site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अजंगको पहाडमुनि
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

एक दिन अचानक अक्टोभिया स्टिल एन्ड कम्पनीका एमडीडीपी गोयन्काले गोवा जाने कर्मचारीको सूचीमा मेरो नाम पनि समावेश गरेर सूचनापाटीमा टाँसिदिएकोले खुसीले छचल्किँदै म मक्ख पर्न पुगेको थिएँ ।

यो मेरो जिन्दगीको पहिलो औपचारिक लामो भ्रमण थियो । ७३१ चौकीदारमध्येबाट मजस्तो एउटा मामुली पिप्सोलाई यति महत्त्व दिई यात्रामा सामेल गराउनु पनि चानचुने कुरा थिएन । त्यसले गर्दा पनि म खुसीले निम्ठिएर रौसिन पुगेको थिएँ ।

अक्टोभिया स्टिल भनेको एकजना प्रतिष्ठित ब्रिटिस नागरिकको नाउँ रहेछ । उनले भारतको असम राज्यमा ३१७ एकड जमिन चियाखेती गरी कम्पनी आफ्नै नाममा खोली व्यवसाय सुरु गरेका र भारत स्वतन्त्र भएपछि उनले भारतकै एकजना प्रतिष्ठित व्यापारी डीपी गोयन्कालाई यो कम्पनी बेची बिदा भएका रहेछन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

डीपी गोयन्काले कम्पनीलाई यही नाममा मल्टी नेसनल कम्पनीका रूपमा विकसित गर्दै आफ्नो व्यवसायको साम्राज्य बेजोडले फैलाउँदै लगेका थिए ।

यो कम्पनी चिया उत्पादनमा मात्र सीमित नरही भारतभरि उत्पादन हुने चियाको ब्रान्ड परीक्षण, स्वीकृति गर्ने र त्यसलाई आधिकारिक रूपमा विश्व बजारमा निर्यात, पैठारी गर्दै आएको थियो ।

Royal Enfield Island Ad

बिक्रीका लागि विश्वबजारमा पठाइने चिया यो कम्पनीको इजाजतबेगर पठाइए अवैध हुने रहेछ । यो कुरा मैले त्यहीँ रहँदाबस्ता घुर्मैलो पाराले बुझेको थिएँ ।

एक्कासि महत्त्व दिएर गजक्क फुल्न पुगेको त खासमा मलाई पोटरको रूपमा लगिएको रहेछ । झन्डै पाँच सयको हाराहारीमा हुँदो हो, प्याकिङ गरिएको चियाको कार्टुन । रेल्वे स्टेसनमा त त्यहीँका कुल्लीले यो काम गर्ने हुनाले सामान्य जानकारी र रेखदेखबाहेक त्यति पसिना चुहाउनु परेन । रेल्वे स्टेसनबाट बाहिर निकालेपछि मेरो जैराग्यको वैतरणी अनि सुरु भयो ।

कम्पनी इन्चार्ज मिस्टर केएन मूर्तिको अगुवाइमा यो काम सम्पादन हुँदै थियो । मेरो काम सामान गोवामा लगेर डेलिभरी गर्ने कम्पनी र उसले निर्देशन गरेको स्थानसम्म विनाफिराद लोड, अनलोड गर्ने रहेछ ।

रेल्वेबाट निकालिएको सामान बाहिर ल्याएर अन्य सवारीसाधनमा लोड गर्दा त्यहाँका रैथाने लोडरहरू मोटो रकमविना टसमस नगर्ने हुनाले मलाई त्यही काममा बलि चढाउन लगिएको भन्ने मैले त्यहाँ पुगेपछि मात्र थाहा पाएँ ।

काम अत्यधिक बोझिलो र सो पारायण गरेबापत एक दिन गोवाको साक्षात् दर्शन गरी निःशुल्क फुस्रा ओठ लोटाएर फर्किन पाइने हुनाले ७३० जनाले टसमस नगरेपछि मलाई पर्सिएको रहेछ ।

गोवाबाट उताको कामचाहिँ स्वयम् एमडीले नै गर्ने र उनी प्लेनबाट एक दिनपछि गोवा जाने कार्यतालिकाको कन्दनी समाएर बिदा गर्न हावडा स्टेसन आएका थिए ।

हावडा स्टेसन भनेको कलकत्ताको मात्र नभएर पूरा भारतवर्षभरिकै अति अत्यधिक घुइँचो हुने व्यस्त रेल्वे स्टेसन थियो ।

हावडाको कुम्भीपाक पार गरेपछि झन्डै ४२ घण्टाको अन्तरालमा हामी गोवा पुग्यौँ । गोवामा कम्पनीले भनेको ठाउँमा सामान पुर्‍याउन झन्डै दिव्य ४८ घण्टा निर्विवादको रौरव यात्रापछि खानामा गाली र पिनामा पानीले ढुसी परेर अरमट्ठ हुन पुगेको पेट मुसार्दै सो कामबाट अमलेख भएँ ।

कार्यको अनावश्यक बोझले मानसिकता नै कचपच्च परेको थियो । केही समय त आवेगले भाउन्न भएर फनफनी घुम्न पुगेँ । प्रतिष्ठित घरानामा दरिएको व्यापारीले कति पाशविक किसिमले आफ्ना कारिन्दालाई दल्दो रहेछ भन्ने कालकुट पिएपछि झसंग हुँदै ढक्क फुल्दै गएको आङलाई ओढेर बेलुका नै केएन मूर्तिसँग करजोडी बिन्ती गरेँ, ‘सर, म अदनु अनभ्यस्त पहाडिया । यस किसिमको ज्यानमारा काम न कहिल्यै गरेको थिएँ न फेरि गर्न नै सक्छु । जिउ रहे लाख पाइने उखान नै छ । मबाट यस्तो काम हुन नसक्ने रहेछ । कृपया मेरो हिसाब गरिदिनु ।’

उनले मलाई निकै लोलोपोतो गरेर फकाउने चेष्टा गरे । ‘यो अनकन्टार ठाउँमा एक्लै कता जान्छस् ?’ पनि भने । कम्पनीमा स्थायी गराइदिने र स्थायी भएपछि जिन्दगी सुध्रने ललिपप पनि देखाए ।

ज्यानलाई नै धरौटी राखेर सुविधा लिने आँट गर्न सकिनँ । मन मरिसकेको हुनाले त्यता फर्किन मन लागेन । घरबाट हिँड्दै ‘उठ् जोगी फट्कार छाला, जहाँ जाला त्यहीँ खाला’को गायत्री जप्तै हिँडेको थिएँ । त्यही समय फरफारक गरी आफ्नो बाटो समाएँ ।

अनि, यहीँबाट सुरु हुन्छ मेरो बेवारिसे उडानको उपोद्वात ।

सोह्रवर्षे अल्लारे जवानीको काँचो जोसमा लत्पतिँदै सडकमा ओर्लेँ । निरीक्षण भ्रमणमा निस्केका जुँगाका कलिला, कल्कलाउँदा रेखीलाई दाँतले तानेर यसो किटिक्क टोकी त्यसको भर्पाइबापत ओठ चाटेर मुख मुसार्दै अघि बढेँ ।

यसो चलचित्रका रुमानी पर्दाहरूमा झल्याकझुलुक देखेबाहेक गोवाको आलो छवि अरू देखेको, सुनेको केही होइन । उमेर अधबेस्रो थियो भने लख काट्छु, गति त्योभन्दा बेसी सुधारिएर फक्रन सकेको थिएन ।

नपुगे, नदेखे पनि गोवाको दुई आकर्षक सेलिब्रिटी कुरा मैले सुनेको थिएँ । एउटा, समुद्री किनाराको बिन्दास सयर र अर्को, त्यहाँ पाइने अंगुरको बियर । सन् १९८० मा एक बोतल बियरको मूल्य मात्र तीन रुपैयाँ पर्ने हुनाले अधिकांश यात्री पानीको तलतल बियरले मेटाउँदै प्राकृतिक उपादानको मनोहारी सौन्दर्य संयोगको रंगीन सरोवरमा डुबुल्की मार्न खोज्दा रहेछन् ।

बियरको पहुँचसम्म पुग्न नभ्याएको अर्धनिरामिष तागाधारी थुतुनु, त्यसको सुन्दर लालसालाई किनारामै तृपन्ताम गर्दै समुद्री छालसँग जुधेर अक्टोभिया स्टिलको कल्मष पखाल्न त्यस रुटको बस सोधखोज गर्दै गएँ ।

मध्यान्नको समय, जुनको महिना र बेसम्हार भीडसँग लाप्पा खेल्दै भित्र छिर्ने एउटा मझौलाखाले प्वालमा हात छिराएर टिकट काटेँ । भित्रको रमाइलो र रोमाञ्चक दृश्य साँच्चै नै कल्पनातीत लाग्यो । मानिसहरू मनमौजी पारामा गन्तव्यरत थिए । तिनै आह्लादित आरोहीहरूलाई लक्षित गरी ठाउँठाउँमा सजाइएका स्टलहरू ।

अर्धनग्न कम र नग्न ज्यादा देखिने युवाजोडीले अतिक्रमण गर्दै लगेको परिवेश बैँसको उन्मादमा उर्लेर मगमगाइरहेको थियो । र, त्यसको मनोहारी सिम्फोनीमा बेरिँदै किनारामा बसेको साक्षीको रूपमा सनाखत गर्न परित्यक्त आसामीर्झैँ म पनि हुन्हुनाउन पुगेको थिएँ ।

मेनगेटबाट समुद्र पुग्न पनि झन्डै एक किलोमिटरको दूरी पार गर्नुपर्ने रहेछ । कसैलाई नसोधी भीडलाई पछ्याउँदै गएपछि म त्यहाँ त पुगेँ, तर त्यहाँ पुगेपछि गर्नुपर्ने काम केके हो केही थाहा थिएन ।

न त सम्पर्कमा कुनै सुन्दर जोडी थिए न त साथमा कुनै घोडी । एक्लो बुल्याहाजस्तो अवधूत तालमा हिँड्दै गएँ र अरूले गरेको दृश्य सापटी लिँदै त्यसैमा तिरोहित हुँदै गएँ ।

समुद्रतटमा कहाँसम्म जान सकिने र कहाँ पुगेपछि खतरा बढ्दै जाने संकेतसहित ठाउँठाउँमा होर्डिङ बोर्डहरू लगाइएका थिए । ती सूचना सामग्रीका पन्तुरालाई मुटुमा बेरेर म निर्निमेष अगाडि बढ्दै गएँ ।

समुद्रसँग त होइन, दुईचारपटक फलाँटे, ग्वाङखोला, रोसी र एकदुईपटक लिखू, तामाकोसीको किनारामा चप्ल्याङचुप्लुङ गर्दै यसो भ्यागुतेचालमा डुबुल्की मारेको भए पाप नलागोस्, नत्र भने खोलानदी र डुबुल्कीसँग सात हात परको साइनो समेत परेको थिएन ।

सबै बेला त होइन, निकै समयको अन्तरालमा एउटा विशाल छाल पूरा भूमण्डललाई नै विदग्ध पार्छु भनेझैँ गरी एउटा अजङको पहाड गगनचुम्बी लहर उराल्दै उर्लेर आउने र किनाराका सबै आगन्तुक अनुरागीहरूलाई सोहोरेर पन्ध्रबीस हात पर पुर्‍याउँदै हुत्याइदिने र त्यही छालले अधिकांशलाई सोहोरेर तल निषेधित किनाराको बारसम्म पुर्‍याउने रहेछ ।

आनन्द, सौन्दर्यको पराकाष्टा पनि यसैलाई मानिँदो रहेछ । एक्कासि छालले छोप्ता कति मान्छे त कता जुठे, कता जुठेकी स्वास्नीजस्तै पनि हुन पुग्ने रहेछन् ।

दुईचारपटक यस्तो रोमाञ्चकारी दृश्य देखेपछि मलाई पनि डुबुल्की मारौँकी भन्ने खुल्दुली र लोभ लागेर आयो । म अगाडि लुगा नै नफुकाली बढेको देखेपछि एउटा कुनै महासमरको रमणीय यात्रीले सचेत तुल्याउँदै लुगाप्रति इसारा गर्‍यो । भाषा मैले फुटाउन सकिनँ । इसारा भने धेरथोर बुझेँ ।

लुगा लगाएर यसरी समुद्रमन्थनमा लाग्न नहुने र त्यसले वरण गर्न सक्ने घातक परिणामका कुरा त बुझेँ, तर मसँग फुकाल्ने, फेर्ने, राख्ने लुगाको स्थानाभावको विकल्प केही थिएन ।

सबै मौज्दात विकल्पहरूलाई साथै च्यापेर हिँडेको हुनाले म यो सूचनाप्रति सचेत र सहज हुन सके पनि यसलाई यथार्थमा कार्यान्वयन गर्न असमर्थ थिएँ ।

‘नंगा नहाए क्या निचोडे क्या’को जस्तै नियति धुन्धुकारीको लिंगोजस्तो बनेर मेरो मुटुमा गाडिन आइपुगेको थियो । अलिअलि डर, अलिअलि कौतूहल र एकसरो सन्त्रासमा लपेटिँदै गएँ ।

ठिक त्यसै बेला एक्कासि रिसाएर पश्चिम बादलबिनाको ओझेल कालो, मैलो, लुँडी, प्युरी हुँदै मडारिएर अगाडि बढेको दृश्य धर्तीमा धसिन आइपुगेको हुनाले चारैतिर खैलाबैला र होहल्ला चल्न थालेपछि म पनि अवाक् भएर टोलाउन पुगेँ ।

भएको के थियो र हुन आँटेको के हो भन्ने कुरा सोच्न, सम्झन नपाउँदै तीव्र गतिमा पहिले चिसोले अभिषेक गर्‍यो र निमेषभरमा नै बेसम्हार पानीले झ्याप्प छोपिहाल्यो ।

मैले यस्तो होला भन्ने कल्पना पनि गरेको थिइनँ । छालले छोप्नासाथ एक्कासि निसासिन पुग्दा अत्यासले मुख ह्वाङ्ङ खुल्न पुगेको र त्यही बाटो पछ्याएर सबै समुद्री स्वादहरू उदरस्थ भई मलमूत्र बिसर्जन केन्द्र हुँदै रोक्न खोज्दाखोज्दै पनि हुलुलुल्ल बाहिर निस्किए ।

जुन गतिमा समुद्री तुफान आएको थियो, ठिक त्यही गतिमा झ्याप्प छोपेर ह्वात्त फर्किहाल्यो र मात्रै, केही सेकेन्ड अरू रहेको भए त्यसै दिन चिलिम फर्किनबाट रोक्न इन्द्रेको बाउ चन्द्रे आए पनि सक्ने थिएनन् होला सायद ।

र्‍याल, सिँगान काढेर थिग्रिन नपाउँदै पोखिएको छाल फेरि फर्केर आयो र थिग्रिन खोज्दा नखोज्दै सोहोरेर स्वाट्ट बगाउँदै समुद्र्रतिर नै लाग्यो । पहिले आउने छाल उरालिएर गगनचुम्बी हुँदै आएको थियो । यो पछिल्लो भने पोखिएर लिपिँदै, सोहोरिँदै गएको थियो ।

त्यहाँ मानिस किन निर्वस्त्र हिँड्दा रहेछन् भन्ने कुरा फर्केको छालले प्युरी बटारेको जस्तै गरी लोटाउँदै लगेपछि थाहा पाएँ । के गरेपछि दैलो देखिएजस्तै नियति ओढेर छालसँगै सोहरिँदै गएको थिएँ !

त्यो बेसम्हार नुनिलो पानीले लुगा भिजेपछि जिउ अत्यन्त गह्रौँ हुने र त्यही लुगा शरीरमा जथाभावी बेरिएर हलचल समेत गर्न नदिएको हुँदा बारमा पुगेर ब्ल्याङ्ङ पछारिएँ । बार फलामको रहेको र माथिबाट बेजोडले बग्दै आएको पानीको प्रवाह अत्यधिक भएकोले त्यसको भर्पाइ पनि टुटुल्को टाँसेर बारले उठाइ छोड्यो ।

त्रासले, पीडाले मक्मकिएर चुरचुर हुन पुगेको शरीरलाई चार पाउको टेको लगाएर यसो उचाल्न खोज्दा गोलगन्जीमा गह्रौँ लाग्ने कुनै अपरिचित वस्तु भित्र पसेर झुन्डिएको थियो । कम्मरपेटीभित्र गोलगन्जी नघुसारेको भए सायद पत्तो नपाई ऊ सुलुत्त छिरेर भित्रैबाट कुलेलम ठोक्थ्यो होला ।

कुनै बिखेत गरी पो हाल्छ कि भन्ने लागेपछि उठ्न छोडेर त्यही गतिमा थचक्क बसेँ र लुगा खोतल्दै हेरेँ । पहेँल्चोपहेँल्चो लाग्ने कुनै पुरानो बुट्टा काटिएका जस्ता लाग्ने कलात्मक पित्तलको मुड्कीजस्तो बाक्लो र चेप्टो, चिप्लो, कुचिँदै गएको पाइटे थालजस्तै लाग्यो । गन्जीबाट निकालेर हेर्दा लामालामा धर्काका रङ, रूप निकै आकर्षक लाग्दै गएपछि त्यसलाई ओल्टाउँदै पल्टाउँदै गएँ ।

निकै बेर यसो गरेपछि यो के रहेछ भनेर अन्योलमा लट्पटिएर एकोहोरो त्यसलाई हेर्दै थिएँ, त्यही बेलामा एउटा कालो ठुटो कतैबाट आयो र ‘मै इसे खोज रहा था । तुम्हे कहाँ मिला ?’ भन्दै हातबाट फुत्त खोसेर कुलेलम ठोकी पनि हाल्यो ।

म अक्क न बक्क पर्दै एकछिन टोलाएर बसिरहेँ ।

कलकत्ता फर्केपछि यो कुरा साथीहरूलाई बताउँदा उनीहरूले नाकेडाँडी भाँच्चिने गरी मुख नापी दिँदै खेदो खनेर खिसी गरे । त्यो पित्तलको थालसाल केही नभएर बहुमूल्य सिपी भएको उनीहरूको ठम्याइ थियो ।

जब यो प्रसंग स्मृति आउन थाल्छ अनि एक्कासि झल्याँस्स हुँदै कवि राजा भर्तृहरिको यी चार लाइन कविता सम्झँदै आफ्नो मुखलाई आफैँले लोप्वा खुवाउँदै मन थुम्थुम्याउन थाल्छु–
खल्बाटो दिवसेश्वरस्य किरणैः सन्ताडितो मस्तके
वाञ्छन्देशमनातपं विधिवशात्तालस्यमूलंगतः
तत्राप्यस्य महाफलेन पतता भग्नं सशब्द शिरः
प्रायो गच्छति यत्र भाग्यरहितस्तत्रैव यान्त्यापदः ।

(मध्यान्नको समयमा कुनै तालु खुइलिएको मानिस घामको प्रचण्ड राप खप्न नसकेर सियाँल खोज्दै नरिवलको बोटमुनि बस्न पुगेछ । नरिवलको रुखमा अडेस लागेर एकछिन आराम के गरेको थियो, ठिक त्यही समयमा नरिवलको दानो खसेर त्यसको खुइले टाउको फुट्ने गरी बज्रेछ । अभागीहरू जहाँजहाँ जान्छन्, त्यहाँत्यहाँ तिनीहरूको अवस्था यस्तै किसिमको हुने गर्दछ ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  ०५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro