको सुधार उनको मुख्य प्राथमिकतामा छ । बिमा सुविधाकोे दायरा बढाएर पाँच लाख रुपैयाँ पुर्‍याउने र प्रेषण प्रणाली सहज बनाउने उनको प्रस्ताव छ ।

कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार खर्च, निशुल्क आधारभूत उपचारका कार्यक्रमलाई बिमाभित्रै समेटिने कार्ययोजनामा उल्लेख छ । बिमा ऐन परिमार्जन आवश्यक रहेको र यसको प्रक्रिया अघि बढाइने मन्त्री पौडेलले जानकारी दिए । बिमा सुविधाको दायरासँगै कोषमा प्रिमियम रकम बढाउन विकल्प समेत तयार पारिएको उनको भनाइ छ ।

हाल बिमामा बिमितबाट संकलित र राज्यले लगानी गर्नेसहित वार्षिक करिब नौ अर्ब रुपैयाँ जम्मा हुने गरेको छ ।

कोल्ड ड्रिंक्स र चिनीजन्य खानेकुरामा ‘सुगर ट्याक्स’ लगाई त्यसबापत संकलित कर स्वास्थ्य कर कोषमा जम्मा गरी बिमामा खर्च गर्न सकिने उनको कार्ययोजनामा उल्लेख छ ।

आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा समेटिएका र बजेटमा समावेश विषयवस्तु कार्ययोजनामा समेटिएको उनले बताए । बजेटबाहिरका करिब २० प्रतिशत कार्यक्रमका निम्ति भने योजनाको खाकासहित बजेट मागिने उनको भनाइ छ ।

तीनै तहलाई जोड्ने गरी आफू अघि बढ्ने उनको योजनामा उल्लेख छ ।  संघीय अस्पतालहरूमा सेवाका आधारमा वर्गीकरण गरी एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना लागु गर्ने मन्त्री पौडेलको प्रस्ताव छ ।

यस्तै, समायोजनमा अटाउन नसकेका एक हजार बढी स्वास्थ्य जनशक्तिलाई जिम्मेवारीसहित व्यवस्थापन गर्ने, चिकित्सकलाई कार्यदक्षताका आधारमा भत्ता उपलब्ध गराउनेजस्ता विषय योजनामा समेटिएको छ ।

संघीय अस्पतालहरूमा शल्यक्रियाका निम्ति लाइन घटाउन दुई ‘सिफ्ट’मा सेवा सञ्चालन गरिने र बन्द रहेका शल्यक्रिया कक्ष चाँडै सञ्चालनमा ल्याइने योजना छ ।

सिभिल अस्पतालमा शिक्षक र निजामती कर्मचारीलाई समान उपचार सेवा दिन पहल गरिने मन्त्री पौडेलले आश्वासन दिएका छन् ।

संघ र प्रदेशका तोकिएका अस्पतालहरूमा जलनको उपचार सुरु गरिनेछ । विपन्न नागरिकको जलनको निःशुल्क उपचार गरिने योजनामा समेटिएको छ ।

काठमाडौंमा सुविधासम्पन्न स्नायुरोग उपचार केन्द्र स्थापना गर्ने, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई ५०० बेडमा विस्तार गर्ने, सबै प्रदेशमा मुटुरोग उपचार र अंग प्रत्यरोपण सेवा विस्तार गर्नेलगायत योजना पनि मन्त्री पौडेलले सुनाए ।

औषधिको मूल्य र उत्पादनमा समायोजन गरिने र ‘लाइफ सेभिङ’ औषधिहरू जीटुजीमार्फत सरकारले नै खरिद गरी बिक्री–वितरण गर्न अध्ययन अघि बढाइने कार्ययोजनामा उल्लेख छ ।

वैदेशिक रोजगारीमा जानेको विदेशमै नेपाली दूतावासमार्फत नियमित स्वास्थ्य परीक्षण, रोजगारीका क्रममा हुने दुर्घटना र मृत्युको कारण पहिचान गरी न्यूनीकरणको रणनीति बनाएर कार्यान्वयन गरिने योजनामा भनिएको छ ।

यस्तै, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर रोगको स्क्रिनिङ तथा उपचारका निम्ति मापदण्ड बनाएर कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । मिर्गौला स्क्रिनिङ अभियान चलाउने पनि कार्ययोजनामा समेटिएको छ ।

कार्ययोजनाको पूर्णपाठ पढ्नोस्–

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro