site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एक लाख १० हजारमा भियतनामको पाँचदिने टुर, २४ महिनाको किस्तामा तिर्न सकिने

काठमाडौं । नेपाल र भियतनामबीच पर्यटक आदनप्रदान गर्न दुई चार्टर उडान हुने भएको छ । काठमाडौंको हात्तीसारस्थित रुप्से होलिडेजले भियतनामसँग पर्यटक आदनप्रदान गर्न थप दुईवटा चार्टर उडान हुने भएको बताएको हो ।

नेपाल र भियतनामबीच पर्यटक आदनप्रदान गर्न यसअघि पनि पटकपटक चार्टर उडान हुँदै आएको कम्पनीले जनाएको छ । अब दसैँलगत्तै थप दुई चार्टर उडान हुन लागेको रुप्से होलिडेजले जनाएको छ ।

आउँदो असोज ३० गते (अक्टोबर १६ बाट ५)का दिन नेपालबाट भियतनाम र भियतनामबाट नेपाल पर्यटक आदनप्रदान गर्न चार्टर उडान हुने कम्पनीले बताएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भियतनामबाट नेपाल आउने भियतनामी पर्यटकलाई भक्तपुर, नगरकोट, काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भू र बौद्धनाथको दर्शन गराउने गरी कार्यक्रम तय भएको छ ।

त्यसैगरी, नेपालबाट भियतनाम घुम्न जाने पर्यटकका लागि पाँच दिनको टुर प्याकेज तयार गरिएको छ । भियतनामको राजधानी हानोई आसपासका पर्यटकीय गन्तव्यमा नेपाली पर्यटकलाई घुमाइने गरी तयारी भएको छ ।

नेपाल र भियतनामबीच सिधा उडान नहुने भएकाले चार्टर उडानमार्फत भ्रमण गराउन लागिएको कम्पनीले जनाएको छ ।

अन्य देश भएर भियतनाम जानु पर्दा धेरै खर्च हुने भएकाले चार्टर उडान गर्न लागिएको र दुवै देशबाट पर्यटक आउने र जाने भएकाले उडानको खर्च कम हुँदा टुर प्याकेज पनि सस्तो कायम गरिएको कम्पनीको भनाइ छ ।

भियतनाम भ्रमणका लागि सबै शुल्क जोडेर एक लाख ९ हजार ९९९ रुपैयाँको प्याकेज रहेको छ । यो भ्रमण शुल्क मासिक पाँच हजारको किस्ताबन्दीमा समेत रहेको कम्पनीले जनाएको छ । जसमा १२ महिना, १८ महिना वा २४ महिनाको मासिक किस्ताबन्दी सुविधा छ ।

उक्त मूल्यमा भियतनामको दुईतर्फी हवाई टिकट, भिसा लेटर, एयरपोर्टबाट पिकअप तथा ड्रप, ब्रेकफास्टसहित होटेलको कोठा, स्थानीय टुरका लागि हुने खर्च, गाइड तथा यातायातको खर्च समावेश गरिएको रुप्से होलिडेजले जनाएको छ ।

भियतनाम टुरका क्रममा नेपाली पर्यटकलाई भियतनामको राजधानी हानोई आसपासका विभिन्न पर्यटकीय गन्तव्यमा घुमाइने बताइएको छ । पहिलो दिन हानोई पुगेर यहाँ थ्री स्टार होटलमा राखिनेछ । दोस्रो दिन उत्कृष्ट पर्यटकीय गन्तव्य निन बिन टापुमा भ्रमण गराउने कम्पनीको भनाइ छ ।

भ्रमणको तेस्रो दिन अर्को उत्कृष्ट गन्तव्य 'हा लोङ बे'मा क्रुज सफारी हुने छ । भ्रमणको चौथो दिन ट्रेनस्ट्रिट भिजिट र हानोईको सिटी टुर गराई पाँचौँ दिन नेपाल फर्काइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्