site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसदीय समितिमा फेरि उठाइयो तारागाउँ विकास समितिको जग्गामा भ्रष्टाचारको सवाल

काठमाडौं । होटेल हायात रहेको तारागाउँ विकास समितिको जग्गासम्बन्धी विषय फेरि संसदीय समितिमा प्रवेश गराइएको छ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आइतबारको बैठकमा सांसदहरूले तारागाउँलाई भ्रष्टाचारको केन्द्र बनाइएको भन्दै प्रश्न गरेका हुन् । तीन दशकदेखि छलफल जारी रहे पनि समाधानको प्रयास नगरिएको उनीहरूले बताए ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तारागाउँ विकास समितिको जग्गा हायातले हडप्न खोजेको भन्दै यसमा परिपक्व निर्णय आवश्यक भएको बताए । यसमा ठूलो ‘घोप्लाबाजी’ भएको भन्दै उनले सरकारको सेयर २२ बाट ९ प्रतिशतमा कसरी झर्‍यो भन्ने अध्ययन गरिनुपर्नेमा जोड दिए ।

“तारागाउँ विकास समिति राखेका छौँ । थुप्रै जग्गा छ, होटेल छ । सरकारका लागि बोझ भएको छ कि आर्जनको माध्यम भएको छ ? यसबारे जानकारी दिनुपर्छ,” उनले भने, “ककनी, नगरकोटछेउमा पनि रिसोर्ट छ, बेहाल छ । प्राइभेटलाई दिने भए दिनुपर्छ, नभए सरकारले अर्को काममा लगाउनुपर्छ । बोझको रूपमा राख्नु हुन्न ।”

Dabur Nepal
NIC Asia

हायातले हडप्ने प्रयास गरेको भन्दै उनले त्यसबारे सरकारको धारणा माग्नु आवश्यक भएको बताए । “हायातले हडप्न खोजेको छ । सरकारको २२ प्रतिशतबाट ९ प्रतिशतमा सेयर झारेको छ,” नेता नेपालले भने, “१५० रोपनी जग्गामा सरकारको धारणा के हो ? मन्त्रालयले के गर्न खोजेको हो ? स्पष्ट धारणा ल्याओस् ।”

उनले ठूलै भ्रष्टाचारको संकेत रहेको भन्दै मन्त्रालयको विस्तृत धारणा आवश्यक रहेकामा जोड दिए । “निकै ठूलो घोप्लाबाजी भएको कुरा आएको छ । त्यसकारण विस्तृत धारणा मन्त्रालयबाट आओस्,” उनले भने ।

नेकपा (एमाले)का सचिव भीम आचार्यले हायात रिजेन्सीमा ब्रह्मलुट देखिएको बताए । त्यस्तो ब्रह्मलुट सामान्य छलफल र निर्देशनबाट नियन्त्रण नहुने उनले उल्लेख गरे । कार्यतालिका बनाएरै काम गर्न आवश्यक रहेको उनले बताए ।

“यसमा ब्रह्मलुट देखिएको छ । कति महिनाभित्र के काम गछौँ ? स्पष्ट पारेपछि मात्र बैठक बस्दा राम्रो,” आचार्यले भने, “नभए यो कहिल्यै टुंगिँदैन । मन्त्रालयको कार्ययोजना आएपछि मात्र बोल्दा ठिक हुन्छ, निर्देशनमाथि निर्देशन मात्र दिनु राम्रो हुँदैन ।”

सार्वजनिक जग्गा हडप्न खोजिएको भन्दै उनले त्यसलाई सरकार मातहत फिर्ता ल्याउनुपर्ने बताए । “१५० रोपनीको जग्गा के गर्ने ? योजना स्पष्ट आओस् अनि छलफल गर्छौँ,” उनले भने ।

नेपाली कांग्रेसका सांसद एनपी साउदले भने सार्वजनिक जग्गा ‘लिज’मा दिने कानुन स्पष्ट नपार्दासम्म विवाद समाधान नहुने बताए । “जबसम्म सार्वजनिक संस्थाको जग्गा लिजमा दिँदा कानुनी प्रबन्ध गर्दैनौँ, तबसम्म समस्या रहन्छ । संसद्ले बेसिक कानुन बनाऊँ,” उनले भने, “सार्वजनिक चर्चा चलेको छ, सरकार फेरिँदा मात्र फाइल झिकाउने गरिन्छ भनिन्छ ।”

हरेकपटक फाइला ‘हल्लाउने’ मात्र काम हुनुको राज पनि खोजिनुपर्नेमा उनले जोड दिए । “हरेकले फाइल हल्लाउने मात्र, दोस्रो, तेस्रोबाट छोडेको देखिन्छ,” साउदले भने, “यसबारे हात हाल्ने भए कानुन बनाऊँ, अनि मात्र तारागाउँ मात्र हैन, अन्य सार्वजनिक जग्गाको समस्या समाधान हुन्छ । हात हालेर हल्लाएर मात्र छाड्ने हैन, दिगो रूपमा समाधान गर्नुपर्छ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro