site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युनुसले गरे राजनीतिक, सामाजिक र धार्मिक सहिष्णुताका निम्ति अपिल
फाइल तस्बिर : एपी ।

ढाका । बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गरेका नेता मोहम्मद युनुसले शनिबार राजनीतिक, सामाजिक र धार्मिक एकताका निम्ति सबै देशवासीसँग अपिल गरेका छन् । शेख हसिनाको १५ वर्षे शासन अन्त्य गर्ने क्रममा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएकी एक छात्राकी रोइरहेकी आमालाई अँगालो हाल्दै उनले विगतको हृदयविदारक घटनालाई मनमा राख्न र धार्मिक सहिष्णुता प्रकट गर्न आग्रह गरेका हुन् ।

नोबेल पुरस्कार विजेता ८४ वर्षीय युनुस यसै साता युरोपबाट फर्किएका र अव्यवस्थाको अन्त्य तथा प्रजातान्त्रिक सुधारको ठूलो चुनौतीको सामना गर्दै अन्तरिक प्रशासनको नेतृत्व सम्हालेका हुन् । “हाम्रो जिम्मेवारी नयाँ बंगलादेश निर्माण गर्नु हो,” उनले भने ।

Argakhachi Cement Island Ad

पूर्वप्रधानमन्त्री हसिनालाई विद्यार्थी आन्दोलनको बलमा गत साता पदच्युत गरिएपछि देशका हिन्दु अल्पसंख्यक समुदायमाथि भएका कैयौँ प्रतिशोधात्मक आक्रमणले छिमेकी मुलुक भारतमा सन्त्रास पैदा गर्नुका साथै स्वदेशमा पनि त्रास फैलाएको छ ।

युनुसले उत्तरी सहर रंगपुरको भ्रमणका क्रममा गएको महिना भएको अशान्तिका क्रममा मारिएका पहिलो विद्यार्थी अबु सायिदको सम्झनामा शान्ति कायम गर्न आह्वान गरेका थिए । उनले भने, “धर्मका आधारमा विभेद नगर्नुहोस् ।”

उनले भने, “सायिद अहिले हरेक घरमा हुनुहुन्छ । उहाँ जसरी राष्ट्रिय जागरणका लागि उभिनुभयो, हामीले पनि त्यस्तै गर्नुपर्छ । अबु सायिदलाई हेर्ने दृष्टिकोणबारे बंगलादेशमा कुनै मतभेद छैन ।”

विद्यार्थीको नेतृत्वमा हसिनाको सरकारविरुद्ध प्रदर्शनका क्रममा जुलाई १६ मा प्रहरीले चलाएको गोली लागी २५ वर्षीय सायिदको मृत्यु भएको थियो । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  २०:४१
प्रतिक्रिया दिनुहोस्