site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
हसिनाले देश छाड्नुपर्ने परिस्थितिबाट चेत्ने कि नचेत्ने ?

बंगलादेशमा विगत दुई महिनायता आरक्षण र कोटा प्रणालीविरुद्धमा विद्यार्थीहरूको विरोध आन्दोलनले शक्तिशाली प्रधानमन्त्रीको परिचय बनाएकी शेख हसिना वाजेदले सत्ता त गुमाइन् नै अन्ततः मुलुकबाटै भाग्न बाध्य भइन् । अगस्ट ५, २०२४ का दिन प्रधानमन्त्रीबाट राजनीनामा दिएर हेलिकोप्टरबाट बाजेद सपरिवार भारततिर लागिन् ।

बंगलादेशमा सबैभन्दा बढी समय प्रधानमन्त्री बन्ने अवसर पाएकी वाजेदले अधिनायकवादी रूप धारण गरेकी थिइन् । आन्दोलनकारी विद्यार्थीमाथि दमनको अस्त्र चलाएर देखाएको क्रूर तानाशाही शासकको व्यवहारले उनलाई भाग्न बाध्य बनाएको हो ।

लोकतान्त्रिक शासन व्यवस्थामा वाक स्वतन्त्रता, मानव अधिकार, भेला वा सम्मेलन गर्ने स्वतन्त्रता, शान्तिपूर्णरूपमा आफ्ना माग राख्ने हक र स्वतन्त्रता हुन्छ । प्रेस स्वतन्त्रता, कानुनी राज्यजस्ता मौलिक हक र अधिकार कुण्ठित गरेकै कारण उनको आलोचना र विरोध बढ्दै गएको थियो ।

Dabur Nepal
NIC Asia

उनको पछिल्लो कार्यकालमा लोकतान्त्रिक विचार र दर्शनभन्दा पनि अलोकतान्त्रिक र अधिनायकवादी चरित्रले प्रधानता पाएको  थियो । पछिल्लो समयमा उनमा सत्ता मोह र उन्माद ज्यादै बढ्दै गएको देखिएको थियो ।
 
सरकारी जागिरमा आरक्षण र कोटा प्रणालीले छपन्न प्रतिशतलाई फाइदा दिने व्यवस्थाका कारण समाजमा योग्य र सक्षम विद्यार्थीहरूले सरकारी जागिरमा प्रव्रेश गर्ने अवसरबाट बञ्चित हुनुपरेको अवस्था थियो । यस प्रणालीबाट सबैभन्दा बढी फाइदा वाजेदको आवामी लिग पार्टी समर्थकलाई हुने थियो ।

यसको विरोध हुन थालेपछि पनि वाजेद सच्याउन भइनन् । यसले समाजमा असन्तुष्टि ल्याएको थियो । निरंकुश शासकले झैँ उनले देश र जनताको स्वार्थभन्दा पार्टी स्वार्थ ‘माथि’ राखेर हिँड्दा देशै छाडी भाग्नुपर्ने स्थिति आयो ।
 
सत्तामा आउने या जाने नियमित प्रक्रिया हो । लोकतन्त्रवादी कुनै नेता सत्ता आउनु र जानुलाई पनि स्वाभाविक हो । यो लोकतन्त्रको सौन्दर्य पनि हो । तर, अधिनायकवादी र निरंकुश शासकहरूले सत्ता आउनु र जानुलाई स्वाभाविक रूपमा लिँदैनन् । सत्ता गुमेपछि सबै गुमेको उनीहरू ठान्छन् । अधिनायकवादीको विशेषता र चरित्र नै यही हो । वाजेद लोकतान्त्रिक नेताबाट अलोकतान्त्रिक र अधिनायकवादी नेतामा रूपान्तरित भएकै कारण देशै छाडी भाग्नुपरेको हो ।

वाजेदले राजनीतिक स्थिरताको नाममा विपक्षी दलका नेताहरूलाई अनेक मुद्दा लगाउँदै जेलमा कोचिन् । संवैधानिक निकायहरू पनि उनकै योजना सहयोग गर्ने अस्त्र बने । तर, आज उनी एक्लै देश छाड्नेमा परेकी छिन् । 

विद्यार्थी आन्दोलनका क्रममा लगभग तीन सय जनाले मृत्युवरण गर्नुपरेको छ । मृतकक आफन्त र घाइते विद्याथीहरूसँग भेट्न पनि उनले चाहिनन् । उनी विद्यार्थीहरूलाई उल्टो आतंककारीको बिल्ला भिराउन पुगिन् । उनका अभिव्यक्तिले विद्यार्थी आन्दोलनलाई थप हिसांत्मक र सशक्त बनायो । त्यतिमात्रै नभएर आन्दोलनमा जनताको समर्थन र सहभागिता पनि बढ्न थाल्यो । अन्ततः उनको सरकारी निवासमा आन्दोलनकारीहरू छिरेर आफनो विजयोत्सव मनाउन थाले ।

विपक्षी र विरोधीहरूलाई अनेक मुद्दा लगाएर फसाउने उनको राजनीतिक रणनीतिको सिकार आज उनी आफैँ बनेकी छिन् । विपक्षीविनाको लोकतन्त्रलाई यथार्थमा लोकतन्त्र मानिदैन । तर, उनी बङ्गलादेशमा विपक्षीविनाको लोकतन्त्रको यात्रामा लागिन् ।

राजनीतिक स्थिरता र विकासका नारा दिँदै उनले प्रमुख प्रतिपक्षी पार्टीलाई चुनावमा बहिष्कार गर्न बाध्य पारेकी थिइन् । तर आफ्ना समर्थकहरूलाई अनियमितता र भ्रष्टाचारमा संलग्न गराउन पुगिन् । यो उनको अर्को ठूलो गल्ती थियो । अनियमितता र भ्रष्टाचारमा मौलाएको सत्ता–राजनीतिको अल्पायुकै हुन्छ भन्ने उदाहरण बङ्गलादेशबाट पनि सिक्न सकिन्छ ।

यही २०२४ को जनवरीमा भएको संसदीय चुनावमा तीन सय सिटको संसद्मा उनको पार्टीले दुई सय पचपन्न सिट हासिल गरेको थियो । वास्तवमा भन्ने हो भने यो नाममात्रैको चुनाव थियो ।

वाजेदले देशै छाड्नु परेपछि उनको दुईतिहाइ बहुमतको संसद्को कुनै अर्थ र महत्त्व रहेन । अब त, राष्ट्रपतिद्वारा संसद् विघटनसमेत भइसकेको छ । धाँधली गरी गरिएको चुनावको लोकतन्मा कुनै अर्थ हुँदैन भन्ने उदाहरण बंगलादेशले स्पष्ट पारेको छ ।

बंगलादेशमा अहिले निर्वाचित सरकार छैन । सरकारमा नागरिक अनुहार देखिए पनि सम्भवतः व्यवहारमा  सेना नै सत्ताको हर्ताकर्ता बन्नेछ । यो लोकतन्त्रको सुदृढीकरणका लागि राम्रो संकेत होइन । दक्षिण एसियाली मुलुकहरूका लागि यो गम्भीर चिन्ताको विषय बन्न गएको छ ।

राष्ट्रपतिले जेलमा रहेकी विपक्षी दलकी नेतृ खालिदा जियालाई र विद्यार्थी नेताहरूलाई थुनाबाट मुक्त गर्ने आदेश दिएका छन् । बंगलादेशको सैन्य नेतृत्वले पनि यस आन्दोलनबाट केही पाठ सिकेको हुनुपर्छ ।

आन्तरिम सरकारको नेतृत्व नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले गरेका छन् । लोकतन्त्र पुनःस्थापना, संसद्को निर्वाचन र शान्ति बहाली छिट्टै हुन पनि सक्छ  ।

बंगलादेश प्रकरणले लोकतान्त्रिक नेताहरूलाई पक्कै पनि केही सन्देश दिएको हुनुपर्छ । नागरिक कुनै पनि बेला भड्किन सक्छन् । नेपालको संघीय संसद्मा बंगलादेश घटनाबारे बहस र छलफल हुनपर्ने देखिन्छ ।

नेपालमा पनि राजनीतिक स्थिरता छैन भने नयाँ संविधानको समावेशी व्यवस्थाको स्वार्थपरक अभ्यासमा कारण नेपालमा भविष्यमा पनि राजनीतिक स्थिरता आउने देखिँदैन । अर्को कुरा, निरंकुश शैलीको र अधिनायकवादी चरित्र बोकेको राजनीतिक सोच र विचारले देशमा शान्ति, सुव्यवस्था र विकास गर्न सक्दैन भन्ने बंगलादेशको घटनाले पनि सिकाएको छ ।
  
बङ्गलादेशको घटनाबाट नेपालले पनि पाठ सिक्नुपर्ने देखिन्छ । पहिलो त, विपक्षीविनाको लोकतन्त्र वास्तविक लोकतन्त्र होइन रहेछ भन्ने हामीले बुझ्नुपर्ने भएको छ ।
 
अर्को कुरा, संविधान र कानुनमा योग्य, दक्ष र सक्षमलाई जागिर वा पढाइमा अवसर नदिएर आरक्षण र कोटाका आधारमा अवसर दिनु असन्तोष र विरोधको बिउ रोप्नु हो भन्ने बुझ्नु पर्नेछ । यहीकारणले नेपालको प्रशासन र शिक्षा क्षेत्रको गुणस्तर बिग्रन गएको छ ।

दुई किसिमको निर्वाचन प्रणालीले नेपालको राजनीतिको गुणस्तर खस्कन गएको छ । संघ र प्रदेश दुवैतिर समानुपातिक प्रणाली खारेज गर्नुपर्ने देखिन्छ । कार्यकर्तालाई जागिर दिने नाममा जनताले तिरेको करको दुरूपयोग गर्न पनि मिल्दैन ।

अर्को कुरा संसदीय शासन व्यवस्था भनेकै प्रतिस्पर्धात्मक शासन प्रणाली हो । योग्य, सक्षम र दक्षले चुनाव जित्छ र आफनो कार्यक्रम लिएर जनतामा जान्छ । समानुपातिक पद्धतिबाट आएका सदस्यहरूको न योग्यताको जाँच हुन्छ, न क्षमताको परीक्षण हुन्छ ।
 
व्यक्ति र पार्टीको स्वार्थका लागि राज्यका साधन र स्रातको दुरुपयोग गर्नु हुँदोरहेनछ भन्ने उदाहरण पनि यस घटनाबाट सिक्नुपर्ने भएको छ । नेपालमा व्यक्ति र पार्टीको स्वार्थमा संवैधानिक अंग, साधन स्रोत दुरूपयोग गर्ने प्रवृत्ति बडेर गएको छ । यस मामिलामा सबै नेताको विचार र व्यवहार समान देखिन्छ ।

शेख हसिना वाजेद देश र सत्ता छाड्नुको अर्को कारण अनियमितता र भ्रष्टाचार पनि हो । अनियमितता र भ्रष्टाचारले अन्ततः आफैँलाई खान्छ भन्ने उदाहरण पनि बङ्गलादेशको घटनाले सिकाएको छ । नेपालमा एकातिर अनियमिता र भ्रष्टाचार बढ्दो छ भने अर्कातिर महँगी, बेरोजगारी र ढिलासुस्ती बढेर गएको छ ।

सरकारको सेवा प्रवाह चुस्त दुरुस्त छैन भने गुणस्तर पनि राम्रो छैन । नेपालको आर्थिक अवस्था अत्यन्त कमजोर छ । आर्थिक अवस्था कमजोर भएकै कारणले र सरकारमा बस्नेहरूमा देश बनाउने सोच र प्रतिबद्धता नहुँदा राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरू समयमै पूरा हुनसकेको देखिँदैन ।

तैपनि सरकार भने आर्थिक अनुशासन र मितव्ययिताको बाटोमा छैन । राष्ट्रपति, प्रधानमन्त्रीलगायत सार्वजनिक पदाधिकारीहरू जनताले उठाएका माग र सवालको समयमै चित्तबुझ्दो जवाफ दिन सकेन भने उसले ठूलो संकटको सामना गर्नुपर्ने हुन्छ भन्ने उदाहरण वाजेदको अहंकारी व्यवहारबाट बुझ्न सकिन्छ । यहाँ यी त केही सांकेतिकरूपमा उठाइएकामात्र हुन्, यस्ता सवालहरू अनगिन्ती छन् । तिनलाई समाधान गर्नेमा नेताहरूको ध्यान जाओस् ।
(संसद् सचिवालयका पूर्वसचिव)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ०८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro