site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसमा महामन्त्री वा उपसभापतिमा अनिवार्य महिलाको व्यवस्था गर्न माग

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा महामन्त्री वा उपसभापतिमा महिला अनिवार्य निर्वाचित हुने व्यवस्था गर्नुपर्ने आवाज उठेको छ । केन्द्रीय समितिको जारी बैठकमा आइतबार केन्द्रीय सदस्य उर्मिला थपलियाले विधान संशोधन गरेर यो व्यवस्था अनिवार्य गरिनुपर्ने धारणा राखिन् ।

राजनीतिमा महिलाहरूको उल्लेख्य सहभागिता र आकर्षण बढे पनि ‘उप’मै सीमित राख्ने परिपाटी तोड्न जरुरी रहेको भनाइ उनको छ ।

Argakhachi Cement Island Ad

“संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा पनि प्रमुख‚ उपप्रमुखमा एकजना महिला अनिवार्य त गरियो । तर, प्रमुखमा महिलाहरूको सहभागिता दुई प्रतिशत पनि छैन । अब कांग्रेसले विधान संशोधन गरेर नयाँ अभ्यास सुरु गर्नुपर्छ‚” उनले भनिन्‚ “नेपाली कांग्रेसको वडा तहदेखि केन्द्रीय समितिमा विधान संशोधन गरेर महामन्त्री वा उपसभापति पदमा महिला अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था गर्नुपर्छ ।”

थपलियाले भ्रातृ एवं शुभेच्छुक संस्थाको दुई–दुई वर्षमा अनिवार्य अधिवेशन गर्न सम्भव नभए सम्बन्धित जिल्ला, क्षेत्र, प्रदेश वा केन्द्रका सभापतिले आफैँ तदर्थ समिति तोक्न पाउने व्यवस्था गर्न पनि माग गरिन् ।  

उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग प्रमखुसमेत रहेकी उनले आफ्नो विभागले ‘नेपाल स्टार्टअप र एसएमई सम्मेलन’ गर्ने तयारी गरिरहेको जानकारी दिइन् । जसले स्टार्टअप, साना तथा मझौला उद्यम, नेता, नीति निर्माता र लगानीकर्तालाई एक ठाउँमा ल्याउने उनको विश्वास छ ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १७:५८
प्रतिक्रिया दिनुहोस्