site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘चित्रगुप्त’को अदालतमा भन्न सक्छु, भ्रष्टाचार गरिनँ : प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्ने र नसहने भन्दै दलीय आधारमा लाञ्छित नगर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलहरू भ्रष्टाचारमा जोडिएको बताएका थिए । प्रधानमन्त्रीको प्रतिबद्धताले भ्रष्टाचार निवारण हुन्छ ? भन्दै उनले प्रश्न गरेका थिए ।

Argakhachi Cement Island Ad

जवाफमा प्रधानमन्त्री ओलीले दलीय आधारमा हिलो छ्यापेर चर्चाको खोजी नगर्न सुझाव दिए । “यहाँ मेरो प्रतिबद्धता ‘विगतकै जस्तो हो कि ?’ भन्नुभयो, प्रतिबद्धता उस्तै हो,” उनले भने, “मैले कहिल्यै भ्रष्टाचार गरिनँ र सहिनँ पनि । राजनीतिक रूपमा हिलो छ्याप्नु बेग्लै कुरा, यो घर्तीको अदालत मात्र हैन, चित्रगुप्तको अदालतअगाडि भन्न सक्छु ।”

उनले आफूलाई सम्पत्ति कमाउन आवश्यक नभएको बताए । “मलाई कुनै सम्पत्ति आवश्यक छैन । राज्यको सम्पत्ति अपचलन गरेर मलाई आफ्नो बनाउनु छैन,” प्रधानमन्त्री ओलीले भने ।

अरूलाई पनि भ्रष्टाचार गर्न नदिने उनले पटक–पटक दोहोर्‍याए । “सामाजिक सञ्जालमा गाली गरे, मुख छाडेर लेख लेखे होला, बेग्लै कुरा । तर, यहाँ भन्छु– मैले भ्रष्टाचार गरिनँ, कसैलाई गर्न पनि दिएको छैन,” उनले भने, “मेरो बुताबाहिर कसैले गरे होला, तर भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ ।”

उनले भ्रष्टाचारका मामलामा कसैको अनुहार नहेरी कडा नीति अपनाउने सुनाए । “प्रचारबाजी हैन यो, देशका लागि काम गर्ने हो । म यस समितिलाई एस्योर (आश्वस्त) गर्न चाहन्छु,” प्रधानमन्त्री ओलीले भने, “सरकारको एउटा मात्र गल्ती भेटे पनि समितिमा बोलाउनुस् । कुनै दिन तलमाथि हुन दिन्नँ, ढुक्क हुनुहोस् ।”

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्