site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बढ्दै छ विश्व फुटबलमा स्पेनको वर्चस्व

काठमाडौं । हरेक स्तरको फुटबलमा अहिले स्पेनको दबदबा छ । यसै वर्षको जुन–जुलाईमा स्पेनिस पुरुष टिमले इंग्ल्यान्डलाई हराउँदै युरोपियन च्याम्पियनसिपको उपाधि जित्यो । गत वर्ष महिला टिम विश्व च्याम्पियन बनेको थियो ।

युरोपियन क्लब फुटबलमा पनि स्पेनकै राज छ । दुई जायन्ट क्लब रियाल मड्रिड र बार्सिलोनाले क्रमशः गत सिजन पुरुषतर्फ र महिलातर्फको युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

स्पेनले यो सफलतामा ओलम्पिक स्वर्ण थप्ने सम्भावना पनि कायमै छ । स्पेनको पुरुष टिमले शुक्रबार स्वर्ण भिडन्तमा घरेलु टिम फ्रान्सविरुद्ध खेल्दै छ । महिला टिम भने ओलम्पिकको सेमिफाइनलमा ब्राजिलसँग पराजित भएपछि स्वर्ण जित्ने अवसर गुमाए । समग्रमा अहिले स्पेनिस टिमले विश्व फुटबलमै राज गरिरहेको छ ।

Spnish_1-1723200858.jpg
 

कसरी फुटबलमा हाबी बन्यो स्पेन
स्पेनले सन् २०१२ पछि यो वर्ष युरोपियन च्याम्पियनसिपको उपाधि जितेको हो । यी दुई उपाधिबीचमा भने स्पेनिस टिम संक्रमणकालीन अवस्थाको स्थितिमा थियो । तर, अहिले स्पेनिस टिमको लय उच्च स्तरमा छ ।

विश्वकप, युरोपियन च्याम्पियनसिप, च्याम्पियन्स लिग वा यूईएफए कप, युरोपा लिग जे भए पनि स्पेनिस टिम समावेश भएको पुरुषतर्फ पछिल्लो २७ फाइनलमध्ये सबैको उपाधि स्पेनीले नै जितेका छन् ।

Spnish_2-1723200859.jpg
 

महिलातर्फ स्पेनमा पछिल्लो दशकयतामात्रै व्यावसायिक वातावरणको सुरुआत भएको देखिन्छ । तर, अहिले उनीहरू पनि उच्च दबाब हुने खेलमा सुखद् नतिजा दिन तयार देखिन्छन् ।

महिला विश्वकपमा स्पेनले सन् २०१५ मा मात्रै डेब्यु गरेको हो । तर, त्यसयता तीन संस्करणमात्र विश्वकप खेल्दा नै स्पेनले गत वर्ष इंग्ल्यान्डलाई हराउँदै उपाधि जितिसकेको छ ।

स्पेनको महिला टिमले यसै वर्षको सुरुआतमा यूईएफए नेसन्स लिगको उपाधि जिते । महिला च्याम्पियन्स लिगको पछिल्लो दुई संस्करण हेर्ने हो भने पनि स्पेनिस क्लब बार्सिलोनालाई फाइनलमा अरु टिमले पराजित गर्न सकेका छैनन् ।

“स्पेनको महिला फुटबलमा भएको परिवर्तन विशेष रूपमै प्रभावकारी देखिएको छ,” हाल सञ्चारकर्मी पेसामा रहेकी पूर्वफुटबलर मारिया गारिडोले भनिन् ।

“१० वर्षअघि मैले बार्सिलोनाबाट खेल्दा महिलाका निम्ति ला मासिया (बार्सिलोनाको खेलाडी उत्पादन गर्ने एकेडेमी) थिएन । यातायातको खर्च हामी आफैँले तिर्नुपथ्र्यो । हाम्रो अभिभावकहरूले हामीलाई प्रशिक्षणमा ल्याउँथे । हामीले खेलेरै कमाउने वातावरण थिएन । तर, पछिल्लो पाँच वर्षमा अवस्था नाटकीय रूपमा फेरिएको छ । त्यहाँ महिला फुटबललाई उकास्न उल्लेख्य काम भएका छन् । जसमा युवा उमेर समूह, राम्रो सुविधा र वातावरण तथा महिलाकै लागि एकेडेमी बनेको छ ।”

“यी परिवर्तनले महिला फुटबलमा क्रान्तिमात्रै ल्याएको छैन, स्पेनमा उनीहरूलाई सम्मानितसमेत बनाएको छ ।”

साल्मा पाराउलो २० वर्षकी मात्रै भइन् । तर, उनी स्पेनले महिला फुटबलको उपाधि जित्दा महत्त्वपूर्ण सदस्य थिइन् । उनले बार्सिलोनाबाट दुईपटक च्याम्पियन्स लिगको उपाधिसमेत जितिसकेकी छन् ।

स्पेनले पाएको यी सफलता युवास्तरमै विभिन्न प्रतियोगिताको उपाधि जित्नुको ठूलो भूमिका छ । युवा टिमको सफलतालाई सिनियर टिमसम्म ल्याउँदा नै अहिले विश्व फुटबलमा स्पेनिसले तहल्का मच्चाइरहेका छन् ।

उमेरसमूहमा पाराउलोले यू–२० र यू–१७ विश्वकपको उपाधि जितेकी छन् । उनले यू–१७ युरोपियन च्याम्पियनसिपको पनि उपाधि जितेकी छन् ।

“हामीले सबै कुरा जितिरहेका छौँ । अन्त्यमा जित्नुलाई हामी सामान्यीकरण गर्छौँ । हामीले जे गर्यौँ, त्यो असाधारण छ,” पाराउलो भन्छिन् ।

Spnish_4-1723200862.jpg
 

प्रशिक्षकमा निरन्तरता
निकटता र निरन्तरताले पनि स्पेनिस फुटबल विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ । २०२४ को युरोपियन च्याम्पियनसिप जित्दा स्पेन लुइस डे ला फुइन्टेको प्रशिक्षणमा थियो । ६३ वर्षीय फुइन्टे सन् २०२२ मा यो जिम्मेवारीमा आएका थिए । तर, त्यसअघि उनले स्पेनिस टिमको यू–१९, यू–२१ र यू–२३ उमेर समूहमा प्रशिक्षण दिइसकेका थिए । सिनियर टिमबाट जितेको युरो फुइन्टेको कार्यकालको तेस्रो युरोपियन च्याम्पियनसिप हो । उनले यसअघि स्पेनिस टिमको यू–१९ र यू–२१ उमेर समूहबाट युरो उपाधि जितिसकेका थिए ।

“टिममा रहेका अधिकांश खेलाडीलाई फुइन्टे एकेडेमीदेखि नै चिन्थे । जतिबेला उनीहरू भर्खरमात्रै टिमको रूपमा विकास हुँदै थिए,” स्पेनका पूर्वमिडफिल्डर जुआन माटाले भने, “यो अहिले वर्तमानको मात्रै टिम होइन, यो टिम भविष्यको लागि पनि हो ।”

स्पेनिस महिला टिमले विश्वकपको उपाधि जित्दा जर्ज भिल्डा टिमको प्रशिक्षक थिए । फुटबल संघका पूर्वअध्यक्ष लुईस रुबियसको कान्डमा मुछिएपछि बर्खास्तगीमा परे पनि भिल्डाले आठ वर्षदेखि स्पेनिस महिला टिम हेरिरहेका थिए ।

Spnish_5-1723200862.jpg
 

उनले विश्वकपअघि यू–१७ र यू–१९ बाट समेत उपाधि जितिसकेको थिए ।

भिल्डाको स्थानमा उनको सहायक प्रशिक्षक मान्टसे टोमेले स्पेसिन टिमको प्रशिक्षण सम्हालेकी छन् । स्पेनको पहिलो महिला मुख्य प्रशिक्षक बनेकी टोमेले पहिलो प्रयासमै टिमलाई नेसन्स लिग च्याम्पियन बनाइन् । त्यसबेला स्पेनले फ्रान्सलाई हराएको थियो ।

“यू–१७ र यू–१९ टिमका प्रशिक्षकलाई सिनियर टिममा लैजाने प्रक्रियाले टिममा रणनीतिक र सैद्धान्तिक प्रणालीले निरन्तरता पाएको छ,” गारिडो भन्छिन् ।

एउटा परिभाषित फुटबल शैली
सन् २००० र २०१० दशकको सुरुआतमा स्पेनले पहिलोपटक विश्व फुटबलमा दबदबा बनाएको थियो । जतिबेला स्पेनिस टिमले छोटो पास खेल्ने ‘टिकी–टाक’ शैली चर्चित बनाएका थिए ।

हाल ‘टिकी–टाका’ लगभग समाप्त भइसकेको छ । तर, स्पेनिस टिमले भने अझै यसलाई छोडेको छैन । यो शैलीले स्पेनिस टिमलाई विकसित बनाएको छ ।

पोसेसन अझै पनि स्पेनिस टिमको मुख्य हतियार हो । तर, यो पहिलेको जस्तो प्रभावकारी भने छैन ।

Spnish_3-1723200860.jpg
 

युरो–२०२४ मा क्रोएसियाविरुद्ध ३–० को जित निकाल्दा स्पेनिस टिम पोसेसनमा विपक्षी टिमभन्दा पछि थियो । सन् २००८ को युरो फाइनलयता जितका बावजुद स्पेनविरुद्ध विपक्षी टिमको पोसेसन धेरै भएको यो पहिलोपटक थियो ।

खेल्ने शैली र पोसेसन अझै पनि स्पेनिस टिमको बलियो पाटो हो । र, यी दुई कुरा नै महिला र युवा फुटबलमा पनि प्रमुख ध्यानमा छ । सबैभन्दा महत्त्वपूर्ण उदेश्य सबै स्तरमा खेलाडीलाई परिचित फुटबल शैलीमा राख्नु हो ।

“यो स्पेनिस टिमको राम्रो पक्ष भनेको खेलाडीलाई आफ्नो भूमिका र यसमा कसरी घुलमिल हुनुपर्छ भन्ने राम्रो ज्ञान छ,” म्यानचेस्टर सिटीका पूर्वरक्षक मिकाह रिचार्डस भन्छन्, “एक समय इंग्ल्यान्डमा हामी उत्कृष्ट खेलाडीमात्र मैदानमा ल्याउथ्यौँ । यो स्पेनिस टिमले भने आफ्नो शैलीमा प्रभाव पार्न सक्ने खेलाडीलाई टिममा ल्याउने बाटो बनाएको छ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro